जारी विश्वकप नसकिँदै अर्को विश्वकपमा सुपर १२ मा सिधै जाने टिम छिनोफानो भयो

डिसी नेपाल
२१ कार्तिक २०७८ १२:२५
11.1k
Shares

काठमाडौं। टि–२० विश्वकपको जारी सिजन समाप्त नहुँदै अर्को विश्वकपको सुपर १२ मा सिधै छनोट हुने टिमको छिनोफनो भएको छ । हिजो अस्ट्रेलियासँग ८ विकेटले हारेको वेष्ट इण्डिज अर्को विश्वकपमा सिधै सुपर १२ मा जान पाउने छैन । साथमा श्रीलंका, जिम्बाब्बे र आयरल्याण्डजस्ता टेस्ट मान्यता प्राप्त टिम पनि सुपर १२ मा सिधै जान पाउने छैनन् ।

अर्को विश्वकप २०२२ मा अस्ट्रेलियामा हुँदैछ । यो विश्वकपमा अहिलेको विश्वकपको विजेता र उपविजेता सिधै सुपर १२ का लागि छनोट हुनेछन् । यसबाहेक आगामी नोभेम्बर १५ सम्म आइसीसीको टि–२० बरियतामा शीर्ष ८ मा रहेका टिमध्ये जारी विश्वकपमा फाइनलिस्ट बाहेक अन्य ६ टिम छनोट हुनेछन् । यसअनुसार आगामी विश्वकपमा आयोजक अस्ट्रेलियासहित, इङल्याण्ड, पाकिस्तान, भारत, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेश सुपर १२ चरमा सिधै पुगेका छन् ।

अहिले आइसीसीको टि–२० बरियतामा शीर्ष ८ मा यी ८ टिम छन् र अहिलेको विश्वकपको फाइनलमा पुग्ने २ टिम पनि यिनैमध्येका २ टिम हुने निश्चित भइसकेको छ । आइसीसीले नोभेम्बर १५ को बरियता अनुसार सुपर १२ का टिम छनोट हुने भने पनि जारी विश्वकपका कारण १५ नोभेम्बरमा यो बरियतामा फेरबदल हुने सम्भावना छैन । किनकि विश्वकपमा खेल बाँकी रहेका कुनै पनि टिम त्यो खेल हारेर पनि शीर्ष ८ बाट पछाडि जाने छैनन् ।

अहिलेको विश्वकपमा सुपर १२ पुगेका श्रीलंका, वेष्ट इण्डिज, स्कटल्याण्ड र नामिबिया पनि अर्को विश्वकपका लागि छनोट भएका छन् तर उनीहरु सुपर १२ पुग्न विश्वकपको पहिलो चरण पार गर्नुपर्नेछ । विश्वकपका लागि छनोट भएका यी ४ टिमसँगै अरु ४ टिम छनोट चरण पार गरेर आउनेछन् । यी ८ टिममध्येबाट ४ टिम विश्वकपको पहिलो चरण पार गरेर सुपर १२ मा पुग्नेछन् ।

अर्को विश्वकपमा लागि उल्लेखनीय परिवर्तन भनेको अहिलेको विश्वकपमा सिधै सुपर १२ पुगेको वेष्ट इण्डिज अर्को विश्वकपको सुपर १२ बाट बाहिरिएको छ भने अहिलेको विश्वकपमा सिधै सुपर १२ मा जान नपाएको बंगलादेश अर्को विश्वकपमा सिधै सुपर १२ पुगेको छ । अन्य ७ टिम भने यथावत नै रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *