व्यंग्य : टोक्नु न बोक्नु

डिसी नेपाल
२२ माघ २०७८ १०:०३

एमसीसीलाई देखाएर र त्यसको बारेमा जानेसम्मको कुरा लेखाएर पञ्चतत्वको गठबन्धनलाई तोडौँला अनि हालका सरकार प्रधानलाई नै अघि सारेर भएपनि सरकारको तर् मारेर आफूलाई बालुवाटारबाट बालकोट फिर्ती गराउने तत्वहरुलाई उनीहरुको असली औकातमा झारेर चुनावमा बाजी मार्ने गफलाई मूर्त रुप दिने बालकोटे कामरेडको भित्री योजना रहेको हो कि भन्ने धेरैको अनुमान रहेपनि कुरा त्यसो होइन जस्तो छ।

सरकारी गठबन्धन रहेपनि र नरहेपनि एमसीसी फिर्ता गयो भने आफ्नो बित्यास भयो भनेर बुझ्न ढिला गर्दा आफ्नो भाग्य र भबिष्यमा किला ठोकिएला अनि उताबाट आइरहेको सबैथोक एकैचोटी रोकिएला र अमेरिका देखि दिल्लीबाटसमेत भर पर्न नसकिने सेबक भनेर नाम तोकिएला भन्ने ठूलो डर अबलाई टर्यो जस्तो भएर सबैजना खुसी भएजस्ता देखिए।

स्वघोषित महान नेतासमेत भनिने र स्वार्थ पूरा हुन्छ भने जेपनि गर्न सक्नेमा गनिने खुमलटारे कामरेड र स्वघोषित अत्यन्त नैतिक कोटेस्वरे कामरेडलाई एमसीसी रोक्न र त्यसबाट उत्पन्न हुने समस्याको भारी बोक्न सक्ने क्षमता नभएपनि नेता, कार्यकर्ता र जनतालाई बेबकुफ बनाएर दुनो सोझ्याउने प्रयास गर्दा गठबन्धन फुट्लाफुट्ला जस्तो भएर भोक तिर्खा निद्रा सबै गायब भइसकेको अबस्थामा सरकार प्रधानले एमसीसीमा संशोधन गर्न पर्ने बुँदा मागेर केही राहत पुगेजस्तो छ।

सर्पपनि मर्ने र लौरोपनि नभाँचिइकन समस्यापनि टर्ने अनि आफ्ना सबै तकलिफहरु हर्ने राम्रो तरिका अपनाएर गठबन्धन जोगाउने अचूक प्रयासलाई सबैले मान्नै पर्छ। यसरी एमसीसी र गठबन्धन दुबै टोक्नु न बोक्नुको अबस्थामा परेको हो कि जस्तो छ।

एमसीसी आओस् जाओस् वा गठबन्धनबाट जोसुकैले खाओस् कुनै मतलब नभएजस्तो गरी बस्न र सुराकिको रुपमा भित्रसम्म पस्न अनि आफूलाई चिल्लो घस्न दक्षिणको कडा निर्देशन भएकोले यसरी केही थाहा नभएको र केही मतलब नभएको जस्तो गरेर बसेको हो कि भन्ने शंकालुहरुलाई के नै भन्न सकिन्छ र?

एमसीसी संसदबाट पास भएमा अमेरिकी सेना देशमा छिर्छ र त्यसले निकै पछिसम्म सबैलाई पिर्छ अनि यसको मूल्य चाहिँ जनताले धेरै बर्षसम्म टाउको समेत उठाउन नसक्ने गरी तिर्छ भनेर जनतामा आफैंले भ्रम छरेको हुनाले अहिले यस बारेमा बोल्नपनि नसक्ने र सही कुरा यसो हो भनेर वास्तबिकता खोल्नपनि नसक्ने अप्ठ्यारोमा आफैं जाकिएका शिर्ष लगायतका नेताहरु बढी जान्ने भएर ठाउँ कुठाउँ कराउँदै हिँड्नाले अहिले फसेका हुन्।

दक्षिणको एउटा सामान्य कर्मचारीलाई त सरकारका चोटाकोठा छिर्न र उनले दिने निर्देशन भिर्न कसैले रोक्न नसकेको अबस्थामा अमेरिकी सेनालाई रोक्ने हैसियतमा हाम्रा शिर्षहरु छन् भन्ने कुरा त साना भुरालेपनि पत्याउलान् जस्तो लाग्दैन। अमेरिकि सेना आउन एमसीसीकै कारणले रोकिने र उसलाई यहाँ छिर्नु यहाँ नछिर्नु भनेर हाम्रै नेताहरुबाट तोकिने हो भने त कुरो ठिकै होला।

सधैंभरि आफ्नो वास्तबिक औकातभन्दा ठूला कुरा गर्ने र जनताका अगाडि कुरो बुझ्नु न बर्नुसित भ्रम छर्ने बानी परेको हुनाले सबै शिर्षहरु समस्यामा झरेको होकि जस्तोपनि देखिन्छ।

कहिल्यै कुनैपनि बिषयको ठ्याम्मै अध्ययन नगरि बोल्ने,राष्ट्रको हित अहित बारेमा कुनै सोचबिचार नै नगरि बोल्ने, नियम कानुनको बिषयमा कुनै चासो नै नराखिकन बोल्ने, अन्तरर्राष्ट्रिय अभ्यास र नियमहरुको केही मतलब नै नराखिकन हावाको भरमा बोल्ने, बिषयको गम्भिरताभन्दा अर्कालाई जानेसम्मको गाली गरेर जनताको ताली पाएर आफ्नो थाली भर्ने खालका जाली कुरा गरेर हिँड्ने र आफूले बोलेका कुनैपनि कुराको जिम्मेवारी नलिइ क्षणिक रुपमामात्रै भिड्ने नेताहरुको बानिलेपनि एमसीसी कचल्टिएको हो।

वास्तबमा यो के हो र यसले वास्तबमा केके गर्छ अनि यसको नाममा कसकसले चर्छ भन्ने साँच्चै भन्ने नै हो भने कसैलाई थाहा नभए जस्तो देखिन्छ। एकथरी कुनै हालतमा पास गरे सबैतिर नाश हुन्छ भन्छन् अर्काथरि यसलाई जसरीपनि पास नगरे सर्बनाश हुन्छ भन्छन्। कसले बुझ्ने र कसले बुझाउने अनि यो खासमा के हो भनेर सुझाउने कसले होला कसैलाई थाहा छैन।

कुनै जिम्मेवारी नलिइकन सोझासाझा जनताको अगाडि खोक्ने र मुखलेमात्रै सबैखाले दायित्व बोक्ने अनि आफैंले आफैंलाई निकै ठूलो बुद्धिजिवी तोक्ने बानिले गर्दा सबैतिर अन्यौल बाहेक केही नभएको हो कि भनेर जनताले भन्नपनि मिलेन। धेरै जान्ने र जताबाट आएपनि माल तान्ने बानिले टोक्नु न बोक्नुको अबस्थामा पुगिएला भनेर पहिल्यै थाहा हुने कुरा पनि आएन।

यही एमसीसीलाई देखाएर सत्ता टिकाउने,चुनावमा आफ्नो बोली बिकाउने र सबैलाई राष्ट्रियता सिकाउने बुढानिलकण्ठे सभापतिको सोचाइ ज्यादै राम्रो छ। यसैलाई देखाएर गठबन्धन कायम राख्ने र यसैमार्फत सरकारको सुबिधापनि चाख्ने खुमलटारे कामरेडको चाहना अझ राम्रो छ।

अझ यही गठबन्धनलाई स्थानीय र संसदको चुनावसम्म टिकाउन सके सबैतिर सकिइ सकेको आफ्नो बिचार बिकाउन र अझ बढी बिदेशी हस्तक्षेप झिकाउन सजिलो हुने बाटो पहिल्याउन सजिलो पार्ने सदाबहार सद्बुद्धि आइरहोस् भन्ने चाहना जयादै उच्च तहको देखिन्छ।

संविधानदेखि लिएर अन्य कुनैपनि नियम कानुनले नचिनेको गठबन्धनको गाँठो कुनैपनि कारणले फुस्कियो भने स्थानीयदेखि संघीयसम्मका लगभग सबै स्थान हातबाट खुस्कियो भनेर जान्न सकिने हुनाले जे जस्तो घात प्रतिघात गर्न तयार रहन पर्ने बाध्यता सबैले बुझेका हुनाले कसैले केही भन्ने अबस्था छैन।

परालको खुट्टामा उभिएर म जति बलियो गरि कोही उभिएको छैन भनेर कुर्लने र आफ्नो वास्तबिक तागत लुकाएर उर्लने गरेको कसैलाई थाहै छैन भनेर आफ्नो रुप हेरिहेरि आफैं हुन्छु दंग भनेझैं गरि हिँड्नेलाई एमसीसी र गठबन्धनको त्यान्द्रो नभए के समाउनु र के गरेर रमाउनु? थाहा हुने थिएन होला।

एमसीसीमा निहुँ खोजे गठबन्धन टुट्ने र यस्तो भएमा बालकोटे कामरेडले मौका लुट्ने अनि चुनावमा पत्तासाफ गराइयो भनेर गफ चुट्ने अबस्थामा पुर्याएर अलपत्र पर्नु भन्दा लाज पचाएर सबैतिर चर्नु अनि आफू सबैभन्दा सिद्धान्तबादि भन्ने भ्रम छर्नु ज्यादै राम्रो तरिका हो।

यस्तो टोक्नु न बोक्नुको स्थितिमापनि सरकार प्रमुखलाई फकाउने तर्साउने र कामलेभन्दा परिस्थितिको आफू अनुकूल प्रयोग गरि फाइदा जति आफूतिर बर्साउने सबै हतकण्डा प्रयोग गरेर सधैंभरि नाफामा रहनु चानचुने कुरा हुँदै होइन।

कोटेश्वरे कामरेडकोपनि एमसीसीमा आफ्नै कुरा छ। खुमलटारे कामरेडले जता भन्यो त्यतै लतारिने र मुखले सधैं बिधि बिधान र पद्धतीको कुरामात्रै फलाकेपनि खानपिनको लागि सधैं हतारिने गरेको देखिन्छ। केही गरि गठबन्धन फुटेमा वा यो गाँठो टुटेमा टेक्ने समाउने ठाउँ कतै नभएर राजनीतिबाटै कमाउने बाटो हराउला भन्ने अबस्था आउला भन्ने डरले अर्काको दौराको फेर् समातेर हिँडेपनि आफ्नै खुट्टामा उभिएको अभिनय गर्न सक्नु महान क्षमता हो।

परालको खुट्टामा उभिएर म जति बलियो गरि कोही उभिएको छैन भनेर कुर्लने र आफ्नो वास्तबिक तागत लुकाएर उर्लने गरेको कसैलाई थाहै छैन भनेर आफ्नो रुप हेरिहेरि आफैं हुन्छु दंग भनेझैं गरि हिँड्नेलाई एमसीसी र गठबन्धनको त्यान्द्रो नभए के समाउनु र के गरेर रमाउनु? थाहा हुने थिएन होला।

जुनसुकै तहको चुनाव जुनसुकै मितिमा भएपनि आफ्नो दल त्यसको लागि तयार रहेको भनाइ सुन्दा र त्यसलाई मनमा गुन्दा रामै्र चुट्किला सुनेजस्तो लाग्यो भन्ने धेरै भेटिन्छन्। म डराएर खुट्टा कामेको होइन हावाले सुरुवाल हल्लाएको मात्रै हो भनेर भिरमा हिँड्दा इज्जत थामेको जस्तो हो भन्नेहरुलाई जवाफ दिइराख्न पर्ने जरुरी छैन।

सभामुख र अदालतको दयामायाले सांसद पद जोगाएका र त्यही कारणले मन्त्री पद भोगाएका यिनका मन्त्रीहरुको कार्यक्षमता हेरेर सर्कसमा जान पर्ने मान्छे मन्त्री भएको भन्ने कोही कोहीको टिप्पणी सुनेर उनीहरुलाई भोट हाल्ने जनताले चित्त दुखाउनु स्वाभाबिक हो। उनको दलमापनि त्यति काबिल मन्त्रीहरु रहेछन् भन्ने थाहा पाएर धेरैले जिब्रो काढेका छन्।

पिर्के सलामीदेखि ठाउँको ठाउँ भौतिक कारवाहीमा उत्रेर नमुना देखाउने र यही माध्यमबाट चुनावको लागि मोटो रकमको चेक लेखाउने काम शानदार तरिकाबाट भइरहेको छ भन्नेहरुका मुख थुन्न नमिलेपछि जसले जे भनेपनि सुन्न पर्ने भएर मात्रै यस्तो सुनिएको हो। खासमा भएको चाहिँ केही छैन भनेर सबैले बुझिदिन पर्छ।

टोक्नु न बोक्नुको अबस्था हुँदापनि एमसीसीको हाउगुजी देखाएर गठबन्धन कायम राख्न सरकार प्रधानलाई फकाउने र तर्साउने काममा कोटेश्वरे कामरेडपनि खुमलटारे कामरेडसित हातेमालो गरेर सबैको आँखामा जालो हाल्न ज्यान दिएर लागिरहेका अनि भित्रभित्र गठबन्धन नतोड्न भिखपनि मागिरहेका छन् रे भन्ने हल्ला सुनेपनि कसैले प्रत्यक्ष नदेखेको हुनाले यसै हो भन्ने अबस्था चाहिँ छैन।

सभापनि बन्द मुखपनि बन्द भएका सभामुखले सरकारले पेश गरेको बिधेयकलाई टेबल गर्न पर्छ कि पर्दैन भन्ने त संबिधानतिरै लेखिएको होला। अरुले बुझ्ने कुरा भएन र सबैको ध्यानपनि त्यतातिर गएन। संसदमै मर्न परेपनि एमसीसी बिधेयक टेबल गर्दिन र जसको दबाब आएपनि यसको लागि अघि सर्दिन भन्ने यिनको भनाइ सुनेर सबैले गर्ब गरे होलान्।

सर्बोच्च अदालतमा हत्या आरोपको मुद्दा बिचाराधीन हुँदाहुँदै उम्मेदवार हुँदै चुनाव जितेर सभामुखसम्म भइसकेका र स्वघोषित भएर अत्यन्त सक्षम सभामुखको तहमा गइसकेका यिनले सभामुखको कार्यभार सम्हालेदेखि नै संसद राम्ररी चलाउन सकेनन् भनेर बिपक्षीले आरोप लगाएपनि यिनलाई कसैले ढलाउन र जस्तोतस्तोले गलाउन सकेका छैनन्।

यिनको ओहोदा सभामुख भएपनि दलका अध्यक्षले जे भन्छन् त्यहि बोल्नमात्रै मुख प्रयोग गर्ने हुनाले यिनलाई सभाको मुख होइन अध्यक्षको मुख भन्ने बिरोधीहरुको तर्कमा खासै दम देखिन्न।

केही गरी गठबन्धन टुट्यो भने बर्तमानको सिटपनि जाने र भबिष्यको सिटपनि अर्कैले खाने लगभग निश्चित भएकोले एमसीसी टेबल गर्ने र पास नभएपनि पास गर्ने किसिमको प्रकृयामा हाल्ने अनि गठबन्धन कायम रहने गरी कदम चाल्ने अध्यक्षको दाउ राम्ररी बुझेका यिनले अध्यक्षको मुख ताक्ने गरेर बसेपछि राम्ररी जागिर पाक्ने सोच मनमा लिएर बसेका छन् रे भन्ने बजारे हल्लामा त्यति सत्यता नदेखिएपनि हो कि क्या हो भन्नेहरु बढ्दै छन्।

एमसीसी टेबल गर्न पर्ला र यसले अरुको गर्जो टर्ला भन्ने शंकाले अध्यक्षको निर्देशनमा कोरोनाको कारण देखाउँदै दश दिन संसद बन्द गर्न यिनले कदम चालेको अनि आफ्नो दलको स्वार्थमा मात्रै संसदको प्रयोग गर्न थालेको भन्ने बिरोधीको आरोप सुन्दा यिनलाई कसले पालेको छ भन्ने बुझिएन भन्नेहरुलाई सजिलो भएजस्तो देखिन्छ।

यिनको ब्यबहार हेर्दा दलको सभामुख हो कि संसदको सभामुख हो भनेर बुझ्न सकिएन भन्नेहरु पनि नदेखिएका होइनन्। तर जसले जे भनेपनि र जे जस्तो रुपमा गनेपनि यिनलाई केही मतलब रहेनछ। बाहिरबाट टोक्नु न बोक्नु भएजस्तो देखिएपनि यिनको तटस्थतालाई मान्नैपर्छ र यिनको दलमा यति राम्रो र क्षमतावान मान्छे अर्को रहेनछ भनेर जान्नैपर्छ।

सरकारी गठबन्धनमा सामेल भएको र सरकारी सुख सुबिधाको उपभोग गर्नमात्रै मन्त्रिमण्डलमा गएको मधेसवादी दल भने एमसीसीको मामलामा केही नसुनेको र केही नबुझेको जस्तो गरेर मौन रहेको छ। एमसीसीबाट दक्षिणी छिमेकीलाई फाइदा हुने परियोजनाहरु बन्ने भन्ने हल्ला सुनिएको बेलामा यो दल चुपचाप बसेको देख्दा उसको दिमागमा दक्षिणको डर पसेको हो कि भन्नेहरुको कुरा सुन्नु बेकार छ।

सरकारमा बसेर मजाले खानपिन गर्न नपाउनासाथ मधेश सम्झेर आन्दोलनका कुरा झिक्ने र सरकारमा छिर्नासाथ नगदमा बिक्ने अनि लाज शरम घिन सबैथोक बिर्सेर आँखा चिम्लिएर खाँदै जसरी हुन्छ सरकारमा टिक्ने बाहेक अरु कतै ध्यान छैन भनेको सुन्दा हो कि जस्तो लागेपनि जनताले पत्याएका चाहिँ छैनन्।

खाओवादीका जनसरकार प्रमुख हुँदै सरकार प्रधानसमेत भइसकेका डाक्टर पनि भेटेजति मौका चुम्दै र जहाँ पुगेपनि आफ्नै बानिले गर्दा टिक्न नसकेर घुम्दै त्यही दलमा पुगेपनि ट्वीटरमा सकृयता देखाउने बाहेक केही नगर्ने नेतालेपनि सानातिना पँधेर्नी झगडा खाले बाद बिबाद गर्ने बाहेक केही नगरेको देख्दा यिनको बौद्धिक स्तरमाथि सबैलाई दया लागेको देखिन्छ।

माइक भेट्नासाथ बोलीमा कुनै लगाम नलगाइकन जे मन लाग्यो त्यही बोल्ने छुट भएको र पदको आडमा जति लुट मच्चाएपनि अध्यक्षको भाग बुझाएपछि टुटफुट नहुने तर झुट बोल्न अति पोख्त नेताहरुमात्रै माथिमाथि पुग्ने परम्परालाई कायम राखेको देख्दा मधेसका जनता औधी खुसी छन्।

एमसीसी आओस् जाओस् वा गठबन्धनबाट जोसुकैले खाओस् कुनै मतलब नभएजस्तो गरी बस्न र सुराकिको रुपमा भित्रसम्म पस्न अनि आफूलाई चिल्लो घस्न दक्षिणको कडा निर्देशन भएकोले यसरी केही थाहा नभएको र केही मतलब नभएको जस्तो गरेर बसेको हो कि भन्ने शंकालुहरुलाई के नै भन्न सकिन्छ र? गठबन्धनका सबैलाई टोक्नु न बोक्नु हुँदापनि यिनीहरुलाई केही नभएजस्तो देखिनुमा दक्षिणको आर्शीवाद र आश्वासनको हात हुनसक्छ भन्ने हल्ला भएपनि जनताले पत्याएका छैनन्।

सरकारी गठबन्धनमा सामेल भएको र सरकारी सुख सुबिधाको उपभोग गर्नमात्रै मन्त्रिमण्डलमा गएको मधेसवादी दल भने एमसीसीको मामलामा केही नसुनेको र केही नबुझेको जस्तो गरेर मौन रहेको छ। एमसीसीबाट दक्षिणी छिमेकीलाई फाइदा हुने परियोजनाहरु बन्ने भन्ने हल्ला सुनिएको बेलामा यो दल चुपचाप बसेको देख्दा उसको दिमागमा दक्षिणको डर पसेको हो कि भन्नेहरुको कुरा सुन्नु बेकार छ।

बालकोटे कामरेडको दाउपनि यसै मार्फत आफ्नो राजनैतिक भाउ बढाउनेमै केन्द्रित छ। आफूले भने जसरी सभामुखलाई फाल्ने हो भने संसदबाट पारित गर्नेतर्फ सहयोगको कदम चाल्ने पासा फ्याँकेर फाइदा उठाउन सकिन्छ कि भन्ने ठुलो आशा गर्दै हिँडेका यिनका कामरेडहरु सरकार प्रधानलाई लोभ लालच देखाएर फकाउने कार्यमा ब्यस्त देखिन्छन्।

जसरी हुन्छ गठबन्धन भत्काउने काम हुनसके आफ्नो नाम अगाडि पार्न र आफूबाट टुक्रिएर गएकाहरुलाई तल झार्न सके फेरि गफ चुट्दै तर् मार्न पाइन्थ्यो भन्ने यिनीहरुको सोचाइ नराम्रोपनि होइन। सबैले यसैगरी झुक्याएर छक्याएर खाने र खाइरहेका हुनाले यिनीहरुलेपनि प्रयास गर्नुमा केही खराबी देखिन्न।

यो एउटा काम आफ्नो पक्षमा पार्न सके खुमलटारे कामरेड, कोटेश्वरे कामरेड र सभामुखलाई एउटै तिरले शिकार गरेर झिरले उनेको माछा बनाउन सकिन्थ्यो भन्ने बालकोटे कामरेडको बिचारलाई सबैले उच्च नै मानिदिन पर्छ।

अरु सानातिना र झिनामसिना दलहरुलेपनि यसलाई उचाल्ने मसला पाएसम्म उचाल्ने मौका पर्खिरहेका छन्। यसलाई उचाल्दा आफ्नो केही नजाने र भएपनि नभएपनि कतैबाट कुनै फाइदा नखाने दलहरुलाई केही दिन सडकमा उफ्रिने मसला हात लाग्ने अनि देश र जनताको नाम लिँदै जाग्ने र अलि चर्काउन सके सरकारसित राम्रै सुबिधा माग्ने बाटोपनि हुन नसक्ने होइन।

एमसीसीलाई राम्रोसित बुझ्न बुझाउन भन्दापनि त्यसै जान्ने भएर सबैले आफ्नो स्वार्थ अनुसार प्रयोगको बस्तु ठान्ने सद्बुद्धि देखाएको हुनाले अहिले आएर कुन्नि कहाँको पिलो जसरी सबैलाई दुख दिएको हो। अझैपनि यसलाई राम्रोसित सल्टाउने काम गर्नुभन्दा यसैको हाउगुजी देखाएर एकअर्कालाई पल्टाउने सुरसारमामात्रै लागिरहँदा दलहरु अझै धेरै नाँगिने र देशमा काम न काजको संकट झाँगिने पक्का छ।

कोही अहिले नै जस्ताको तस्तै पास गर्ने,कोही हल्का संशोधनसहित पास गर्ने, कोही कुनै हालतमा पास नगर्ने, कोही आफ्नो स्वार्थ पूरा भएमा पास गर्ने, कोही गठबन्धन भत्काउने सहमति भए पास गर्ने, कोही सधैं गठबन्धन कायम राखेर चाहे अनुसार चुनाव जित्ने र सरकारमापनि टाँसिइ रहने सुबिधा भएमा पास गर्ने अनि कोही चाहिँ यसको नामै लिन नहुने गरि पुरै नाश गर्ने जमातहरु भएको हुनाले सजिलै छिनोफानो गर्न सकिने अबधि गुजारेको हुनाले यो स्थितिको सिर्जना हुन गएको हो।

अरुलाई सबैतिर अड्काउने र आफूले सबैतिर पड्काउने सबैको सोच भएको हुनाले यसलाई टोक्नपनि नसक्ने बोक्नपनि नसक्ने अबस्थामा यिनै शिर्षहरुले पुर्याएकाले यस्तो टोक्नु न बोक्नुको अबस्था अझै केही समय यथाबत रहनेमा जनता ढुक्क छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *