१६ अर्ब रुपैयाँको डकैती काण्डमा ६ जना पक्राउ, लुटिएका बहुमूल्य सामान भने भेटिएनन्

डिसी नेपाल
१९ भदौ २०७८ १३:५७
1.8k
Shares

काठमाडौं। २ वर्ष पहिले भएको निकै ठूलो डकैती काण्डमा ६ जना पक्राउ परेका छन् । हीराको तरबारसहित १ दर्जनभन्दा धेरै हीरा जडित कलाकृतिहरुको यो चोरी संग्रहालयमा भएको थियो । जर्मनीको ड्रेसडेनस्थित ग्रिन भल्ट संग्रहालयमा २०१९ मा भएको यो डकैतीमा १८ औं शताब्दीका बहुमुल्य कलाकृतिहरु चोरिएको जर्मन मिडिया डेचे वेलेले जनाएको छ ।

रिपोर्टका अनुसार यो चोरीमा प्राचीन बहुमूल्य कलाकृतिहरु गरी कूल ११३.८ मिलियन युरो (१६ अर्ब नेपाली रुपैयाँ) बराबरको चोरी भएको थियो । यो डकैतीको आरोपमा पक्राउ परेका सबै जर्मन नागरिक हुन् । उनीहरुको उमेर २२ वर्षदेखि २७ वर्षको बीचमा छ । उनीहरुमाथि डकैतीपछि संग्रहालयमा आगजनी समेत गरेको आरोप छ ।

यी आरोपीमध्येका २ जनालाई यसअघि २०१७ मा जर्मनीको राजधानी बर्लिनमा रहेको बोडे संग्रहालयबाट १०० किलो सुनका सिक्का चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो । तर, २०१९ मा भएको यो डकैतीले पूरै जर्मनी हल्लिएको थियो । अटोमेटिक गन, लोडेड सिरभल्भर र साइलेन्सरसहितका हतियार लिएर डकैतहरुले २५ नोभेम्बर २०१९ का दिन बिहान उज्यालो नहुँदै ग्रिन भल्ट संग्रहालयमा डकैती गरेर ४ हजार ३ सयवटा हीरासहित २१ बहुमूल्य आभूषण लिएर फरार भएका थिए ।

आरोपीहरु पक्राउ परे पनि उनीहरुबाट लुटिएका बहुमूल्य सामानहरु भने बरामद भएका छैनन् । यी आरोपीहरुले संग्रहालय लुट्नुअघि संग्रहालयको चारैतिर सडकका बत्तीहरुको विद्युत आपूर्ति काटिदिएका थिए । संग्रहालय लुटेर बर्लिनतिर भाग्ने क्रममा उनीहरुले एक अण्डरग्राउण्ड कार पार्किङमा ओडी एस६ कारमा आगो लगाइदिएका थिए जसका कारण ६१ वाहन क्षतिग्रस्त भएका थिए । यहाँ १ मिलियन युरोभन्दा धेरै षति भएको अनुमान गरिएको छ ।

जाँचकर्ताहरु अहिले पनि लुटिएका सामानहरुको खोजी गरिरहेका छन् । चोरी भएका सामानहरुमा १८ औं शताब्दीका बहुमूल्य आभूषण तथा शासक अगष्ट द स्ट्रंगको संग्रहका कैयौं सामान छन् । संग्रहालय व्यवस्थापन गर्ने ड्रेसडेनको रोयल प्यालेसका अनुसार लुटिएका सामानमा एउटा तरबार पनि छ जसको ह्याण्डलमा ९ वटा ठूला ठूला र ७ सय ७० वटा साना साना हीरा जडिएका छन् ।

अधिकारीहरुले जर्मनीको गोपनीयता सम्बन्धी कानुनका कारण आरोपीहरुको नाम खुलाएका छैनन् । आरोपीहरुको खोजीका क्रममा पुलिसले आरोपीहरु तथाकथित रोमो कबिलाका सदस्य भएको पुष्टि गरेको थियो । यो अरब मूलको एक परिवार थियो र संगठित अपराधको लागि कुख्यात थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *