अबुधाबीको पिचका क्युरेटरको मृत्यु, यहीँ अफगानिस्तान–न्यूजिल्याण्डको खेल भएको थियो

डिसी नेपाल
२२ कार्तिक २०७८ ११:२९
4.0k
Shares

काठमाडौं। हिजो अफगानिस्तान र न्यूजिल्याण्डबीच विश्वकपको खेल भएको अबुधाबीको शेख जायद क्रिकेट स्टेडियमका पिच क्युरेटर मोहन सिंहको मृत्यु भएको छ । अफगानिस्तान र न्यूजिल्याण्डको खेल सुरु हुनै लागेका बेला उनको मृत्यु भएको पाइएको हो ।

मोहन सिंहको संदिग्ध अवस्थामा मृत्यु भएको छ । उनको मृत्युको कारण स्पष्ट भइसकेको छैन । प्रारम्भिक जाँचमा उनले आत्महत्या गरेको हुन सक्ने देखिएको बताइएको छ । उनको मृत्यु शंकास्पद देखिएसँगै यस विषयमा धेरै प्रश्नहरु पनि उठेका छन् । यसको कारण पत्ता लगाउन प्रशासनले जाँच सुरु गरेको छ । मोहन सिंह उत्तराखंगको गढवालका थिए । न्यूजिल्याण्ड अफगानिस्तानको खेल सुरु हुनु ठिक अघि उनको शव भेटिएको थियो ।

शेख जायद स्टेडियमको पिचमा जारी विश्वकपमा अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंक र वेष्ट इण्डिजले खेलेका छन् । यी सबै पिच मोहन सिंहले नै बनाएका थिए । मोहन सिंह १९९४ देखि अबु धाबीमा ग्राउण्ड सुपरभाइजरको रुपमा कार्यरत थिए । उनले २००४ मा मोहालीको पंजाब क्रिकेट स्टेडियममा पिच क्युरेटरको प्रशिक्षण लिएपछि पुनः अबुधाबी फर्किएका थिए ।

यसअघि पनि यस्तो घटना भएको थियो । १७ मार्च २००७ मा पाकिस्तान आयरल्याण्डबीच विश्वकपको खेलमा पाकिस्तान हारेको थियो । यो हारले पाकिस्तान विश्वकपबाटै बाहिरिएको थियो । यसको भोलिपल्ट पाकिस्तानका कोच बब वुल्मरको शव भेटियो । जमैकाको किंग्सटनमा होटलमा उनको शव निर्वस्त्र अवस्थामा भेटिएको थियो । यो मृत्युपछि पाकिस्तानी क्रिकेटरलाई हत्यारा समेत भनिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *