दिल्लीको संसद भवनमुनि सुरुङ भेटियो
काठमाडौं। भारतको राजधानी दिल्लीमा संसद भवनमुनि सुरुङ भेटिएको छ । दिल्लीको विधानसभा भवनमुनि बिहीबार सुरुङ भेटिएको बताउँदै विधानसभा अध्यक्ष रामनिवास गोयलले यो सुरुङले विधानसभालाई लालकिल्लासँग जोड्ने बताए । उनका अनुसार भारतका ब्रिटिसविरुद्ध क्रान्तिका बेला स्वतन्त्रता सेनानीहरुको आवतजावतको समयमा यो सुरुङ अंग्रेजहरुले प्रयोग गर्थे ताकि बाहिर निस्किएर जनताको आक्रोशको सामना गर्नु नपरोस् ।
विधानसभा अध्यक्ष गोयलले समाचार एजेन्सी एएनआइसँग भने ‘जब म १९९३ मा विधायक बनें त्यतिबेला यहाँ भएको एउटा सुरुङबारे हल्ला चलेको थियो जुन लाल किल्लासम्म जान्छ । मैले यसको इतिहास पनि खोज्ने कोसिस गरेको थिएँ तर यसबारे कुनै स्पष्टता थिएन । अब हामीले सुरुङको मुख भेटेका छौं तर हामीले यसलाई अगाडि खनेका छैनौं किनकि मेट्रो परियोजनाहरु र सीवर स्थापनाका कारण सुरुङका सबै बाटा नष्ट भएका छन् ।’
अध्यक्ष गोयलका अनुसार अहिले जुन भवनमा दिल्ली विधानसभा छ त्यो भवनलाई १९१२ मा कोलकाताबाट दिल्ली राजधानी सारिएपछि केन्द्रीय विधानसभाको रुपमा प्रयोग गरिएको थियो । पछि यो भवनलाई १९२६ मा एक अदालतमा परिवर्तन गरियो । त्यतिबेला अंग्रेजहरुले स्वतन्त्रता सेनानीहरुलाई अदालत ल्याउन यो सुरुङको प्रयोग गर्थे ।







डिसी नेपाल







Facebook Comment