आगामी निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने कांग्रेसको निर्णय (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आउँदो संघ र प्रदेशको निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
छैठौं दिनसम्म चलेको बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमतको लक्ष्यका साथ गठबन्धन दलहरुसँग संवाद गर्दै चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
“संविधानको कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण, न्यूनतम साझा धारणा निर्माण गर्दै जनताको जीवनस्तरमा गुणात्मक विकास हुनुपर्ने, कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ हो । संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ”, उनले भने ।
बैठकले स्थानीय निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा गठबन्धनसहित भाग लिएको र त्यसको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
बैठकबाट उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन प्रतिवेदन र प्रवक्ता डा. महतले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसारको प्रतिवेदनलाई आवश्यक सुझावसहित अनुमोदन गरिएको छ ।
कांग्रेसले स्थानीय निर्वाचनमा सञ्चालन गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान आगामी निर्वाचन अघि आगामी भदौ २ देखि २४ गतेसम्म पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले तीन वटा समिति गठन गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ । अनुशासन समिति गठन गरिएको प्रवक्ता महतले बताए । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको हो ।
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता महतको भनाइ छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले ती समितिको नेतृत्व चयन गरेको हो । सदस्यहरू पछि थप गरिनेछ ।













डिसी नेपाल








Facebook Comment