लमजुङमा चारवटा मोटरेवल पुल निर्माण

डिसी नेपाल
२७ जेठ २०७९ १४:४६
92
Shares

लमजुङ। लमजुङमा निर्माणाधीन मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन्। जिल्लामा चालु आर्थिक वर्षमा निर्माणाधिन नौवटा मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ।

जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु भएका मोटरेवल पुलहरू यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका हुन्। चालु आर्थिक वर्षको हालसम्म चारवटा मोटरेवल पुल निर्माण सम्पन्न भएको र यो आर्थिक वर्ष भित्र थप दुईवटा मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार गाउँपालिकाअन्तर्गत रुदी खोला मोटरेवल पुल, बेसीशहर–सुन्दरवजार जोड्ने नाल्मा बेसीको राम्चे खोला मोटरेवल पुल, दोर्दी गाउँपालिका अन्तर्गतको किसेदी खोला मोटरेवल पुल र राईनास नगरपालिका अन्तर्गत चिली खोला मोटरेवल पुलको निर्माण कार्य सकिएको हो।

त्यसैगरी यही आर्थिक वर्ष भित्र क्होलासोँथार गाउँपालिकाअन्तर्गत मिदिम खोला मोटरेवल पुल र दुधपोखरी गाउँपालिकाअन्तर्गतको कुयाले खोला मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख गिरीको भनाइ छ।

निर्माण सम्पन्न र निर्माणाधिन मोटेरेवल पुलमध्ये अधिकाँश अघिल्लो आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजना हुन्। तर, अघिल्लो आर्थिक वर्षमा विश्वव्यापी कोभिड–१९ को प्रभाव, सरकारले जारी गरेको लकडाउन लगायतका कारण देखाउँदै निर्माण अवधि थपिएका हुन्। यद्यपि यसवर्ष पनि कोभिडको प्रभावसँगै बढ्दो महंगी र स्थानीय तहको निर्वाचनका कारण विकास निर्माणका काम प्रभावित भएको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *