न्यूजिल्याण्डसँग अर्को खेलमा भारतका सिनियर खेलाडीहरु नखेल्ने
काठमाडौं। टि–२० विश्वकपमा भारतले अझैसम्म एउटा पनि खेल जित्न सकेको छैन । लगातारको हारसँगै अब उसलाई सेमिफाइनल पुग्न चमत्कारको भर पर्नुपरेको छ । यही बीच विश्वकपपछि न्यूजिल्याण्डसँग हुने घरेलु सिरिजमा भारतीय टिमका सिनियर खेलाडीहरु नखेल्ने भएका छन् । बायो बबलको थकानको कारण केही सिनियर खेलाडीहरुलाई आराम दिइने र सम्भवतः यो सिरिजमा भारतको कप्तानी केएल राहुलले गर्ने बताइएको छ ।
समाचार एजेन्सी एएनआइसँग यसको पुष्टि गर्दै एक सूत्रले राहुल कप्तानीको रेसमा सबैभन्दा अगाडि रहेको बताएका छन् । सूत्रले भन्यो ‘सिनियरहरुलाई आरामको आवश्यकता हुनेछ र यसमा कुनै सन्देह छैन कि राहुल टि–२० सेटअपका अहम हिस्सा हुन् । उनले नेतृत्व गर्ने लगभग तय छ ।’ रोचक त के भने न्यूजिल्याण्डविरुद्ध सिरिजको लागि दर्शक स्टेडियममा फर्किनेछन् र उनहिरुले कोरोना गाइडलाइन पालना गर्नुपर्नेछ ।
बीसीसीआइका एक अधिकारीले भने ‘फ्यानहरु खेल हेर्न आउनेछन् तर स्टेडियम पूरै क्षमताले भरिएको हुने छैन । हामी स्थानीय अधिकारीसँग मिलेर काम गर्नेछौं र अगाडिको योजना बनाउनेछौं । भारतका तीब्र गतिका बलर जसप्रित बुमराहले पनि आइतबार न्यूजिल्याण्डसँग हारेपछि पनि बायो बबल थकानबारे बताएका थिए ।
बुमराहले भनेका थिए ‘कहिलेकाहीँ तपाइँलाई ब्रेकको आवश्यकता हुन्छ । तपाइँलाई परिवारको कमी महसुसहुन्छ । तपाइँ लगातार ६ महिनादेखि बाहिर हुनुहुन्छ जो तपाइँको दिमागमा चल्छ । तर तपाइँ जब मैदानमा हुनुहुन्छ तपाइँ यसको बारेमा सोच्नुहुन्न ।’
न्यूजिल्याण्डले भारत भ्रमणमा ३ टि–२० र २ टेस्ट खेल्नेछ । पहिलो टि–२० १७ नोभेम्बरमा जयपुरमा हुनेछ । त्यसपछि १९ नोभेम्बरमा राँची र २१ नोभेम्बरमा कोलकातामा टि–२० हुनेछ । पहिलो टेस्ट २५ नोभेम्बरदेखि कानपुरमा र दोस्रो टेस्ट ३ डिसेम्बरदेखि मुम्बइमा हुनेछ ।







डिसी नेपाल







Facebook Comment