कार्यदल बैठकः सिट बाँडफाँटमा २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाइने
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलको सोमबार बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटमा २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाउने भएको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटका लागि मापदण्ड बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
मन्त्री कार्कीले भने, “कार्यदलको बैठक बस्यो, चाँडोभन्दा चाँडो गृहकार्य पूरा गर्नका निमित्त छलफल व्यवस्थित रुपमा अगाडि बढाइएको छ । गठबन्धनमा सिट बाँडफाँटका लागि २०७४ सालको निर्वाचनमा प्राप्त मत र २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार बनाइने छ ।”
यसअघि बसेको कार्यदलको बैठकमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँट गर्ने भनिए पनि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाउनुपर्ने अडान लिएका थिए ।
गठबन्धन कार्यदलको बैठक बुधबार दिउँसो ४ बजे फेरि बस्नेछ ।







डिसी नेपाल








Facebook Comment