युक्रेनमा गरिएको आक्रमणका कारण रुस विभाजित !

डिसी नेपाल
१५ फागुन २०७८ १४:१३
27.8k
Shares

काठमाडौं। युक्रेनमा रुसले गरेको सैन्य कारवाहीका कारण रुस नै विभाजित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा युक्रेनमा आक्रमण जारी छ । तर, यो आक्रमणले रुसी नागरिकहरु विभाजित भएका छन् । रुसमा जेनेसन ग्याप देखिएको छ, सोभियत संघको समयका नागरिकहरुले युक्रेनमाथिको आक्रमणलाई सही भनेका छन् भने सोभियत संघको पतन भइसकेपछि जन्मिएका पुस्ताले यो आक्रमणलाई गलत भनेका छन् ।

१९ वर्षका भ्लादिमिरका अनुसार युक्रेनको डोनाबासलाई मान्यता दिनु ठिक हो तर युक्रेनमाथि आक्रमण गर्नु भने ठिक कारवाही होइन । २४ वर्षकी अल्योना पनि युक्रेनको घरेलु मामिलामा दखल दिनु ठिक नभएको बताउँछिन् । उनले जुन धन यो युद्धको लागि खर्च गरिँदैछ त्यो पैसा रुसको विकास र खुसीको लागि खर्च गरिनुपर्ने उनको तर्क छ ।

बीए फाइनलकी छात्रा भलेरियाले हिजो बेलुकी भएको युद्ध विरोधी प्रदर्शनमा पनि भाग लिएकी थिइन् । तर, पाकाहरु भने युक्रेनमाथिको आक्रमणलाई ठिक मान्छन् । आन्ना नामकी एक अधबैंसे महिलाले भनिन् ‘हामीले दोस्रो विश्वयुद्धमा युक्रेनको साथ दिएका थियौं । युक्रेनलाई हिटलरको कब्जाबाट स्वतन्त्र गरायौं । तर अहिले युक्रेन पश्चिमी फासीवादीको साथमा छ ।’

आन्नाले अगाडि भनिन् ‘युक्रेनका शासक अहिले त्यहाँ बस्ने रुसीहरुमाथि दमन गरिरहेका छन् । यसको लागि सैन्य कारवाही पनि जरुरी छ ।’ ७० वर्षका आन्तोनका अनुसार युक्रेनका सत्ताधारी राष्ट्रवादीहरुलाई पाठ पढाउनु जरुरी थियो तैपनि युद्ध टार्न सकिएको भए राम्रो हुन्थ्यो ।

८३ वर्षका पूर्व सैन्य अधिकारी रुसलानले पनि रुसी सेनाको कारवाहीलाई पूर्ण रुपमा सही ठहर गरेका छन् । उनले भने ‘दुश्मनलाई घुँडा टेकाएरै पाठ पढाउन सकिन्छ । आजका युक्रेनका शासकलाई पाठ पढाउनको लागि पुटिनले एकदम सही कदम उठाएका छन् ।’ रुसको ६२ प्रतिशत जनसंख्या ५० वर्षभन्दा बढी उमेरका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *