छोरा बनेर ४० वर्षसम्म घरमा बसे अनि करोडौंको जग्गा बेचिदिए

डिसी नेपाल
२६ चैत २०७८ १०:०७
13.4k
Shares

काठमाडौं । बिहारका मुख्यमन्त्री नितिश कुमारको गृह जिल्ला नालन्दाबाट एउटा अचम्मको खबर बाहिर आएको छ । त्यहाँ एक व्यक्ति एक जना बृद्धको घरमा ४१ वर्षदेखि छोरा बनेर बस्दै आएका थिए । ४० वर्षदेखि चल्दै आएको यस सुनुवाइमा अदालतको फैसला आएपछि मानिसहरू आश्चर्यचकित बनेका छन् । यो पूरै प्रकरणमा विश्वासघात, परिवारको भावनासँग खेलवाड गर्ने र सम्पत्तिको लोभमा चरम सीमामा जाने कथा छ, जुन फिल्मको स्क्रिप्टभन्दा कम छैन ।

सम्पत्ति र उत्तराधिकारको यो विवादमा ४० वर्ष लामो कानुनी लडाइपछि अदालतको फैसला आएको हो । यस घटनामा अपराधीलाई तीन वर्ष मात्रै कैद भएको छ । नालंदा जिल्लाका अपर मुख्य न्यायिक मजिस्ट्रेट मानवेन्द्र मिश्रको अदालतले ठगी गरेको आरोपमा करिब १६ वर्षको बेपत्ता छोराको सट्टा ४१ वर्षदेखि घरमा बस्दै आएका दयानन्द गोसाइँलाई सजाय सुनाएको हो ।

यो प्रकरण नालंदा जिल्लाको सिलाओ थाना क्षेत्रको मोरगाउँबाट सुरु भएको थियो। उक्त मुद्दा गाउँकै करिब १५० बिघा जग्गाका मालिक स्वर्गीय कामेश्वर सिंहको सम्पत्तिसँग सम्बन्धित छ । उनको जीवनमा दुःखद मोड तब आयो जब उनका एक मात्र छोरा कन्हैया सिंह सन् १९७७ मा म्याट्रिक परीक्षामा सहभागी हुने क्रममा बेपत्ता भए । धेरै खोजीपछि सिलाभ प्रहरी चौकीमा मुद्दा दर्ता भयो । एक्लो छोराको आशमा चार वर्षभन्दा बढी समय बित्यो ।

यसैबीच, १९८१ मा एक जवान साधु छिमेकी गाउँ केशोपुरमा आए। स्थानीयवासीका अनुसार युवा साधुले आफूलाई बेपत्ता कन्हैया भन्दै धेरै प्रचार गरे । केही दिनमै यो कुरा आगो जस्तै फैलियो। त्यसबेला बुबा कामेश्वर सिंह जीवित थिए । उनले ती युवक र अरू केहीको कुरामा विश्वास गरे र उसलाई आफ्नो घरमा ल्याए। उनकी दिवंगत श्रीमती रामसखी देवीले उनलाई छोराको रूपमा स्वीकार गर्न अस्वीकार गरे पनि गाउँलेको दबाबमा उनी मौन बसिन् ।

दयानन्द गोसाइँ कन्हैया सिंहको एकमात्र उत्तराधिकारीको रूपमा घरमा बस्न थाले। तर आमा रामसखी देवीले उनलाई कन्हैया नमानेर अविश्वास गरिरहिन् । अन्ततः नोभेम्बर १९८१ मा जब उनको धैर्यता टुट्यो उनले दयानन्द विरुद्ध सिलाव पुलिस स्टेशनमा मुद्दा दायर गरिन् । नोभेम्बर १९९१ मा पटना जिल्ला अदालतमा मुद्दा चलेको थियो। यसैबीच सन् १९९५ मा कामेश्वर सिंह र उनकी श्रीमती रामसखी देवीको मृत्यु भयो ।

बाबुआमाको मृत्युपछि बेपत्तरा कन्हैया सिंहकी दिदी विद्यादेवीले थप कानुनी लडाइँ जारी राखिन् । यस सम्बन्धमा विद्यादेवीको पक्ष जान्न प्रयास गरिएको थियो तर सम्पर्क हुन सकेन । तर, उनका वकिल राजेश कुमार यी सबै सम्पत्ति हडपसँग सम्बन्धित रहेको बताउँछन् । राजेश कुमारले बीबीसीलाई भने, “करिब चार दशक कामेश्वर सिंहको घरमा बस्दा दयानन्दले करिब ५०-५५ बिघा जग्गा बेचेका थिए। पाइपलाइन बिछ्याउँदा मुआब्जा पनि पाएका थिए। विवाह पनि गरे।”

“कन्हैयाकी आफ्नै आमाले मुद्दा दर्ता गराएकी थिइन्। कन्हैयाको टाउकोमा चोट लागेको निशान दयानन्दको टाउकोमा नभएको उनकी आमाले बयान दिएकी थिइन्। साथै उनी डीएनए परीक्षणमा पनि उपस्थित भएनन्।” आफू बस्ने जमुई जिल्लाको सोही गाउँका एक व्यक्तिले उनी प्रभु गोसाइको तेस्रो छोरा भएको अदालतमा बताए । यस मामिलामा सबैभन्दा चकित पार्ने तथ्य दयानन्द गोसाइँले अदालतमा पेश गरेको आफ्नै मृत्यु प्रमाणपत्र थियो।

प्रमाणपत्रमा दयानन्द गोसाइँको मृत्यु सन् १९८१ उल्लेख गरिएको छ । तर यो प्रमाणपत्र २०१४ मा जारी गरिएको थियो। अदालतको निर्देशनमा छानबिन गर्दा नक्कली निस्कियो । जिल्ला अदालतबाट पटना उच्च अदालत हुँदै सर्वोच्चमा मुद्दा पुगेपछि सर्वोच्चको निर्देशनमा पुनः सुनुवाइ सुरु भएको हो । बहस सुनेपछि नालंदा जिल्ला अदालतले दयानन्द गोसाइँलाई किर्ते ठहर गर्दै तीन वर्ष कैद र जरिवानाको फैसला सुनाएको छ ।

अर्कोतर्फ, नालन्दका जिल्ला अभियोजन अधिकारी राजेशकुमार पाठक भन्छन्, ‘२०१४ देखि अभियोजन पक्षबाट डिएनए परीक्षणको माग आएको थियो, जसमा २०२२ मा अदालतलाई लिखित निवेदन दिएर उनले परीक्षण गराउन अस्वीकार गरेका थिए । यसबाहेक उनले १९७७ र १९८१ को बीचमा कहाँ बसेका थिए भन्ने पनि बताउन सकेनन् ।

स्वर्गीय कामेश्वर सिंहकी छोरी विद्यादेवीले भनिन्, “जो खुसी हुन्थे उनीहरू गइसकेका छन्। आमाको चाहना थियो कि यो कुरा सार्वजनिक होस्। हामीले सत्यतथ्य बाहिर ल्याउने प्रयास गर्यौं र नतिजा सबैका अगाडि छ। यता, अदालतको फैसलापछि दयानन्द गोसाइँले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा भने, ‘यो सब सम्पत्तिका लागि भइरहेको छ, दिदीबहिनीको नजर सम्पत्तिमा छ, त्यसैले यस्तो गरिएको हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *