युक्रेनमा चितुवा र जगुआरसँग फसे गिरिकुमार, देश छाड्न अस्वीकार

डिसी नेपाल
२४ फागुन २०७८ ११:१५
6.8k
Shares

काठमाडौं। एक हप्ताभन्दा धेरै समयदेखि एक भारतीय डाक्टर युक्रेनमा आफ्नो घरको बेसमेन्टमा आफ्ना पाल्तु चितुवा र जगुआरसँग लुकेका छन् । गिरिकुमार पाटिलले २० महिना पहिले किभ चिडियाखानाबाट यी दुई जनावर किनेका थिए । उनले यी दुई जनावरलाई साथ नलिइ आफ्नो घर नछोड्ने बताएका छन् ।

उनी विगत ६ वर्षदेखि युक्रेनको सेभेरोदोनेत्स्कमा बस्दै आएका छन् । यो पूर्वी युक्रेनको डोनाबास क्षेत्रको एउटा सानो सहर हो । युद्ध सुरु भएपछि अविवाहित गिरिकुमार बेसमेन्टबाट बिहान कर्फ्यु हटेपछि मात्रै बाहिर निस्किन्छन् । उनलाई दिनहुँ आफ्ना पाल्तु जनावरको लागि भोजन किन्नुपर्छ । भाले जगुआर २० महिनाको छ र पोथी चितुवा ६ महिनाको छ । उनका अनुसार उनीसँग भएको जगुआर भाले चितुवा र पोथी जगुआरबाट जन्मिएको दुर्लभ हाइब्रिड हो ।

गिरिकुमारका अनुसार युद्ध सुरु भएपछि उनले २३ किलो भेडा, बाख्रा, टर्की र कुखुराको मासु नजिकको गाउँबाट किनेका छन् र यो मासुको लागि सामान्य भन्दा ४ गुणा धेरै मूल्य तिरेका छन् । ४० वर्षका गिरिकुमार भन्छन् ‘मेरा पाल्तु जनावर मसँग बेसमेन्टमा रात बिताइरहेका छन् । हाम्रो चारैतिर निकै बमबारी भइरहेको छ । यस्तोमा यी जनावर डराइरहेका छन् । उनीहरु कम खाइरहेका छन् । म उनीहरुलाई छोड्न सक्दिन । यो लडाइँको सामना गरेको मेरो दोस्रो अनुभव हो । तर, यसुपटक लडाइँ धेरै डरलाग्दो छ ।’

गिरिकुमारका अनुसार पहिले उनी लुहान्स्कमा बस्थे जहाँ रुस समर्थित विद्रोहीहरु २०१४ देखि नै युक्रेनी सेनासँग लडिरहेका छन् । उनका अनुसार यो लडाइँमा उनको त्यहाँ रहेको घर र उनले खोलेको भारतीय रेष्टुरेण्ट बर्बाद भयो । त्यसपछि उनी १०० किलोमिटर टाढाको सेभेरोदोनत्स्क गए । त्यहाँ उनले नयाँ घर किने, मेडिकल प्राक्टिस सुरु गरे र नयाँ पाल्तु पशु किने । उनी भन्छन् ‘म अहिले लडाइँको बीचमा फसेको छु । यस पटक म साँच्चै चिन्तित छु । मेरा मातापिताले फोन गरिरहनुभएको छ र मलाई घर फर्किन भनिरहनुभएको छ । तर म आफ्ना पशुहरुलाई छोड्न सक्दिन ।’

आन्ध्र प्रदेशका गिरिकुमारका अनुसार २० महिना पहिले चिडियाघरबाट यी पशुहरु किन्नको लागि उनले ३५ हजार डलर तिरेका छन् । उनका अनुसार त्यहाँ चिडियाघर प्रशासनले पशु राख्ने पर्याप्त ठाउँ भएका मानिसहरुलाई जनावर किन्न अनुमति दिन्छ । गिरिकुमारले बीबीसीलाई चिडियाघरले दिएको जनावरहरुको जन्म प्रमाणपत्र पनि देखाए ।

गिरीकुमारका अनुसार उनी २००७ मा मेडिकल पढ्न युक्रेन गएका थिए । २०१४ देखि उनले अर्थोपेडिकको रुपमा प्राक्टिस सुरु गरेका थिए । अहिले उनी सेभरोदोनेत्स्कमा एक सरकारी अस्पतालमा काम गर्छन् । युद्ध सुरु भएपछि यो अस्पताल बन्द छ । उनका अनुसार उनी निजी रुपमा पनि प्राक्टिस गर्छन् । सेभरोदोनेत्स्कमा पाटिल ६ कोठा भएको २ तले घरमा बस्छन् । उनको घरमा जनावरहरुको लागि एउटा ठूलो पिंजडा पनि छ ।

उनको धेरैजसो कमाइ पशुहरु पाल्नमा खर्च हुन्छ । उनका ३ कुकुरहरु पनि छन् । उनी युट्युब च्यानलको माध्यमबाट अरु पैसा जुटाउने कोसिस गर्छन् । उनी आफ्नो युट्युब च्यानलमा यी दुई ठूला जनावरहरुको भिडियो राख्छन् । पाटिलको युट्युब च्यानलमा ८५ हजार सम्सक्राइबर छन् । पाटिल भन्छन् ‘दक्षिण भारतीय फिल्मका स्टार चिरञ्जीवीलाई मैले एक फिल्ममा चितुवाको साथमा देखेको थिएँ । त्यतिबेलादेखि नै यी जनावरप्रति म आकर्षित भएको हुँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *