पाकिस्तानमा संसद विघटनको निर्णय अदालतले उल्ट्याउन सक्ने, आज साढे ७ बजे फैसला
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले इमरान खान सरकारविरुद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयविरु्द परेको रिटमा आफ्नो फैसला सुरक्षित राखेको छ ।
सर्वोच्च अदालतले स्थानीय समय अनुसार साँझ साढे ७ बजे फैसला सुनाउने छ । अप्रिल ३ मा विपक्षी दलको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुनुअघि नै उपसभामुखले अस्वीकृत गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिफ अल्वीलाई भेटेर नेशनल एसेम्बली विघटन गर्न सल्लाह दिएका थिए । यही सल्लाहपछि राष्ट्रपतिले नेशनल एसेम्बली विघटन गरे ।
पाकिस्तानको संविधान अनुसार त्यहाँ नेशनल एसेम्बली विघटन भएको ९० दिनभित्र आम निर्वाचन हुनुपर्नेछ। यसैबीच, पाकिस्तानको सर्वोच्च अदालतले उपसभामुखको निर्णयलाई संज्ञानमा लिएर यसमाथि सुनुवाइ सुरु गरेको हो। तर सुनुवाइ पछिल्ला केही दिनदेखि स्थगित भएको थियो ।
बिहीबार सुनुवाइ सकिए पनि सर्वोच्चले आफ्नो फैसला सुरक्षित राखेको छ । पाकिस्तानका विपक्षी दलहरूले उपसभामुखको निर्णयलाई असंवैधानिक भनेका छन् । जबकि इमरान खान र उनको पार्टीले विपक्षी नेताहरु आफ्नो सरकारलाई ध्वस्त पार्ने विदेशी षडयन्त्रको हिस्सा रहेको बताउँदै आएका छन् ।
प्रतिपक्षले भने यसलाई अस्वीकार गर्दै आएको छ । बिहीबार प्रधानन्यायाधीश ओमर अता बण्डियालले उपसभामुखको निर्णयमा त्रुटि रहेको स्वीकार गरेका थिए । प्रधानन्यायाधीशले यो टिप्पणी बेन्चका अरू ४ न्यायाधीशसँग परामर्शपछि गरेकोले आज अदालतले उपसभामुखको निर्णयका साथै संसद विघटनको निर्णय पनि उल्ट्याउन सक्ने मानिएको छ ।







डिसी नेपाल







Facebook Comment