अफगानिस्तान द्वन्द्व: तालिबानद्वारा नियन्त्रणपछि त्यहाँको पछिल्लो अवस्था कस्तो छ?

डिसी नेपाल
३ भदौ २०७८ ७:०६
440
Shares

बीबीसी । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ। उसले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबानविरोधी प्रदर्शनलाई दमन गरेको बताइएको छ।

त्यहाँ उनीहरूले कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको खबर आएको छ। उनीहरूले कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको छ।

काबुलस्थित बीबीसी संवाददाताका अनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुहरूले गस्ती गरिरहेका छन्। सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम छ। तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानहरूलाई रोकिरहेका छन्।

उनीहरूले त्यसक्रममा हावामा गोली समेत चलाएको खबर छ। यात्राका लागि आवश्यक कागजात भएका कतिपयलाई पनि उनीहरूले रोकेको खबर छ।

कतिपय देशहरूले आफ्ना नागरिकका साथमा उनीहरूका सहकर्मीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा फिर्ता गरिरहेका बेला विमानस्थलमा अराजक अवस्था देखा परेको हो।

उक्त विमानस्थलबाट करिब ५,००० जनालाई विगत २४ घण्टामा उद्धार गरिएको छ। अहिले अमेरिकाले खटाएको विशेष फौजले उक्त विमानस्थल चलाइरहेको छ।

पश्चिमी देशका एकजना अधिकारीले रोयटर्स समाचार संस्थालाई भनेका छन्, यो एकदमै अस्तव्यस्त र अराजक अवस्थामा छ। तालिबानले अमेरिकी राहदानी भएकाहरूलाई चाहिँ विमानस्थल पस्न दिएका छन्।

तालिबानले गत आइतवार कैयौँ पश्चिमा शक्ति राष्ट्रहरूलाई आश्चर्यचकित पार्नेगरी काबुलमा नियन्त्रण कायम गरेको थियो। अमेरिकी नेतृत्वको फौज अफगानिस्तानबाट फर्किएपछि उसले देशैभरि आफ्नो नियन्त्रण विस्तार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *