निर्णय भएको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय

डिसी नेपाल
१६ भदौ २०७९ ६:३३
36
Shares

बारा। सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्धाटन भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच कार्यालयको उद्धाटन गरेकी हुन्।

जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो। सिम्रौनगढमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध जिल्लाका लेखापढी व्यवसायी राम कलैयाका अन्य व्यवसायीहरुले मालपोत र नापी कार्यालय सदरमुकाम बाहिर लैजान नदिने भन्दै आन्दोलन सुरु भएपछि सिम्रौनगढमा कार्यलय स्थापना गर्ने मन्त्रिपषिदको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

मन्त्रिपरिषदको सोही मितिको निर्णयअनुसार जिल्लाको सिमरामा भने २०७२ साल माघमा नै कार्यालय स्थापना गरिएको थियो।

‘सिम्रौनगढ नगरपालिका र स्थानीय बासिन्दाले मन्त्रिपरिषदको निर्णय कार्यान्वयको माग गर्दै आएका थिए। लामो समयदेखि कार्यालय स्थापना गर्न माग गर्दै आएका थियौं,’ स्थानीय समाजसेबी रामेश्वरप्रसाद यादवले भने, ‘सरकारले बल्ल जनताको आवाज सुनेको छ । उहाँले कार्यालय स्थापना भएपछि जग्गा सम्बन्धि कामले २५ किलो मिटर टाढा धाएर सदरमुकाम कलैया धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।’

कार्यालयको उद्धाटन भएपछि स्थानीय सर्वसाधारण सेवाग्राही खुसी बनेको उनको भनाइ छ। कार्यालय उद्धाटन गर्दै मन्त्री श्रेष्ठले जनताको घर दैलोबाट सेवा पुर्याउने उद्देश्यले कार्यलय संचालन ल्याइएको बताइन्।

उनले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न यसअघि कसैले पनि चासो नदेखाएको अवस्थामा आफूले सिम्रौनगढमा कार्यालय संचालन गर्न पहल गरेको बताइन्। कार्याक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले संघीयताको मर्मअनुरुप सिम्रौनगढमा मालपोत कार्यालयको सेवा सुरु गरिएको बताइन् ।

उनले सिम्रौनगढमा मालपोत कार्यालयको कार्यालय भवन निर्माण गरेर नमूना एकीकृत सेवा सुरु गर्न मन्त्रालय तयार रहेको पनि बताइन्। तपाईंहरु भवनको लागि जमिन उपलब्ध गराउनुहोस्, सचिव थपलियाले भने, ‘मन्त्रालय सुविधा सम्पन्न कार्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गर्न तयार छ।’

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले सिम्रौनगढ मालपोत कार्यालयमा भूमि व्यवस्थापन सूचना प्रणालीको काम पूरा भएको र केही दिनभित्र सेवा सुरु गरिने जानकारी दिए । उनले जग्गाको श्रेस्तासहित अन्य पूर्वाधार निर्माणको लागि पनि विभागले कार्यालयलाई आवश्यक सहयोग गर्ने बताए।

कार्यक्रमा संविधान सभा सदस्य गोपाल ठाकुर, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारलगायतले आफ्नो धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.