कर्णाली प्रदेशमा निर्वाचनको व्यवस्थापकीय तयारी पूरा

डिसी नेपाल
२७ वैशाख २०७९ १९:३३

कर्णाली। प्रदेश निर्वाचन कार्यालय सुर्खेतले शुक्रबार हुने स्थानीय तह निर्वाचनको व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ । कार्यालयका अनुसार मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन लगायतका तयारी पुरा भएको छ ।

निर्वाचन आयोगले पठाएका सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रतर्फ प्रस्थान गरिसकेका छन् । मतदान कार्यमा खटिएका कर्मचारीले तोकिएको मतदानस्थलमा पुगेर आयोगले तोकेको ढाँचा मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण, सर्वदलीय/सर्वपक्षीय बैठक आव्हान, मतदाता सूचना एवं सहायता कक्ष स्थापना, मतदान केन्द्रको क्षेत्र निर्धारण गरी प्रचारप्रसारमा रोक लगाउनेलगायत कार्य थाल्नेछन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सदरमुकाम र नजिकका मतदान केन्द्रमा कर्मचारी पुगिसकेको जानकारी दिए । “कतिपय पालिकाका मतदान केन्द्रमा बुधबारसम्म मतदान कार्यमा खटाइएको टोली पुगिसक्छ”, उनले भने, “स्थानीय निर्वाचन निर्देशिकाबमोजिम मतदान अधिकृतले मतदानको तयारीका कार्यको नेतृत्व गर्नेछन् । सुर्खेतमा नौ स्थानीय तहका १३८ स्थलमा २९१ मतदान केन्द्र छन् ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको सुरक्षा प्रबन्ध मजबुत बनाइएको बताए। “मतदाता र मतदान केन्द्रको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेका छौँ”, प्रजिअ रिजालले भने “केही स्थानमा प्रचारप्रसारका क्रममा दलका कार्यकर्ताबीच छिटफुट झडप भए पनि समग्रमा शान्ति सुरक्षाको अवस्था सामान्य छ ।” प्रशासनका अनुसार सुरक्षाको दृष्टिले सुर्खेतमा २० मतदान केन्द्र अतिसंवेदनशील छन् । सुर्खेत प्रदेश राजधानी भएकाले यहाँको सीमा सुुरक्षामा पनि सजगता अपनाएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *