कविता : मनमा आहाल जमेपछि
सन्निपातले विचारलाई दुर्बल बनाएपछि
दृष्टिमा मोतीबिन्दु उम्रेपछि
माटोमा गाडिएको फलाममा जस्तो
चिन्तनमा खिया लागेपछि
भैँसी डुब्ने आहाल जस्तो
मनमा फोहार पोखरी बन्ने नै भयो।
साथी मैले भन्दै आएको छु
आहालमा मन डुबाएकाहरुलाई
बाहिर ल्याउन कठिन छ
विचार, दृष्टि अनि चिन्तनमा
रोग पालेकाहरुलाई उपचार सम्भव छैन।
मैले तिमीलाई उहिल्यै देखिन् सम्झाउँदै आएको छु
तिमी रोगी बन्यौँ साथी
कृपया
रोग फ्याल विचारबाट
रोग फ्याल दृष्टिबाट
अनि रोग फ्याल मनबाट
तिमी
यो धरतीको शक्तिशाली मान्छे
ईश्वरका जस्ता आँखा,जसमा कुनै कपट छैन
भगवानको जस्तो मन,जसमा कुनै इष्र्या छैन
त्यस्तै दृष्टि र भावना बोकेको तिमी
यस धरतीको ईश्वर हौँ
मनमा कञ्चन नदी उमार
तिम्रा आँखामा उम्रिएका झ्याउहरु
मनमा पलाएका कसहरु
पखाल
मित्र मैले तिमीलाई उहिल्यै भनेको हुँ
तिमी यो संसारको सुन्दर मान्छे
यो संसारको सर्वशक्तिमान मान्छे
तिमी यो पृथ्वीको गतिसंगै हिड्न सक्छौँ
तिमी सूर्य,चन्द्र र ताराहरुको लयसंगै चल्न सक्छौँ
तर तिमी साथसंगती र आफ्न्तको अनुहारको हाँसो देखेर
रोएका छौँ / रोगिएका छौँ
हाँस मित्र अरुको खुसीमा
अनि आफ्नो मन हाँस्छ !
तिम्रा लागि
यो पृथ्वी टक्क अडिन सक्दैन
र रुन सक्दैन तिम्रा सामु
सूर्य र चन्द्रमाले यात्रा रोक्न सक्दैनन्
र तिम्रो निर्देशनमा चल्न पनि सक्दैनन्
आकाशमा ताराहरुकोे नृत्य रोकिदैन
र तिमीलाई देख्नासाथ डरले ताराहरु लुक्न पनि सक्दैनन्।
आफ्नो अस्तित्वका लागि
अरुको उपस्थिति पनि स्वीकार गर
तिमी आफ्नै औडाहाले
नाशिँदै नाशिँदै आएको देखेर
म चिन्तामा छु
मेरा हर खुसीमा डाह गरिदिने तिमी छाैं र पो
म यस धरामा निरन्तर हिँडिरहेको छु !
No ads found for this position

डिसी नेपाल
Facebook Comment