राजदूत खतिवडालाई अमेरिकी शहर क्याम्ब्रिजको साँचो हस्तान्तरण

डिसी नेपाल
१३ असोज २०७८ ९:४४

वासिंगटन डिसी । अमेरिकाको मेसेचुसेट्स राज्यका क्याम्ब्रिज शहरले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई शहरको साँचो हस्तान्तरण गरेर स्वागत गरेको छ।

सो राज्यको बोस्टनलगायतका शहरहरुमा बसोबास गर्ने नेपाली र नेपाली मूलका अमेरिकीहरुसहित अन्य नेपाल भ्रमण गर्न चाहनेहरुलाई सजिलै कन्सुलर सेवा दिने उदेश्यले आयोजित घुम्ती शिविरका लागि पुगेका राजदूत डा.खतिवडालाई क्याम्ब्रिज शहरकी मेयर समबुल सिद्धिकीले शहरको साँचो हस्तान्तरण गरी स्वागत गरेकी थिइन्।

सेप्टेम्बर २७ तारिक सोमबार अपरान्ह भएको साँचो हन्तान्तरण कार्यक्रमपछि सो शहरमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न विषयमा छलफलका साथै नेपाल र अमेरिकाबीचको सम्बन्ध स्थानीय सरकारको तहमा समेत अघि बढाउनेबारे कुराकानी भएको थियो।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार, दुई देशका शहरहरुबीच भगिनी सम्बन्ध स्थापना गरी स्थानीयस्तरमा सम्बन्ध विस्तार गर्न सकिनेबारे पनि मेयर सिद्धिकीसँग परामर्श भएको छ ।

यसबीच बोस्टन म्यासाचुसेट्सको भ्रमणका क्रममा राजदूत डा. खतिवडाले सो राज्यका गभर्नर चार्ली बेकरसँग शिष्टाचार भेट गरेका थिए। बेकरसँगको भेटमा दुई देशबीचको व्यापार र म्यासाचुसेट्समा बसोबास गर्ने नेपालीहरुको हितका बिषयमा कुराकानी भएको दूतावासले जनाएको छ।

राजदूत खतिवडालाई म्यासाचुसेट्स राज्यको राज्यसभाले आफ्नोतर्फबाट एक सम्मान घोषणा पारित गर्दै हस्तान्तरण गरेको छ। सो घोषणामा नेपाल र नेपालीका लागि पुर्याएको योगदानको प्रसंसा गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्ध प्रगाढ बनाउन गरेको प्रयासको उच्च मूल्याङ्कन गरिएको उल्लेख गरिएको छ।

डा.खतिवडालाई सो राज्यको राज्यसभा र सिनेट दुबै बैठकको अवलोकन भ्रमण गराइएको थियो भने सभामुख रोनाल्ड मारियानो तथा सिनेटका उपाध्यक्ष विलियम एन ब्राउन्सबर्गरसँग डा.खतिवडाको शिष्टाचार भेट भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *