अन्धाधुन्ध चक्कु हान्ने इस्लामिक स्टेट कार्यकर्तालाई पुलिसले ६० सेकेण्डमै मारिदियो

डिसी नेपाल
१९ भदौ २०७८ ११:३३
16.6k
Shares

काठमाडौं। न्यूजिल्याण्डको अकल्याण्डस्थित एक सुपरमार्केटमा ६ जनालाई चक्कु हानेर घाइते बनाउने इस्लामिक स्टेटबाट प्रेरित एक आक्रमणकारीलाई न्यूजिल्याण्ड पुलिसले मारिदिएको छ । न्यूजिल्याण्ड पुलिस अधिकारीले बताएअनुसार उनीहरुले एक हिंस्रक आक्रमणकारीलाई गोली हानिदिए जसले एक सुपरमार्केटमा ६ जनालाई घाइते बनाएका थिए ।

न्यूजिल्याण्ड हेराल्डका अनुसार पूरै घटनाक्रमबारे बताउँदै प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भनिन् ‘पुलिसले इस्लामिक स्टेट समूहबाट प्रेरित एक आक्रमणकारीलाई आज शुक्रबार गोली हानेर मारेको छ जसले एक सुपरमार्केटमा ६ जनालाई चक्कु हानेर घाइते बनाएका थिए ।’ प्रधानमन्त्रीका अनुसार आक्रमणकारी श्रीलंकाली नागरिक थिए र उनी २०११ मा न्यूजिल्याण्ड आएका थिए । उनी आतंकी निगरानी सूचीमा थिए ।

ती आक्रमणकारी उपनगरीय अकल्याण्डको एक सपिङ मलमा प्रवेश गरेपछि त्यहाँ डिस्प्लेमा राखिएको एउटा चक्कु उठाएर अन्धाधुन्ध चक्कु चलाउन थालेका थिए । यो आक्रमणमा ६ जना घाइते भएकोमा ३ जनाको स्थिति गम्भीर भएको प्रधानमन्त्रीले बताइन् । प्रधानमन्त्री अर्डर्नले भनिन् ‘उनीमाथि निगरानी गरिरहेको पुलिसले आक्रमण सुरु भएको ६० सेकेण्डभित्रै उनलाई गोली हानिदिए ।’

प्रधानमन्त्रीले अगाडि भनिन् ‘आज जे भयो त्यो घृणित र गलत हो ।’ प्रधानमन्त्रीले आक्रमणकारी कुनै धर्म वा समुदायको प्रतिनिधि नभएको बताइन् । ती व्यक्तिको उद्देश्यबारे सोधिएको प्रश्नको जवाफमा उनले भनिन् ‘उनी एक हिंस्रक विचारधारा र आइएसआइएसबाट प्रेरित थिए ।’

प्रधानमन्त्रीले ती आक्रमणकारीबारे सार्वजनिक रुपमा धेरै कुरा बताउन नसक्ने बताउँदै उनी २०१६ देखि निगरानीमा रहेको बताइन् । पुलिस कमिश्नर एन्ड्रयु कोस्टरका अनुसार अधिकारीहरु ती व्यक्तिले एक्लै काम गरिरहेको र समुदायका लागि अरु थप खतरा नभएकोमा विश्वस्त छन् ।

यसअघि मार्च २०१९ मा न्यूजिल्याण्डको क्राइस्टचर्चमा सबैभन्दा ठूलो आतंकवादी आक्रमण भएको थियो । त्यहाँ केही मस्जिदमा भारी गोलीबारी भएको थियो । त्यतिबेला श्वेत वर्चश्ववादी एक बन्दुकधारीले ५१ जनाको हत्या गरेका थिए । यो आक्रमणमा अन्य ४० जना गम्भीर घाइते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *