अस्ट्रेलियामा ८० प्रतिशत खोप लगाएका राज्यहरुमा अन्तर्राष्ट्रिय आवागमन खुला हुने
काठमाडौं। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले १६ वर्षभन्दा माथिको उमेर समूहका ८० प्रतिशत नागरिकहरुले पूर्ण खोप लगाइसकेका अस्ट्रेलियाका राज्यहरुले अन्तर्राष्ट्रिय आवागमन खुल्ला गर्न सक्ने घोषणा गरेका छन् । यही महिना अस्ट्रेलियाले १ करोडभन्दा बढी डोज कोरोनाभाइरस खोप पाउनेगरी सम्झौता भएको जानकारी दिने क्रममा प्रधानमन्त्री मोरिसनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री मोरिसनका अनुसार बेलायतसँग भ्याक्सिन साटासाट गर्ने सम्झौताअनुसार अस्ट्रेलियाले यही महिना ४० लाख डोज फाइजर भ्याक्सिन पाउनेछ । यही हप्ताको सुरुवातमा सिंगापुरसँग भएको सम्झौता अनुसार ५ लाख डोज खोप पनि आउनेछ । सिड्नी मर्निङ हेराल्डका अनुसार प्रधानमन्त्रीले बेलायतसँग भएको सम्झौताका कारण सेप्टेम्बर महिनामा अस्ट्रेलियामा उपलब्ध हुने फाइजर खोपको डोज दोब्बर वृद्धि भएको बताएका छन् ।
विभिन्न सम्झौतामार्फत सेप्टेम्बर महिनाभरीमा अस्ट्रेलियाले ९० लाख डोज फाइजर भ्याक्सिन र १० लाख डोज मोडर्ना भ्याक्सिन पाउनेछ । यसबाहेक एस्ट्राजेनेकाले गर्ने आपूर्ति पनि निरन्तर रहनेछ । ‘हामीले उपलब्ध फाइजर डोज दोब्बर बनाएका छौं । यसको पहिलो खेप लिएर विमान भोलि उड्दैछ । केही हप्तामा यी सबै डोज आउनेछन्’ प्रधानमन्त्री मोरिसनले भने ।
अस्ट्रेलियाले अहिलेसम्म आफ्नो देशमा २ करोड ३ लाखभन्दा धेरै डोज खोप दिइसकेको छ । अहिले पनि खोप अभियान जारी छ र अहिले एक हप्तामा करिब १८ लाख डोजको दरले खोप दिने काम भइरहेको छ । स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार अस्ट्रेलिया १६ वर्षभन्दा माथिका ७० प्रतिशत मानिसहरुलाई कम्तीमा एक डोज दिने लक्ष्यसम्म पुग्न करिब २० लाख डोज मात्र पछि छ । जसको अर्थ आगामी एक हप्तामा उसले यो लक्ष्य हासिल गर्न सक्छ । अस्ट्रेलियाले आफ्नो देशका ४९ प्रतिशत जनतालाई कम्तीमा १ डोज खोप दिइसकेको छ र २९ प्रतिशत जनताले पूर्ण खोप पाइसकेका छन् ।
यद्यपि अन्तर्राष्ट्रिय सीमा खुल्नका लागि भने यो उमेर समूहका ८० प्रतिशत मानिसहरुले दुवै डोज खोप लगाइसक्नुपर्छ । यो लक्ष्यसम्म पुग्न भने केही महिना लाग्न सक्छ । ‘मलाई यत्ति थाहा छ हामीले जुन दरमा खोप दिइरहेका छौं त्यसबाट हामी त्यो दिनको नजिक पुगिरहेका छौं’ प्रधानमन्त्री मोरिसनले भने ‘एकै दिनमा जादु हुँदैन, एकै दिनमा स्वास्थ्य सुरक्षा हुन सक्दैन । सुरक्षा त्यतिबेला हुन्छ जब हामी समुदायमा खोप अभियानको निश्चित चरणमा पुग्छौं ।’







डिसी नेपाल







Facebook Comment