सेतो बादल! (कविता)

340
Shares

मेरी सानी छोरी
दौडदै आएर भनिन्
मामु! आकशमा हेर्नु त
मैले सोधें किन नानु?
मामु हेर्नुहोस् न पहिला
अनि भन्छु के म
बाल हठ
मैले नकार्न सकिन
हेरेँ आकाशमा
चारैतिर आँखा डुलाएँ
र छोरीलाई भनें
मैले त त्यहाँ
केही पनि देखिन नि नानु!
छोरीले हात समाउँदै भनिन्
मामु !
गुरुआमाले भन्नु भएको
उहाँ सानु हुँदा
सेतो बादल हुन्थ्यो रे नि
आकाशमा
हजुर सानु हुँदा पनि
आकाशमा सेतो
बादल थियो हो?
सेतो शान्तिको प्रतीक रे है?
हाम्रो आकाशमा
सेतो बादल छैन
के अब हामीलाई
शान्ति हुँदैन हो?
हाम्रो आकाशमा
कसरी सेतो
बादल लगाउने मामु?
छोरीले प्रश्नका
वर्षा वर्षाउँदै गइन्

छोरीका
यस्तै यस्तै
अनगिन्ती प्रश्नका चांङ्ले
मलाई नतमस्तक बनायो
म बोल्न सकिन
उत्तर पनि त थिएन
के दिने उत्तर?

फेरि मैले लगाएको
सेतो धोतीलाई
नियाल्दै अर्को प्रश्न गरिन्
मामु !
हजुरले हाम्रो
घरमा शान्ति होस् भनेर
सेतो नाना लागाउनु भएको हो?
आहा!
हाम्रो घरमा त
शान्ति छ है मामु!

मन भकानिएर आयो
मुटु फुटेर आयो
मानसपटलमा
उहाँ सँगका रमाइला
दृश्यहरूको
ओइरो लाग्यो
तर म
यो वास्तविकता
कसरी भन्न सक्छु र
मेरी गुडियालाई?

मलाई छोरीले
धेरै भावुक बनाइन्
र म बाध्य भएँ
उनका प्रश्नका
उत्तरहरू दिनलाई
क्रमश: भन्दै गएँ
नानु तिम्रो
स्कुलकी गुरुआमाले
सही भन्नु भएको हो
हो नानु!
म सानु छँदा
निलो आकाशमा
सेता बादलका
धब्बाहरू हुन्थे
टह टह
जून लाग्दा झन्
ताराहरूको बथानले
सेतो बादललाई
मोतीझैँ चम्काउँथ्यो

मेरी हजुर आमाको
पालामा त झन्
स्वर्गझैँ देखिन्थ्यो रे
निलो आकाश
सेतो बादलले!

म भन्दै गएँ
हो नानु! सेतो
शान्तिको प्रतीक हो
आजकल हाम्रो
आकाशलाई
शान्ति छैन नानु!
मानवजातिले नै
आकाशको
दिल दुखाएका छन्
हामीले हेर्दा
देखिनु पर्ने
त्यो निलो आकाशको
सेतो बादल!
यो कालो बादलभन्दा
धेरै माथि छ नानु!
यो त तिमी
र मजस्ता
व्यक्तिहरूले
यो धर्तीमा फैलाएको
प्रदुषणले
बनाएको कालो
धब्बा मात्र हो नानु!
यो कालो धब्बालाई नहटाई
निलो आकाशको
सेतो बादल देख्न सकिँदैन
यसका लागि हामीले
व्यवहार परिवर्तन गर्नु पर्छ
जथाभावी
प्रदुषण गर्नु हुन्न
क्रमश: यो कालो
बादल हट्दै जान्छ
र सेतो
बादल देखिन थाल्छ
अनि त
शान्ति भई हाल्छ नि
हाम्रो आकाशलाई

हो नानु!
मैले यो सेतो नाना
शान्ति होस् भनेरै
लगाएको हुँ
तर आकाशलाई होइन
यो त
तिम्रो बाबाको
आत्माको शान्तिको लागि

उनले फेरि सोधिन्
मामु! हाम्रो बाबा
आकाशमा हुनुहुन्छ
भन्नु भएको होइन र?

मन दह्रो पारेर
मैले भनेँ
हो नानु! हाम्रो देशको
शान्तिको लागि
बाबा आकाशमा जानु भएको
तिम्रा बाबाजस्तै
धेरै बाबा
र आमाहरू
सेतो बादल ल्याउनका लागि
आकाशमा जानु भएको छ
तर
बिडम्बना!
नानु!
तिमी
र मजस्ता
करोडौँ जनहरूले
कालो बादलले
धेरिएको धर्तीमा
अन्धकारको
जीवन जिउनु परेको छ
सीमित व्यक्तिहरूले
हालीमुहाली गरे

गरिरहेका छन्
तर तिम्रा बाबजस्ता
बाबा आमाहरूले
न्याय पाउन सकेका छैनन्
तिमी
र तिमीजस्ता
अनेकौँ नानु
र बाबुहरूले
कालो बादलले
मडारिएको आकाशमुनि
कुण्ठाले भरिएको
तनमन लिएर
जिउनु परेको छ
तर
फिकर नगर सानु!
हामी सबै मिलेर
त्यो कालो
बादलले भरिएको
आकाशमा
हजुरआमाको पालाको
निलो आकाश
सेतो बादलकोले
सूर्यका रश्मिमा
चाँदीझैँ
टल्काउनु पर्छ
जसले
शान्तिको
प्रत्याभूति गराउनेछ
यो सेतो नानाले
न्याय पाएको
अनुभूति गर्नेछ

आकाशमा हुनु भएका
अनगिन्ती
बाबा
र आमाहरूको मन
सेतो बादल देखेर
प्रफुलित हुनेछ।।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *