अफगान सरकारमाथि दोष थोपर्दै बाइडेनले भने – ‘मेरो फैसलाको मूल्य पनि चुकाउनुपर्छ’

डिसी नेपाल
३ भदौ २०७८ १४:०६
5.2k
Shares

काठमाडौं। अफगानिस्तानबाट अमेरिकी सेना बाहिर निस्किएलगत्तै त्यहाँको सत्ता तालिबानको नियन्त्रणमा गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एकपटक फेरि आफ्नो फैसलाको बचाउ गरेका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि पहिलो पटक दिएको अन्तरवार्तामा बाइडेनले यो सबै हुनुमा अफगान सरकार र अफगान सुरक्षा बल जिम्मेवार रहेको बताए ।

बुधबार एबीसी न्युजका संवाददाता जर्ज स्टिफानोपोलसलाई दिएको अन्तरवार्तामा बाइडेनले भने ‘अफगानिस्तानमा तालिबान सरकारको हिस्सा बन्ने विषयमा यसको लागि अझै केही समय लाग्ने अपेक्षा गरिएको थियो ।’ उनले खुफिया सूत्रले यो वर्षको अन्त्यसम्म यस्तो हुने सम्भावना रहेको बताएको दावी गरे । यसअघि जुलाइमा बाइडेनले खुफिया सूत्रकै हवाला दिँदै अफगानिस्तानमा तालिबान सत्तामा आउने सम्भावना लगभग असम्भव भएको बताएका थिए ।

अफगानिस्तानको अहिलेको स्थितिका विषयमा कुरा गर्दै बाइडेनले भने ‘जसरी स्थितिसँग डील गरिएको छ मलाई लाग्दैन कि योभन्दा राम्रो तरिकाले यस्तो गर्न सकिन्थ्यो । यदि हामी पछाडि फर्केर हेर्यौं भने पाउँछौं कि यस्तो कुनै बाटो थिएन कि पूरै व्यवस्थित तरिकाले यस्तो गर्न सकिन्थ्यो । मलाई थाहा छैन योभन्दा फरक अरु के हुन्थ्यो ।’

बाइडेनले जुनसुकै हालतमा पनि आफूले गरेको अफगानिस्तानबाट सेना फर्काउने निर्णयको कुनै न कुनै मूल्य चुकाउनै पर्ने स्वीकार गरेका छन् । जब बाइडेनसँग काबुल विमानस्थलमा भएको भागदौडबारे सोधियो, उनले भने ‘यो ४–५ दिन पहिलेको घटना हो । मलाई लाग्यो कि हामीले स्थितिलाई नियन्त्रणमा लिनुपर्छ र हामीले त्यही गर्यौं । हामीले द्रुत रुपमा कदम उठाउँदै काबुल विमानस्थलमा नियन्त्रण गर्यौं र उडान सुचारु गर्यौं ।

बाइडेनले पहिले दिइएको सीमा पार भए पनि आफ्नो सरकार सबै अमेरिकी नागरिकलाई अफगानिस्तानबाट बाहिर निकाल्न प्रतिबद्ध भएको बताए । यसअघि अमेरिकाले ३१ अगष्टसम्म आफ्नो सेनालाई पूर्ण रुपमा अफगानिस्तानबाट बाहिर निकाल्ने बताएको थियो । उनले भने ‘अमेरिकी जनताले यो कुरा बुझ्नुपर्छ र हाम्रो पनि ३१ अगष्टभन्दा पहिल्यै सबैलाई निकाल्ने प्रयास हुनेछ । तर यदि यसो गर्न सकिएन भने कति मानिस बाँकी रहे त्यो हेरेर निर्णय गरिनेछ ।’

बाइडेनले अगाडि भने ‘जबसम्म हामी सबै अमेरिकी नागरिक र सैनिकलाई त्यहाँबाट बाहिर निकाल्दैनौं हामी त्यहाँ आफ्नो उपस्थिति कायम राख्नेछौं ।’ अफगानिस्तानमा अहिले १० देखि १५ हजार अमेरिकी भएको मानिएको छ । साथमा बाइडेनले अफगानिस्तानमा अमेरिकाका लागि काम गरेका ५० हजारदेखि ६५ हजार अफगानी नागरिक भएको र उनीहरु बाहिर निस्किन चाहेको बताए । तर, उनीहरुको लागि अमेरिकाले के गर्छ भन्ने विषयमा उनले केही भनेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *