जापानमा आफ्नो पार्टीले चुनाब जिते पनि प्रधानमन्त्री सुगाको पद बच्न कठिन

डिसी नेपाल
६ भदौ २०७८ १४:०५
1.4k
Shares

काठमाडौं। जापानमा प्रधानमन्त्री योशिहिदे सुगाको कठिनाइ बढ्दै गएको छ। अर्को महिना देशमा निर्वाचन हुँदैछ। त्यसअघि गरिएको एक सर्वेक्षणमा देशमा धेरैजसो कम्पनीहरु उनलाई सत्ताबाट बाहिर देख्न चाहन्छन् भन्ने देखिएको छ।

यी कम्पनीका अधिकारीहरुले सुगा कोरोना संक्रमण र त्यसका कारण उत्पन्न आर्थिक संकटबाट देशलाई बाहिर निकाल्न सक्षम नेतृत्व दिन असफल भएको राय दिएका छन्।

सर्वेक्षणमा ओलम्पिक खेलको सफल आयोजनाले पनि सुगालाई कुनै राजनैतिक फाइदा नभएको देखिएको छ। यसबाट उनको लोकप्रियतामा गिरावटको सिलसिला रोकिएको छैन। जापानी मिडियामा प्रकाशित जनमत सर्वेक्षण्का अनुसार गुगाको लोकप्रियता अब ३० प्रतिशतभन्दा पनि तल झरेको छ।

अर्कोतर्फ कम्पनीका अधिकारीहरुको बीचमा गरिएको सर्वेक्षणमा ५८ प्रतिशत कम्पनीका सर्वोच्च अधिकारीहरुले सुगालाई सत्तामा देख्न नचाहेको बताएका छन् । एक कम्पनीका प्रबन्धकले भने ‘मलाई विपक्षबाट पनि कुनै आशा छैन । तर, सुगा सरकार भने निश्चय नै बदलिनुपर्छ।’

पर्यवेक्षकका अनुसार ताजा सर्वेक्षणले यदि सुगाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले फेरि बहुमत पाए पनि सुगाको लागि फेरि प्रधानमन्त्री बन्न कठिन रहेको देखाएको बताउँछन्। यदि एलडीपी गठबन्धनको सिटमा गिरावट आयो भने त सुगामाथि राजीनामा दिन झनै दबाब बढ्नेछ।

केमिकल बनाउने एक कम्पनीका प्रबन्धकले जापान टाइम्ससँग भने ‘कोरोना संक्रमणलाई व्यवस्थापन गर्ने हिसाबले एलडिपी नै राम्रो विकल्प हुन सक्छ तर यसको अर्थ यो होइन कि सत्ताधारी गठबन्धनले धेरै सिट पाओस् । म चाहन्छु यो गठबन्धन अहिलेभन्दा कम सिटले जितोस् ताकि उसलाई ठिकसँग काम गर्ने आवश्यकता महसुस होस् ।’

विश्लेषकका अनुसार जापानको खास समस्या बलियो विकल्पको कमी हो । त्यसैले सत्ता फेरि पनि एलडीपीकै हातमा जान्छ भन्ने आशंका जनाउनेहरु कम छन्। आम अनुमान एलडीपीलाई सिटको नोक्सानी हुन्छ भन्ने नै छ तर उसले बहुमत भने पाउनेछ । राजनीतिक विश्लेषकका अनुसार एनडीपी गठबन्धनमा सहभागी कोमितो पार्टीको सिट बढ्न सक्छ।

यसको लाभ सत्ताधारी गठबन्धनले पाउनेछ । तर त्यतिबेला पनि सुगाको नेतृत्वलाई लिएर शंका कायमै रहनेछ । जापानमा प्रतिनिधिसभाको लागि २८ सेप्टेम्बरमा निर्वाचन हुँदैछ । सदनमा ४६५ सिट छन् जसमध्ये ३०५ सिट सत्ताधारी गठबन्धनसँग छ ।

एक जनमत सर्वेक्षणमा यदि सुगा प्रधानमन्त्रीबाट हटे भने को प्रधानमन्त्री बन्नुपर्छ भनेर सोधिएको थियो । यसमा सबैभन्दा धेरै जनताले कोरोना खोप अभियानका प्रभारी मन्त्री तारो कोनोको नाम लिएका छन्। कम्पनीहरुको सर्वेक्षणमा पनि उनलाई ३९ प्रतिशत अधिकारीहरुले समर्थन दिएका छन्।

कोनोपछि सबैभन्दा लोकप्रिय रक्षा मन्त्री शिगेरु इशिबा छन्। पर्यवेक्षकका अनुसार यसबाट प्रस्ट भएको छ कि धेरैजसो जापानीको सोचमा अहिले कोरोना महामारीसँग जुध्नु सबैभन्दा ठूलो मुद्दा हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *