असहज गठबन्धन
संघीय र प्रदेशको निर्वाचन मिति तयपछि देश नै निर्वाचनमा होमिन सुरु भइसकेको छ। केही दल बहुमतको सरकार बनाउने गरी तयारीमा जुटेका छन् भने केही १/२ सिट जितेर पार्टीको साख जोगाउन भरमग्दुर प्रयासमा छन्।
प्रदेश १ का १४ जिल्लामा निर्वाचनको माहोल बिस्तारै सुरु भइसकेको छ। र, यहाँ नेकपा एमाले र कांग्रेसबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ। माधवकुमार नेपालको समाजबादी पार्टी, जनता समाजवादी र लोकतान्त्रिक समाजबादी पार्टीको यो प्रदेशमा कुनै माहोल देखिन्न।
माओवादी केन्द्रले कांग्रेसको घात र अन्तरघात नभएको अवस्थामा २/४ सिट जित्न सक्छ। सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलले घात र अन्तरघात नभएको अवस्थामा १/२ सिट जिते भने आश्चर्य नमाने हुन्छ। तर, कांग्रेसका मतदाताले कम्युनिष्टलाई सहज रुपमा भोट हाल्छन् भन्ने पर्याप्त आधार देखिन्न।
कांग्रेसका अधिकांस युवा नेता गठबन्धनको विपक्षमा सतिसाल झैं उभिएका छन्। र पनि उनीहरु केन्द्रको कमाण्डका कारण बोल्न भने सकेका छैनन्। यस कारण पनि कांग्रेसका युवा नेता र मतदाताले सहज रुपमा माओवादीलाई भोट हाल्ने अवस्था देखिन्न। यदि त्यसो भएको खण्डमा पल्ला एमालेको भारी हुने धेरैको बुझाइ छ।
कांग्रेस र एमालेका केही नेता चाकरी र हनुमानको रुपमा चिनिन्छन्। उनीहरुको पनि संघ र प्रदेशमा टिकट पाउने दावी रहेकै छ। ‘ती र त्यस्ता नेता चिनौं।’ भन्दै सामाजिक सञ्जालमा पोष्टहरु बग्रेल्ती पाइन थालेको छ।
कांग्रेसको शेखर समूह र सस्थापन समूह एक अर्कालाई घातको चरणमा पुगिसकेका छन्। यस्ले के पुष्टि गर्छ भने जिल्ला तहमा समिकरण वा गठबन्धन जे भए पनि मतदाताले केन्द्र र जिल्ला नेतृत्वको निर्देशन मान्ने देखिन्न।
एमालेले चुच्चे नक्शा, नागरिकता बिधेयक र महंगीको मुद्दा जोडदार रुपमा उठाउने र राप्रपा तथा राप्रपा नेपालसित चुनावी तालमेल गर्ने देखिन्छ। यसो भएमा गठबन्धनलाई ‘फलामको च्युरा’ चपाउनुसरह हुने विश्लेषण गर्न थालिएको छ। पूर्वमा एमाले, कांग्रेस र त्यसपछि राप्रपाको जनमत देखिन्छ। चौथो शक्तिका रुपमा माओवादी केन्द्र छ। माओवादी केन्दले कांग्रेसको मत पाउन सहज नभएको कांग्रेसकै नेता र कार्यकर्ताको बुझाइ छ।
‘मंसिर ४ को निर्वाचनमा माओवादीलाई अन्तरघात गरेर २/४ सिटमा खुम्च्याउनु नै कांग्रेसको भित्री मक्सद हो।’- कांग्रेसका एक नेता भन्छन्, ‘अपहरण, हत्या र चन्दाको मार हामीले भुलेका छैनौं, अनि कसरी मत दिने ?’
अनि माओवादी केन्द्रका मतदाता र नेता पनि साख जोगाउन कांग्रेसको गुलामी गर्नुको बिकल्प सोच्दैनन्। यदि कांग्रेसले गठबन्धनमा सहभागी नगराए २/४ सिटमा खुम्चनु पर्ने उनीहरुको बुझाइमा सत्यता छ।
जे होस्, गठबन्धनमा अन्तरघात नभए हालको समिकरण टिक्ने त छ नै। राप्रपा र एमाले मिलेको अवस्थामा गठबन्धनलाई पनि सहज देखिन्न पूर्व प्रदेशमा। बाँकी समयले देखाउने छ।







डिसी नेपाल








Facebook Comment