गृह मन्त्रालय स्वतः हाम्रो होः रास्वपा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ। पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बनेको बताएका हुन्।
आज बसेको बैठकको निर्णयबारे जानकारी दिँदै लामिछाने सभापतिमा फर्किएपछि पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको उनले बताए।
उनले भने, “पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ। परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो। वर्तमान सहयात्री दलमा आएको समस्या हैन। यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ।”
उनले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफलगर्ने बताए। “गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो। त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ”, उनले भने।
लामिछानेको सभापतित्वमा बसेको दोस्रो बैठकले प्रदेशअन्तर्गतको सङ्गठन विस्तारको कार्यतालिका पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा सङ्गठन विस्तारका काम माघ २१ गतेदेखि सञ्चालन गरिने उनले बताए।
आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कानूनबमोजिम पुनः नागरिकता प्राप्त गरेका थिए। उनले यसअघिको नागरिकताका आधारमा बनाएको राहदानीसमेत राहदानी विभागमा बुुझाएका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment