पंजशीर गभर्नर अफिसमा तालिबानको कब्जा, खुसीमा हवाइ फायर गर्दा ७० भन्दा धेरैको मृत्यु
काठमाडौं। तालिबानले पंजशीर गभर्नर कार्यालयमा आफ्ना लडाकुले कब्जा गरेको दावी गरेको छ । पंजशीर कब्जा गरेको खुसियालीमा तालिबानी लडाकुहरुले शुक्रबार राती देशभरी हवाइ फायर गरेका छन् । यो हवाइ फायरका क्रममा अफगानिस्तानमा ७० भन्दा धेरै मानिस मारिएका छन् । यो संख्या अझै बढी पनि हुन सक्छ किनकि कैयौं प्रान्तबाट यस सम्बन्धी रिपोर्ट प्राप्त भएको छैन ।
खामा न्यूजका अनुसार काबुलको एक आपतकालीन अस्पतालले शुक्रबार राती त्यहाँ १७ शव र ४० घाइतेहरुलाई ल्याइएको बताएको छ । नांगरहार प्रान्तको जलालाबादबाट अपुष्ट खबरमा शुक्रबार राती भएको गोलीबारीमा १७ जना मारिएको वा घाइते भएको बताइएको छ । रिपोर्टका अनुसार निकै भारी र भयावह गोलीबारी पंजशीर प्रान्तमा कथित कब्जाको खुसीयाली मनाउन गरिएको थियो ।
यही बीच तालिबान अधिकारीहरुले गोलीबारीको निन्दा गरेका छन् र यस किसिमको घटना दोहोरिएमा कडा कारवाही गरिने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार संगठन युएनएचसीआरले शुक्रबार चेतावनी दिँदै अफगानिस्तानमा मौजुदा अवस्थाका कारण ठूलो संख्यामा अफगानीले सीमापार शरण माग्न सक्ने र यहाँ ठूलो मानवीय संकट हुन सक्ने बताएको छ । यही बीचमा संयुक्त राष्ट्रसंघले १३ सेप्टेम्बरमा जेनेभामा एक सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । यो सम्मेलनमा यिनै संकटको व्यवस्थापनको लागि धन जम्मा गर्ने लगायतका विषयमा चर्चा हुने बताइएको छ ।







डिसी नेपाल







Facebook Comment