सम्भावित राष्ट्रपति मुल्ला अब्दुल गनी बरादर काबुल पुगे, नयाँ सरकार गठनको तयारी
काठमाडौं। तालिबानी शासनमा अफगानिस्तानका सम्भावित राष्ट्रपति मानिएका तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् । यहाँ उनले अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने विषयमा तालिबानका आफ्ना सहकर्मी र जिहादी नेताहरुसँग छलफल गर्ने बताइएको छ । तालिबानको सूत्रका अनुसार समावेशी सरकार बनाउने विषयमा छलफल हुनेछ ।
२०१० मा बरादरलाई पाकिस्तानमा गिरफ्तार गरिएको थियो तर अमेरिकाको दबाबपछि उनलाई २०१३ मा रिहा गरिएको थियो । पछि उनलाई कतार पठाइएको थियो । त्यहाँ उनलाई दोहास्थित तालिबानको राजनैतिक कार्यालयको प्रमुख नियुक्त गरिएको थियो । यहीँ बसेर उनले अमेरिकासँग त्यो सम्झौता गरेका थिए जुन सम्झौताअनुसार अहिले अमेरिकीसहित विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिँदैछन् ।
बरादर कतारबाट मंगलबार अफगानिस्तान पुगेका थिए । त्यहाँ उनी कान्दाहारमा ओर्लिएका थिए जुन सहरबाट तालिबानको सुरुवात भएको मानिन्छ । उनी फर्किएको केही घण्टापछि नै तालिबानले यसपटक आफ्नो शासन फरक हुने घोषणा गरेको थियो । मुल्ला अब्दुल गनी बरादर ती ४ जनामध्ये एक हुन् जसले तालिबानको गठन गरेका थिए । उनी तालिबानका संस्थापक प्रमुख मुल्ला उमरका डेप्युटी थिए । २००१ मा अमेरिकाले आक्रमण गर्दा उनी देशका रक्षा मन्त्री थिए ।
२०१० मा अमेरिका र पाकिस्तानले एक संयुक्त अपरेशनमा बरादरलाई गिरफ्तार गरेका थिए । त्यतिबेला शान्ति वार्ताको लागि सरकार बरादरको रिहाइको माग गर्थ्यो । सेप्टेम्बर २०१३ मा उनलाई रिहा गरिएको थियो । २०१८ मा कतारको दोहामा तालिबानले आफ्नो राजनैतिक कार्यालय खोलेपछि अमेरिकासँग वार्ता गर्ने टोलीमा बरादर प्रमुख थिए । उनले सधैं अमेरिकासँग वार्ताको समर्थन गर्दै आएका छन् ।







डिसी नेपाल







Facebook Comment