यु-२० एएफसी एसियन कप छनोट : नेपाल जितविहीन
काठमाडौं। एएफसी यु-२० एसियन कप छनोटको अन्तिम खेलमा आइतबार बंगलादेशसँग ३-० को नतिजामा पराजित भएसँगै नेपाल समूह ‘बी’मा जितविहीन भएको छ। सुरुआती तीन खेलमा पराजय भोगेको नेपाली टिम अन्तिम खेलमा सान्त्वना जितको अपेक्षासहित मैदानमा उत्रिएको थियो।
तर, सुरुआती समयमै दश जना र पहिलो हाफमै ९ जनामा सीमित भएपछि नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरुद्धको हार टार्न सकेन।
बहराइनमा भएको छनोट अन्तर्गत नेपाल पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो। दोस्रो खेलमा कतारसँग ३-१ को हार बेहोरेको नेपालले बहराइनसँग १० जनामा सीमित हुँदा ६-० को फराकिलो नतिजामा पराजित हुनु परेको थियो।
आइतबार राति छैटौं मिनेटमा नेपाली रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै बंगलादेशका मोजिबोर जोनीले पहिलो गोल गरेका थिए । त्यसको चार मिनेट नबित्दै बंगलादेशले पियास नोभाको गोलबाट अग्रता दोब्बर पारेको थियो।
बंगलादेशी खेलाडीलाई कुहिनाले प्रहार गरेपछि २६औं मिनेटमा नेपालका सेन्टर ब्याक अजय चौधरीले रातो कार्डको सामना गर्नु परेको थियो।
त्यसको ६ मिनेटअघि सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका कप्तान आयुष घलान अभद्र व्यबहारका कारण रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । आयुषसँग अभद्र व्यबहारमा सामेल भएकै कारण बंगलादेशका अजिजुल हकी पनि दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए।
दोस्रो हाफको सुरुआतदेखि नै बंगलादेशले दबाब बनाएको थियो । बंगलादेशी फरवार्ड नोभाले दायाँतर्फबाट दिएको क्रसलाई साजिद हसनले गोलमा परिणत गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment