कास्कीमा सुन्तलाः कतै लहर कतै रहर
काठमाडौं। दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ ।
जिल्लाकै फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायतका स्थानमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ । सिक्टस ग्रिनिङलगायतका भाइरसका कारण अधिकांश स्थानमा सुन्तला सखाव भए पनि पोखरा महानगरपालिका– २१ फेदीपाटनमा भने केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको यहाँका कृषक बताउँछन् । यस वर्षमा सो क्षेत्रमा सुन्तला बिक्रीबाट कृषकले २२ लाखभन्दा बढी रकम भित्र्याउन सफल भएका छन् ।
पोखरा महानगरपालिकाको प्रमुख प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानको प्रभावकारीतासँगै बोटको आयु बढ्नु र सुन्तला उत्पादनमा समेत वृद्धि भएको फेदीपाटनका कृषक प्रकाश पौडेल जानकारी दिए । उनका अनुसार अभियानले कृषकमा उत्साह थपे पनि सुन्तलाको फूल खेल्ने र फल लाग्ने समयमा बारम्बार पर्ने असिनाले प्रत्येक वर्ष पुर्याउँदै आएको क्षतिका कारण यस क्षेत्रका कृषक अहिले पनि चिन्तित छन् ।
उनले भने ,“बुबाको पालामा सुरु गरेको ४० रोपनी भिरोलो पाखो जग्गामा अहिले लगभग ६०० सुन्तलाका बोट छन् । धेरैले उत्पादन दिँदै आएका छन् यस वर्ष सुन्तला बिक्रीबाट सात लाख ३० हजार आम्दानी भएको छ ।” “उत्पादित सुन्तला बिक्री हुँदै न कि भन्नु पर्दैन टेकेदार बगैँचामै आएर टिपेर लैजाने गरेका छन्”, उनले भने, “फागुन र चैत महिनामा परेको असिनाले सुन्तलामा ठूलो क्षति पुगेका कारण कम आम्दानी भएको हो प्राकृतिक प्रकोप नपरेको भए यस वर्ष त्यसको दोब्बर आम्दानी हुने थियो ।”







डिसी नेपाल








Facebook Comment