ब्यंग्य : बाह्रमासे गाईजात्रा

डिसी नेपाल
१२ भदौ २०७८ १०:४६

जहाँ भिड त्यहाँ कोभिड भन्ने नचाहिँदो हल्ला फैलाएर बेकारमा जनता तर्साएको र अनाहकमा आतंक बर्साएको भनेर एकथरी मान्छेहरुले भनेको कुरा सोह्रैआना सही रहेछ भन्ने अहिले आएर पुष्टि भएको पाइयो।

राजनैतिक दलका भेला, सभा, सम्मेलन, जुलुस आदि र सर्ब साधारणका चाडपर्व, जात्रा, पुजा, भोजभतेर, बजारको किनमेल, एक आपसको भेटघाट आदिमा कोरोना नसर्ने र यस्ता क्रियाकलापर्वाट मान्छे नमर्ने रहेछन् भन्ने धेरैजसोको सोचाइ रहेको छ।

यो नै अहिलेको सबैभन्दा राम्रो सोचाइ हो। दलहरु र तिनका भ्रातृ संगठनका अत्यन्त जागरुक नेता कार्यकर्ताहरु,परम्परा अनुसार सास्कृतिक पर्व मनाउने र सबैतिर उपस्थिति जनाउने सर्बसाधारणहरुलाई त कोरोना भन्ने भाइरसले वास्ता नै गर्दैन अनि त्यस्तो पुनित कार्यमा हिँड्ने मान्छे त कोरोनाले मर्दै मर्दैन। भिडभाड हुने क्रममा भर्खरै गाइजात्रा सकियो।

यसलाई परम्परा अनुसार पूरा गर्नै पर्‍याे। उपत्यका लगायत देशका मुख्य मुख्य बस्ती र बजारहरुमा गाइजात्रा धुमधामकासाथ सम्पन्न भयो र यसपालीको गाइजात्रा राम्रोसित गयो। हाम्रा आँखा अगाडि धेरै मानिसहरु कोरोनाले बितेर गएको देख्दै आएको भएपनि दिल खोलेर यस्ता कार्यक्रमहरु गरेपछि कोरोनालाई ठाडै जितेर हिँडिन्छ भन्ने सबैको धारणा र आत्म विश्वासलाई मान्नै पर्छ अनि यस्ता कामबाट कसैलाई पनि कोरोना सर्दैन भनेर जान्नै पर्छ।

जात्रा,पर्व,चाड,धार्मिक जमघट,सामाजिक कार्यमा गर्नै पर्ने जमघट,राजनैतिक कारणबाट नगरी नहुने जमघट, कोरोना बिरुद्धको खोप लगाउने ठाउँको भिडभाड, खोप लगाइसकेपछि त्यसको प्रमाण पत्र लिन जम्मा भएको भिडभाड आदिलाई हेर्दा यस्ता स्वच्छ मनबाट भएगरेका भिडभाडले कसैलाई पनि कोरोना सर्दैन र यस्ता कार्यहरु गर्नलाई कुनै समस्या पर्दैन भन्ने कुरा सर्बसाधारण देखि प्रशासन, सरकार, अरु नियामक निकाय र सबै तहका राजनैतिक नेता कार्यकर्ताहरुले मानि आएको हुनाले यस्तोमा कसैलेपनि डराउन र कसैलाई कोरोना सर्ला भनेर अनाबश्यक रुपमा कराउन पर्दैन।

सरकारी तथ्याँक अनुसार धेरै नागरिकहरुले खोप लगाइ सकेपछिको पहिलो चाडमा गाइजात्रालाई लिन सकिन्छ र अब आउने चाडहरुलाई पनि सोहि अनुसार महत्व दिन सकिन्छ। भन्ने नै हो र राम्ररी गन्ने नै हो भने गाइजात्रा हाम्रो सँस्कृतीको ज्यादै भावनात्मक पर्र्वहरु मध्ये एक हो।

यसमा आफन्तको मृत्यूको पीडा बिर्साउने प्रयासको साथै बिभिन्न विकृति र बिसंगतीहरु माथि तिखो ब्यँग्य सहितका मनोरन्जनात्मक प्रस्तुती र रचनाहरुमार्फत सर्बसाधारणलाई स्वस्थ मनोरन्जन गराउने अनि एक वर्षसम्म त्यसैको सम्झनामा हराउने र अर्को वर्षको गाइजात्रामा बिभिन्न तरिकाले कराउने गरेर हाँस्ने हँसाउने गर्दै आएको जुगौँ भइसक्यो।

केही वर्ष अघिसम्म गाइजात्रामा बिभिन्न स्थानहरुमा हुने ब्यँग्यात्मक प्रस्तुतीहरुको साथै ब्यँग्यात्मक साहित्यका बिभिन्न बिधाहरुमार्पmत चोटिला कार्यक्रम प्रस्तुत गर्ने कलाकार र साहित्यकारहरु पनि यसबाट राम्रो आम्दानी गर्दै पोटिला भएर हिँडेका देखिन्थे। अहिले भने त्यस्तो स्थिती नभएर उनीहरु सबै निकै दुखी छन् रे भन्ने सुनिन्छ।

सबै हाँस्य कलाकार र साहित्यकारहरुलाई अहिलेका बरिष्ठ नेताहरुले माथ गरेको हुनाले जनतापनि उनीहरुकै साथ परेको हो रे भन्ने बुझियो। नेता र दल जति ठूला तहका भए उति ठूला गाइजात्रे कार्यक्रमहरु वर्षौँसम्म चलाएर भएपनि पेशेवर हाँस्यवालाहरुलाई गलाएर छाडेका छन् रे।

एउटा दुइटा वा केही नेता र दलबाट मात्रै शानदार तरिकाले गाइजात्रा देखाइएको नभएर भएजति सबै बरिष्ट नेता र दलहरुले उत्तिकै मेहनत र लगनशिलतापूर्बक सबै कामहरुमा जोडदार गाइजात्रे प्रस्तुती पेश गरेर देश र जनतालाई ज्यादै बेश तरिकाले अगाडि लगिरहेको देख्दा यसबाट कसैलाई ठेस लाग्ने र छिटै यो गाइजात्रे रेश रोकिने सम्भावना पनि देखिँदैन।

ठूला नेता र उनिहरुका दल रुपी अखडाहरुमा धेरै वर्र्षदेखि गाइजात्रे मनोरन्जनात्मक कार्यक्रमहरु चलिरहेका र उनीहरुका दिमागमा नयाँ नयाँ हाँस्यका तरिकाहरु फलिरहेका हुनाले हाँस्य कलाकार र साहित्यकारहरुका सिर्जनाहरु उठ्नै नसक्ने गरी ढलिरहेका छन् रे भन्ने थाहा पाएपछि जनताले पनि नेता र दलहरुकै कार्यक्रमहरुमा बढी दिलचस्पी दिएर फ्रिमा नै मनोरन्जन गर्दै पेट मिचीमिची हाँसेर दिन कटाउन पाएको दशकौँ भइसकेकोले संसारमै सुखी र खुसी जनताको सूचिमा हामी निकै माथि उक्लिएको देखिएपनि गाइजात्रे नेताहरुको कारणबाट आफ्नो पिँध फुक्लिएको चाहिँ कसैले चाल नै पाएका छैनन् भनेर दोष मात्रै थोपर्नेको गाला कोपर्ने काम गर्नपनि भएन ।

एउटा दुइटा वा केही नेता र दलबाट मात्रै शानदार तरिकाले गाइजात्रा देखाइएको नभएर भएजति सबै बरिष्ट नेता र दलहरुले उत्तिकै मेहनत र लगनशिलतापूर्बक सबै कामहरुमा जोडदार गाइजात्रे प्रस्तुती पेश गरेर देश र जनतालाई ज्यादै बेश तरिकाले अगाडि लगिरहेको देख्दा यसबाट कसैलाई ठेस लाग्ने र छिटै यो गाइजात्रे रेश रोकिने सम्भावना पनि देखिँदैन।

यसो हेर्दा यो रेसमा कोहीभन्दा कोही कम छैन र एउटाले अर्कोलाई हराउन सक्ने दम पनि छैन। अहिलेका नाम चलेका नेता र तिनका दलहरुलाई गहिरिएर हेरेको खण्डमा सबैभन्दा उच्चस्तरका दलाल र बिचौलियाहरुको सानो वा ठूलो समुहलाई नै दल भनिने हुनाले यिनीहरुले सबैतिर खुलेआम छल गरेर सबै समस्याहरुको हल गर्छौँ भनेर एकअर्कामा बाँडिचुँडी भेटेजति फल हजम गर्छन् भनेर जनताले बुझेका छन् रे भन्ने हल्ला धेरैले सुनेपनि कसैले पत्याएका चाहिँ छैनन्।

गाइजात्रामा आफ्नो कला देखाउनेमा आफूलाई देशकै सबैभन्दा पुरानो प्रजातान्त्रिक दल भनेर नथाक्ने र सानो ठूलो केही नभनिकन भेटेजति नगद खल्तीमा नजाक्ने कुनैपनि ब्यक्तित्व नभएको अत्यन्त गतिशिल दलको नाम सबैले लिने गरेका छन्। सबैभन्दा पुरानो भएपनि यसका सभापतिको आफ्नै गुट,बरिष्ट नेताको आफ्नै गुट, त्यसपछिका नेताहरुको पनि मान्छे पिच्छे आ–आफ्नै गुट भएकोले सबैतिर फूट भएपनि हामी एक जुट छौँ भनेर जति च्याँठ्ठिएपनि झुट बोलेको हो कि भनेर शंका गर्ने मुर्खहरु धेरै नै छन्।

यसका जिम्मेवार ब्यक्तिहरुले दललाई नीति सिद्धान्त र आदर्शबाट प्रेरित भएर चलाउनु भन्दापनि आफू आफूमा एकअर्कालाई ढलाउनु र आफू र आफ्नाको लागि मात्रै अबसर फलाउनु अनि सारै संर्किण स्वार्थबाट ग्रसित भएर दललाई प्राइभेट कम्पनी जसरी चलाउनु नै प्रजातन्त्र हो भन्ने सारै उन्नत सोच भएको पाइन्छ।

त्यही भएर यस दलमा बाह्रै महिना गाइजात्राको रिहर्सल र भब्य प्रर्दशनी चलिरहन्छ र यसका स्वघोषित महान हस्तीहरुबाट बिधि बिधान सिद्धान्त पद्धती आदि चाहिँ ढलिरहन्छ।

बिगत केही वर्षदेखि अरु कसैको सहयोग समर्थन र दरिलो बैशाखी नभइकन चुनावमा उम्मेदवार खडा गर्ने देखि लिएर सरकार बनाउनेसम्मका कुनैपनि कार्यक्रमहरु एक्लैले गर्न सक्ने र त्यही अनुसार जनतासित प्रष्ट बक्ने हैसियत हराउँदै अनि आफैंभित्र एकअर्कासित डराउँदै निकालिने गाइजात्रे झाँकीहरु ज्यादै स्तरीय र दर्शनीय हुँदै गएकोले यसका बरिष्ठ गाइजात्रे कलाकारहरुलाई सबैले उच्च मूल्यांकन गरिदिने अनि यसमा छिटै नै अझ उत्तरोत्तर प्रगति हुँदै जानेमा ढुक्क परिदिने गरेर हौसला बढाइदिन आवश्यक छ।

हुनत जनताले हौसला नबढाएपनि उनीहरुले यसको लागि आफूलाई सारै सक्षम पुष्टि गर्दै र सबैलाई उछिनेर अगाडि सर्दै गइरहेका छन्। यसमा बुढानिलकण्ठे सभापति महोदय र उनी सरहका बरिष्ठहरुको गाइजात्रे योगदान रहेको र अरुपनि उनिहरुकै पदचापमा बहेको हुनाले भब्यताकासाथ गाइजात्रा भइरहेकोमा कुनै शँका छैन।

आफ्नाे  क्षमताभन्दा अरुको बुइ चढेर र अरुकै भरमा अगाडि बढेर हिँड्दा पाइलै पिच्छे जनताले उनीहरुबाट गाइजात्राको आनन्द लिन पाएकोमा सबैजना कृतार्थ छन्।

बालकोटे कामरेडको दलमा भइरहेको र बिगत तिन वर्र्षभन्दा लामो समयसम्म शानदार रुपमा प्रदर्शनमा गइरहेको गाइजात्रा त अबिस्मरणीय नै छ।

आउँदो पचास वर्षसम्म एकछत्र शासन गर्ने उद्घोषसहित एकता गरेर आसन जमाएका, राजनीतिको आडमा सबै तरिका अपनाएर मजाले कमाएका छलछाम र जालझेल मात्रै गरेर रमाएका एकसेएक नाम चलेका कामरेडहरुले हैसियत भन्दा ठूलो मुख बाउने र जे काममा पनि भाँजो हाल्न मात्रै आउने गरेर हैरान पारे रे।

दलको समस्यालाई दल भित्रै मिलाउन र सबैलाई आश्वासनसम्म दिलाउन पनि ज्यादै कन्जुसी गरेर आफू मनपरि गर्दै बिरोधीको मुख सिलाउन मात्रै बल गर्दा यीनको हातबाट समस्याको कुनै हल निस्कन सकेन रे।

फलस्वरुप यिनलाई सबै शक्तिबाट हटाउन र धुलो चटाउन अनि भबिष्यमासमेत उठ्नै नसक्ने गरी ठटाउन यिनका बरिष्ठ सहयोगी भनिएका अनि स्वघोषित रुपमा अत्यन्त जनप्रिय नेतामा गनिएका बरिष्ठहरुले टिक्न खान र आफ्नो इच्छा अनुसार कतै जान समेत नदिइ जानेसम्मको गाली गलोज, प्रदर्शन, मुद्दा आदि सबै शुभकार्यहरु गरिगरिकन बालुवाटारबाट घोत्र्mयाउँदै बालकोट पुर्याएर मात्रै सन्तोषको स्वास फेरे।

यिनको दलमा मन्चन भएको गाइजात्रालाई त सबैले धेरै वर्षसम्म बिर्सन सक्ने सम्भावना छैन। यी आफू स्वयम् नै कुनै हाँस्य कलाकारभन्दा कम नभएकाले पनि यिनको दलमा बाह्रै महिना गाइजात्रा चलिरहन्छ, यसैबाट यिनको आम्दानी फलिरहन्छ र यिनका आसेपासेहरुको भाग्य बलिरहन्छ।

केही बोल्दा र मुख खोल्दा हरेक जस्तो शब्दमा जानेपनि नजानेपनि जन शब्दको प्रयोग गर्दै ब्यबहारमा चाहिँ धन शब्दलाई अत्यधिक प्राथमिकता दिइ धनयुद्ध संचालन गरेर खुलेआम रुपमा हत्या हिंसा बाहेकपनि लुटपाट, डकैती, जबरजस्ती असुली, कब्जा, चन्दा, जायज नाजायज सबैखाले कामहरु गरेर देशको राजनीतिमा स्थापित भएको भ्रममा परेपनि कुनैपनि समयमा बिस्थापित हुनसक्ने डरले कहिले कस्को कहिले कस्को फेरो समातेर खाने पाउने ठाउँमा तेरोमेरो गर्दै आएका खुमलटारे कामरेड भनेर चिनिने स्वघोषित महान नेताको दलको गाइजात्रा पनि हेर्न लायककै छ।

मुखले संधैभरी खोकेजस्तो जनताको भलाइको राजनीति गर्नुभन्दा पनि नेता कार्यकर्तालाई दलमा टिकाउन र अन्यत्र फेल भएर यता आयातित डेट एक्सपायर्ड बिचारलाई बिकाउन प्रयास गर्ने सिलसिलामा गाइजात्राको राम्रो प्रदर्शन हुँदै आएको छ।

आफू बिउ समेत नरहने गरि नासिने,सँधैको लागि मासिने,अलिकति बुद्धि खुस्कियो भने नराम्रो दलदलमा भासिने डरले जोसित ढाँटछल गर्न सक्यो त्यसैसित टाँसिने र राम्रोसित खुट्टा टेकेर अडेजस्तो लागेपछि त्यही भित्रका अतृप्त आत्माहरुसित गाँसिने गरेर जसले शरण दियो उसैको मरणको कामना गर्दै त्यही अनुसारका कृयाकलाप गरेर हैरान हुनेगरी सताउने अनि सबै बिरोधी जतिलाई तताउने र आफू ठाउँमा पुगेमा सबैको इच्छा पूरा गरिदिन्छु भनि अति झुटो कुरा बताउने स्वघोषित महान नेताको खाओवादी दलको गाइजात्राबाट सबैले भरपुर मनोरन्जन लिइराखेका छन्।

सबै लोभी पापी गाइजात्रेहरुलाई आबश्यकता अनुसार उचाल्ने पछार्ने थेचार्ने निचर्ने चिथर्ने गरेर बिकेका बिदेशीको बुइ चढेर राजनीतिमा टिकेका यीनले आफू ज्यादै चलाख छु भन्ने भ्रममा मन्चन गरेको गाइजात्रामा धोती फुस्केको चालै नपाउने हुनाले कुनदिनको प्रदर्शन पछि जनताले धपाउने हुन् भन्ने यिनलाई ठूलो डर छ रे भनेर हल्ला गर्नेहरुका गफ धेरैलाई पचेको छैन।

बिगतमा उच्चस्तरका गाइजात्रे प्रस्तुतीहरु दिएर जनताको वाहवाही बटुलि सकेका कोटेस्वरे कामरेडले गाइजात्राको क्लाइमेक्सको रुपमा नयाँ दल दर्ता गर्ने सिलसिलामा गाइजात्राकै शुभदिन पारेर र टाउको गनेर आउन सक्ने मूल्यलाई माया मारेर हत्तपत्त भाग्न नसक्ने एकिन गरेपछि केबलकारबाट माथि तारेर अनि दल दर्ता गर्ने बेलामा मात्रै त्यहाँबाट तल झारेर ब्यक्तिगत गाडीमा जान दिएमा अर्काथरीले बढिमूल्यमा किनिदेलान् र बीच बाटैमा अन्यत्र लाग्ने कुरा छिनिदेलान् भन्ने डरले बसमा खाँदखुँद पारेर निर्बाचन आयोगमा पुर्याएपछि मात्रै सन्तोषको स्वास फेरेर मुस्कुराएको देखियो।

यो पनि भब्य गाइजात्राको एउटा महत्वपूर्ण एपिसोड नै हो। पुरानै दलमा एकता गर्ने र नभए नयाँ दल दर्ता गर्न अघि सर्ने भनेर महिनौँसम्म यिनलाई उचाल्ने अहिले साथमा भएका भन्दा अलि प्रभावशाली देखिने नेताहरुले अन्तिम अबस्थामा धोका दिँदै गाइजात्रा देखाएपछि र आफ्नो नाम पुरानै दलमा लेखाएपछि गाइजात्राको नयाँ श्रृंखला दुबैतिर सुरु भएको छ। यिनीहरुबाट भबिष्यमा अझ राम्राराम्रा गाइजात्रे ब्यबहार सहितका प्रदर्शन हेर्न पाउने र यसको लागि जहाँपनि धाउने बिचारले जनता आनन्दित भएका छन्।

मधेशको धेरैजसो ठाउँहरुमा गाइजात्रा हेर्न नपाइने भएपनि मधेशवादी दलहरुले चाहिँ गाइजात्रालाई ज्यादै महत्वका साथ प्रदर्शन गर्दै आएका छन्। दलमा कुनैपनि साइत वा मुहुर्त केही पनि हेर्न नपर्ने गरि कुनैपनि बेला वर्र्षैभरी भइराख्ने जुट फुट र मन्त्री पद खाएर गरिने लुट नै यिनीहरुले देखाउने गाइजात्राको रमाइलो पक्ष हो।

पश्चिमा, दिल्ली र कहिले काहिँ लैनचौरको लगानीमा रिहर्सल छायाँकन र प्रदर्शन हुने यिनिहरुको गाइजात्रे कार्यक्रम सदाबहार कार्यक्रममै पर्छ। मन्त्रीको चारो फ्याँकेपछि यिनिहरुबाट जसले जस्तो कामपनि गराउन सकिने हुनाले बिदेशीहरुले यिनीहरुलाई सँधैभरि दाम्लोमा बाँधेर चराउन ठिक्क पारेर राखेका देखिन्छन्।

यताको जति नुन खाएपनि यिनिहरुले बिदेशीकै गुन गाइरहेका हुन्छन्। यिनीहरुले देखाउँदै आएको र भबिष्यमा देखाउने गाइजात्रा अरुको भन्दा अझ उन्नत र परिस्कृत हुने अनि यति गर्न नपाए यिनीहरु मधेशका जनतालाई सम्झेर धुरुधुरु रुने समेत गर्छन्।

यी त देशका गिनेचुनेका र नाम चलेका अनि गाइजात्रा देखाउँदै फूले फलेका दलहरुले देखाउँदै आएका गाइजात्राका कुरा भए। यी बाहेक सयौँको संख्यामा दर्ता भएर च्याँखे खाने दाउले खुलेका, झ्वाट्ट भन्न खोज्दा भन्न नआएर आफ्नै दलको नाम समेत भुलेका र कतैबाट केही झरिहाल्छ कि भन्दै निकै ठूलो नेता जस्तो गरेर ठाउँठाउँ डुलेका ब्यक्तिहरुले बिभिन्न उद्देश्य पूरा गर्न खोलेका दलहरुको गाइजात्राहरुको पनि बयान गरेर कुनै साध्य छैन।

जे होस्, जनता र देशको सेवा भन्दापनि त्यसबाट ब्यक्तिगत मेवा खाने कामलाई आप्mनो पेवा सम्झेर लाज घिन गाल सबै पचाएर चारैतिरबाट ढेवा कमाउने र बिभिन्न खाले गाइजात्रे प्रस्तुती दिएर खुट्टा जमाउने अनि यसैमा खुसी भएर रमाउने गर्दै आएका साना ठूला सबै दलका नेता कार्यकर्ताहरुको कृपाबाट बाह्रमासे गाइजात्रा हेर्न पाउँदा जनता औधी खुसी भएको नेता तथा कार्यकर्ताहरुलाई महसुस भइरहेको अनि उनीहरु यसैमा गर्ब गर्दै अगाडि बढ्दै गइरहेको देखिन्छ। जनताको दृष्टिकोणबाट पनि यो ज्यादै सराहनीय कार्य भएको र त्यहि अनुसार प्रगतिको पथमा गएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *