१३ बलमा २२ रन चाहिएको दक्षिण अफ्रिकालाई जब १ बलमा २२ रनको लक्ष्य दिइयो

डिसी नेपाल
२१ कार्तिक २०७८ १४:०७
11.2k
Shares

काठमाडौं। टि–२० विश्वकपमा हिजो दक्षिण अफ्रिकाले इङल्याण्डलाई १० रनले पराजित गर्यो । दक्षिण अफ्रिकाले समूहमा सबैभन्दा धेरै अंक बनाएका इङल्याण्ड र अस्ट्रेलियासँग बराबरी गर्दै समान ८ अंक नै बनाएको थियो । तर, नेट रनरेटका आधारमा सेमिफाइनल पुग्ने टिमको छिनोफनो गर्दा दक्षिण अफ्रिका फेरि एकपटक अभागी साबित भयो र प्रतियोगिताबाट बाहिरियो ।

दक्षिण अफ्रिका आइसीसीका ठूला प्रतियोगितामा अन्तिम समयमा दुर्भाग्यपूर्ण तरिकाले बाहिरिएको यो पहिलो पटक होइन । राम्रो खेल र जितको दावेदार हुँदाहुँदै पनि दक्षिण अफ्रिका पटक–पटक अन्तिम समयमा अभागी साबित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण अफ्रिका अत्यन्तै दुर्भाग्यपूर्ण तरिकाले बाहिरिएका खेल धेरै छन् तर तीमध्ये पनि १९९२ को विश्वकपको सेमिफाइनलको खेल निकै प्रसिद्ध छ ।

सन् १९९२ को मार्च २२ तारिखका दिन अस्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउण्डमा विश्वकपको सेमिफाइनल खेल भइरहेको थियो । सेमिफाइनल जितेर फाइनल पुग्नको लागि दक्षिण अफ्रिका र इङल्याण्डबीच खेल थियो । पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ४५ ओभरमा ६ विकेटको क्षतिमा २५२ रन बनाएको थियो । दक्षिण अफ्रिकाले २५३ रनको लक्ष्य पच्छ्याउँदै थियो ।

१३ बल बाँकी छँदा ४२.५ ओभरमा दक्षिण अफ्रिकाले २३१ रन बनाएको थियो । उसलाई खेल जित्न १३ बलमा २२ रन चाहिएको थियो । त्यही बेला पानी परेपछि खेल प्रभावित भयो । कूल १२ मिनेट खेल रोकियो । त्यसपछि ग्राउण्डको स्क्रिनमा दक्षिण अफ्रिकालाई ७ बलमा २२ रन चाहिएको देखाइयो । लगत्तै सच्याएर १ बलमा २२ रन चाहिएको देखाइयो । जुन असम्भव लक्ष्य थियो ।

त्यतिबेला क्रिकेटमा यस्तो नियम थियो जुन नियमअनुसार जुन टिमको इनिङ वर्षाले रोकिन्थ्यो उसको विपक्षी टिमको सबैभन्दा कम स्कोर भएका ओभर हटाइन्थ्यो । इङल्याण्डको इनिङमा मेडन ओभर पनि थिए त्यसैले ती ओभर बराबर दक्षिण अफ्रिकाको पनि ओभर घटाइयो तर रन घटेन । यो नियमका कारण दक्षिण अफ्रिका दुर्भाग्यपूर्ण रुपले बाहिरियो । यो विवादित निर्णयपछि नै क्रिकेटमा डकवर्थ लुइस विधि प्रयोगमा आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *