पछिल्ला पाँच वर्षका ठूला विमान दुर्घटना जसमा धेरैको ज्यान गयो, ३ ठूला दुर्घटना नेपालमा
काठमाडौं । पोखरा विमानस्थलनजिकै आइतबार भएको विमान दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यति एयरलाइन्सको विमान एटिआर–७२ विमान दुर्घटना भएको हो ।
यसअघि सन् २०२२ मा दुईवटा ठूला विमान दुर्घटना भएका थिए । गत वर्ष दुईवटा ठूला विमान दुर्घटना हेडलाइनमा थिए । यसमा पहिलो विमान दुर्घटना २१ मार्चमा भएको थियो।
उक्त विमान चीनको ‘इस्टर्न एयरलाइन्स’को बोइङ-७३७-८०० थियो। यो विमान गुआन्सीको पहाडसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो ।
दोस्रो घटना मे ३० मा भएको थियो । नेपालको मुस्ताङ क्षेत्रमा यो दुर्घटना भएको हो । जसमा तारा एयरको डीएच-६ विमान दुर्घटना हुँदा विमानमा सवार सबै २२ यात्रुको मृत्यु भएको थियो ।
सन् २०२१ मा जकार्तामा विमान दुर्घटना भएको थियो । यो घटनामा जनवरी ९ मा बोइङ-७३७ जाभाको समुन्द्रमा खसेको थियो । श्रीविजय एयरको यो विमान दुर्घटना हुनु केही मिनेटअघि जकार्ताबाट उडेको थियो । विमानमा १० बालबालिकासहित ६२ जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भयो ।
२०२० मा तीनवटा प्रमुख विमान दुर्घटना भए । पहिलो दुर्घटना जनवरी ८ मा भएको थियो । त्यसमा युक्रेनको इन्टरनेशनल एयरलाइन्सको पीएस–७५२ विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।
जहाजमा रहेका सबै १७६ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो । अमेरिका र इरानबीच तनाव उत्कर्षमा रहेको बेला यो घटना भएको हो । पछि इरान सरकारले ‘गल्तीले यो विमान खसालेको’ स्वीकार गरेको थियो ।
२०२० मा दोस्रो विमान दुर्घटना मे २२ मा पाकिस्तानको कराँचीमा भएको थियो। उक्त विमान पाकिस्तान एयरलाइन्सको एयरबस-ए-३२० थियो। विमानमा ९७ यात्रु र आठ जना चालक दलका सदस्य थिए । यो विमान दुर्घटना पाकिस्तानको इतिहासमा सबैभन्दा खराब दुर्घटना मानिन्छ। एयरबस-३२० कराँची एयरपोर्ट बाहिर आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
सन् २०२० को तेस्रो ठूलो दुर्घटना केरलाको कोझिकोडमा भएको थियो । अगस्ट ७ मा दुबईबाट आउँदै गरेको एयर इन्डियाको विमान अवतरणपछि धावनमार्ग बाहिर खसेको थियो । विमानमा १८६ जना सवार थिए । पाइलट र को-पाइलट सहित कुल २१ जनाको मृत्यु भएको थियो।
२०१९ मा, मार्च १० मा इथियोपियन एयरलाइन्सको विमान अदिस-अबाबाबाट उडेको छ मिनेट पछि दुर्घटनाग्रस्त भयो। विमानमा ३० देशका १५७ जना सवार थिए । दुर्घटनामा कोही बाँचेनन् ।
हालैका वर्षहरूमा, २०१८ मा सबैभन्दा धेरै विमान दुर्घटनाहरू रेकर्ड गरिएका छन्। पहिलो दुर्घटना फेब्रुअरी ११ मा भएको थियो, जब रुसी यात्रुवाहक विमान मस्को एयरपोर्टबाट उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भयो। दुर्घटनामा सबै ७१ यात्रुको मृत्यु भएको थियो ।
दोस्रो ठूलो दुर्घटना फेब्रुअरी १८ मा इरानमा भएको थियो । एसम्यान एयरलाइन्सको विमान ‘एटीआर टर्बो प्रोप’ तेहरान विमानस्थलबाट उडेको करिब एक घण्टापछि पहाडमा दुर्घटनाग्रस्त भएको थियो । यो यात्रु विमानमा सवार सबै ६६ जनाको मृत्यु भएको थियो ।
तेस्रो ठूलो दुर्घटना काठमाडौं विमानस्थलमा भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार मार्च १३ मा भएको युएस बंगला विमान दुर्घटनामा ७१ मध्ये ५० भन्दा बढी यात्रुको मृत्यु भएको थियो ।
त्यस वर्षकै सबैभन्दा ठूलो दुर्घटना अल्जेरियाको राजधानी अल्जियर्समा भएको थियो । अप्रिलमा भएको उक्त दुर्घटनामा विमानमा सवार सबै २५७ जनाको मृत्यु भएको थियो । यो सेनाको विमान थियो, जुन उडेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । विमानमा अधिकांश सैनिक र उनीहरुका परिवार सवार थिए ।
पाँचौं दुर्घटना मे १८ मा क्युबाको राजधानी हवानामा भएको थियो । जसमा हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि बोइङ ७३७ विमान दुर्घटना भएको थियो । दुर्घटनामा एक सयभन्दा बढीको मृत्यु भएको थियो भने एकजना गम्भीर घाइते भएका थिए ।
२०१८ मा एक विमान दुर्घटना अक्टोबर २९ मा पनि रिपोर्ट गरिएको थियो। जसमा लायन एयरको बोइङ विमान जाकार्ता विमानस्थलबाट उड्ने क्रममा जाभा समुन्द्रमा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १८९ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो ।







डिसी नेपाल







Facebook Comment