करोडौं फ्यान भएकी अर्बपति अभिनेत्री गायब, उनीसम्बन्धी सबै सामग्री इन्टरनेटबाट हटाइयो
काठमाडौं । करोडौं फ्यान भएकी अर्बपति अभिनेत्री अचानक गायब भएकी छिन् । उनी रातारात अनलाइन प्लेटफर्मबाट गायब भएकी छिन् । चीन सरकारले देशकी प्रसिद्ध हस्ती झाओ वेइलाई रातारात अनलाइन प्लेटफर्मबाट गायब पारेको हो । अब झाओका फिल्म वा उनीसँग सम्बन्धित अनलाइन सामग्री चीनमा हेर्न सकिँदैन । चीनका लगभग सबै वेबसाइटबाट झाओसँग सम्बन्धित सबै सामग्री हटाइसकिएको छ ।
अर्बपति झाओ वेइ चीनको टेलिभिजन र फिल्म उद्योगमा ठूलो हस्ती हुन् । ४५ वर्षीय झाओले अभिनय क्षेत्रमा कैयौं पुरस्कार जितिसकेकी छिन् । उनको फ्यान फलोइङ करोडौंमा छ । उनी चीनका सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीहरुमध्ये एक हुन् । चिनियाँ सामाजिक संजाल वेइबोमा उनका ८५ मिलियन भन्दा धेरै फलोअर छन् । तर, चीनले उनका सबै उपलब्धीहरु मेटाइदिएको छ । चीनको इन्टरनेटमा सर्च गर्दा पनि झाओ वेइलाई भेट्न सकिन्न । चीनले झाओ वेइसँग सम्बन्धित सबै अनलाइन सामग्री डिलिट गरेको छ ।
ग्लोबल टाइम्सका अनुसार कैयौं फिल्म, टक शो र टेलिभिजन सिरिजमा अभिनय गरेकी झाओ वेइलाई सबै अनलाइन प्लेटफर्मबाट हटाइएको छ । अभिनेता झांग झेहानपछि अब उनलाई प्रतिबन्ध लगाइएको हो । झाओको नाम टेनसेन्ट भिडियो, आइकियी र युकु जस्ता प्लेटफर्मबाट सबै टिभी सिरिज, फिल्म, सर्ट भिडियो र अनलाइन स्ट्रिमिङ साइटबाट हटाइएको छ । सामान्य शब्दमा भन्दा चीनको इन्टरनेटबाट झाओ वेइको नामनिशान मेटाइसकिएको छ र यो कहिलेसम्म रहने भन्ने जानकारी छैन ।
झाओ यसरी गायब भएपछि उनका फ्यानहरुले उनी कहाँ छिन् ? उनलाई के भयो ? जस्ता ट्रेन्डहरु चलाइरहेका छन् । देशको नियामक निकायले उनलाई किन निशाना बनायो भन्ने बारे केही बताइएको छैन । झाओ विगत केही वर्षयता विवादमा परिरहेको ग्लोबल टाइम्सले जनाएको छ । अहिले उनी कहाँ छिन् भन्ने पनि आधिकारिक जानकारी छैन । केही समयअघि उनी पतिसँग फ्रान्स गएको पनि भनिएको थियो । केही रिपोर्टमा भने उनी बेइजिङमै रहेको भनिएको छ ।







डिसी नेपाल







Facebook Comment