खोपको मात्रा पूरा नहुँदै खोपकार्ड अनिवार्य गरिँदै, लुम्बिनीमा अझै ४३ प्रतिशतले पूर्ण मात्रा खोप लगाउन बाँकी

डिसी नेपाल
१ माघ २०७८ ९:०७

बुटवल। सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्यकाे घाेषणा गरिसकेकाे छ। तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन्। सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य गर्दा व्यवहारिक रुपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ।

भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रंगशालाजस्ता स्थानमा पनि खोपकार्ड अनिवार्य गर्ने व्यवस्था गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निकायले निर्देशन दिइसकेकाे छ। तर, दुबै खाेप लगाउन नपाएकाहरु सार्वजनिक सेवा लिनबाट बन्चित हुनसक्ने देखिएको छ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको लुम्बिनी प्रदेशमा खोपको गति सुस्त छ । प्रदेशभरिमा खोप लगाउन योग्य कुल ३९ लाख ६७ हजार जनामध्ये हालसम्म पूर्ण खोप पाउनेको संख्या १९ लाख २१ हजार २६८ मात्र पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सीमा क्षेत्रबाट ठूलो संख्यामा आउजाउ गर्ने प्रदेशमा खोपको गति भने सुस्त देखिएको छ। हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या ३१ लाख २९ हजार ३६० रहेको छ भने दुवै मात्रा लगाउनेको संख्या १९ लाख २१ हजार २६८ रहेको छ।

प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिकाबाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । केहीले दोस्रो मात्रा पर्खिरहेका छन् । केहीमा छुटेकाले स्वास्थ्य संस्थामा गए पनि सहजै खोप लगाउन पाएका छैनन् ।

रूपन्देहीको देवदह नगरपालिकाले खोपका लागि योग्य ४३ हजार जनाको तथ्यांक संकलन गरेकोमा ४० हजारले पूर्ण खोप लगाइसकेको स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताए । अन्यलाई समेत खोप उपलब्ध गराएर छिट्टै पूर्ण खोप लगाउन सफल पालिका घोषणा गरिने उनले दाबी गरे । १८ वर्षभन्दा मुनिका कसैले पनि खोप नलगाएको उनले जनाए ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा हालसम्म ७१ हजारले पहिलो चरणमा खोप लगाएका छन्, जसमध्ये ५६ हजार जनाले पूर्ण खोप लगाएको स्वास्थ्य संयोजक ठगराज पौडेलले बताए । पहिलो मात्रा लगाउने काम पुस १५ गते सकिएको उनले बताए । अझै चार साता पर्खने र अर्को मात्रा लगाइदिने उनले बताए ।

८० हजार जनसंख्या रहेको उक्त पालिकामा खोप लगाउने सुरुवाती दिनमा अत्यन्तै भीड भए पनि अहिले चाप नभएको पौडेलले बताए । १ लाख जना बसोबास रहेको वाणगंगामा पाँच देखि ११ वर्षका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले दिएपछि र छुटेका व्यक्तिलाई लगाइदिन पालिका तयारी अवस्थामै रहेको उनको भनाइ छ । बाहिरदेखि आएका स्थानीयको एन्टिजेन परीक्षण गरिरहेको उनले जानकारी दिए ।

प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकामा खोपको दोस्रो डोज लगाउने अभियान जारी छ । स्वास्थ्य कार्यालयमा पहिलेजस्तो भीडभाड छैन । पहिलो डोज करले लगाए पनि दोस्रो लगाउन आउन छोडेको स्वास्थ्य संयोजक सुरेन्द्र यादवले बताए । उनका अनुसार लक्षित संख्या १५ हजार रहेकामा बालबालिका र छिटफुट गरी संख्या बढ्दै जाने अपेक्षा गरिएको छ । पालिकामा भेरोसेल र कोभिसिल्डको पहिलो डोज ११ हजार ५२३ जनाले लगाएका छन् ।

दोस्रो डोज लगाउने पाँच हजार ३७३ जनामात्रै रहेको यादवले बताए । पहिलो डोज लगाएका मध्ये केही काठमाडौं, केही भारत र केही विदेश नै गइसकेको र गाउँमा भएकाले पनि चासो नदिएको उनले बताए । पालिकामा चैतभित्र सबैलाई खोप लगाइदिने गरी आफूहरू लागिपरेको भन्दै यादवले जनता नै भागेपछि आफूहरूको केही उपाय नलागेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *