पुस्तक पढ्नुको आफ्नै मज्जा

कपिल लोहनी
४ चैत २०७९ ८:३९

काठमाडौँका करिव १ दर्जन ठूला तथा मझौला पुस्तक पसलहरू। विविध विषयका नयाँ, पुराना पुस्तकहरूले भरिभराउ। पुस्तक प्रेमीहरूका लागि साना स्वर्ग जस्ता ठाउँ। तर के गर्ने र! सबैजसा पुस्तक पसलहरू ग्राहक विनाका खाली खाली। पुस्तकालयहरूको त्यस्तै बेहाल छ।

एक त पहिलेको दाँजोमा पुस्तकालयहरू नै घटेका छन् भने भएकामा पनि निक्कै कम मानिस जाने गर्दछन्। यी पुस्तक पसल र पुस्तकालयहरूमा अझ पनि नियमित रूपमा पुगिरहने मानिसहरू भनेका अधिकतर पुराना पाठकहरू नै हुन्।

नयाँ पाठकहरूको संख्या निक्कै कम। तर यसको मतलब नयाँ पिँढीका युवाहरूमा अध्ययनको कुनै चासो नै नभएको भने होइन। शहरको विकराल जनसङ्ख्यामा त्यस्ता मुट्ठीभरका अध्ययनशील युवा पाठकहरू हराएका मात्र हुन्।

पुस्तक पसलमा त्यस्ता नयाँ पिँढीका गम्भीर र बाक्लो चस्मा लगाएर निक्कै कौतुहलका साथ पुस्तक छानिरहेका पाठक पनि नभेटिने होइनन्।

कुनै समयमा यानी हामीभन्दा पनि अघिल्लो पुस्ताको पालामा काठमाडौँमा भारतीय, चिनियाँ, बृटिश, रसियन, अमेरिकन पुस्तकालयहरू हुन्थे र खासगरी साँझको समयमा खचाखच भरिएका पनि हुन्थे।

हाम्रै युवावस्थामा समेत हामीले त्यस्ता पुस्तकालयका सदस्यता लिएकाले मन परेको पुस्तक घरमा ल्याएर समेत पढ्न पाउँथ्यौँ। त्यस्तै काठमाडौँ र नेपालका प्रमुख शहरहरूमा रहेका सार्वजनिक पुस्तकालयहरू र कलेज तथा अन्य कार्यालयका पुस्तकालयहरूमा पनि पाठकहरूको लर्को लाग्थ्यो।

काठमाडौँका राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, कलेजका पुस्तकालय र टोल टोलका पुस्तकालयमा पनि पाठकहरूको राम्रो उपस्थिति हुन्थ्यो।

त्यतिबेला हिजो आजको जस्तो मोवाइल, इन्टरनेट, युट्युव, नेटफ्लिक्स वा अन्य विद्युतीय ज्ञान तथा मनोरञ्जनका साधन र सामाजिक सञ्जालको कल्पना समेत गरिएको थिएन। पत्रपत्रिका, पुस्तक, रेडियो, सिनेमा र अलि पछि टेलिभिजन, सार्वजनिक पुस्तकालय, विभिन्न चाड र जात्रा आदि नै ज्ञानगुन र मनोरञ्जनका मुख्य साधन थिए।

तर पछि पछि पुस्तकालय संस्कृतिमा पनि बिस्तारै विकृति आउन थाल्यो। ठूला ठूला सार्वजनिक पुस्तकालयबाट पुस्तक सापट मागेर पढ्न घर लग्ने धेरै मानिसहरूले पुस्तक फिर्ता नबुझाउने जस्ता गैह्रजिम्मेवार कार्य गर्न थाले।

आजका नेपालका कैयन् हस्तीहरूले विद्यार्थीकालमा विश्वविद्यालय र सार्वजनिक पुस्तकालयबाट सापट लिएका पुस्तकहरू आजसम्म पनि पुस्तकालयहरूमा फिर्ता बुझाएका छैनन्।

त्यस्तै पुस्तक सापट मागेर पढ्ने निहुमा लग्नेहरूबाट सो पुस्तक फिर्ता पाउन पनि ठूलै संघर्ष गर्नु पर्दछ। मेरा पिताजीका २–३ सय अति दुर्लभ पुस्तकहरू उहाँका घनिष्ट साथीहरूले नै सापट लगेर फिर्ता नगरेपछि उहाँले सोको पीडा पछिसम्म पनि पोखिरहनु हुन्थ्यो। तर ती व्यक्तिहरूको नाम भने अहिले नलिउँ।

हिजो आज सार्वजनिक पुस्तकालयहरू पनि विभिन्न कारणवश बन्द हुन थालेका छन्। काठमाडौँमा अब माथि उल्लेखित विदेशी मुलुकद्वारा सञ्चालित पुस्तकालयहरूमा एकाध मात्र बाँकी होलान्।

त्यस्तै अन्य ठूला पुस्तकालय पनि भूकम्पका कारण बन्द अवस्थामा छन् भने तिनका घरहरू अझसम्म पनि ठडिन सकेका छैनन् र अमूल्य पुस्तकहरू हराउँदै वा ओसिँदै गएका छन्।

केही हदसम्म त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालय र नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भने हेर्न लायककै छन्। जगदम्बा पुस्तकालयमा नयाँ पुराना धेरै पुस्तकहरू सुरक्षित छन् तर त्यहाँ पुगेर पुस्तकालयको सेवा प्राप्त गर्न भने लामो औपचारिकता पूरा गर्नुपर्ने हुन्छ।

आजको विश्वमा इ-लाइब्रेरी र इ-बुकको पनि प्रचलन बढेको छ। तर भौतिक पुस्तक पढ्ने आदत परेकाहरूको प्यास त्यस्ता माध्यमहरूले अलिक मेट्न सक्दैनन् रहेछन्।

विद्युतीय सञ्चार माध्यमको विकास अझ बढी भएर ज्ञानगुनका कुरा हावामा सधैं रहिरहने र खोजेको बेला सहजै भेटिने ग्यारेण्टी नहोउञ्जेल र कम्प्युटर र नविनतम उपकरणहरूमा पहुँच र सबै उमेर समूहका मानिसहरू दक्ष नहोउञ्जेलसम्म भौतिक पुस्तकको ठाउँ यिनले लिन सक्लान जस्तो लाग्दैन।

विदेशमा कुनै नयाँ पुस्तक लोकप्रिय हुँदै गयो भने त्यस्तो पुस्तक मगाउन रत्न पुस्तक भण्डार, सन्देश गृह वा भारत जावत आवत गर्ने व्यवसायीहरू मार्पmत मगाउनु पर्दथ्यो कुनैबेला।

तर आज आएर नेपालका पुस्तक पसलहरूमा विश्वभरका अधिकांश पुस्तक पाइन्छन्। बेला बखतमा सरकारले पुस्तक आयातमा पनि अधिक कर लगाउनाले पुस्तकहरूको आपुर्तिमा समस्या आउने गर्दछ।

मेरा हजुरबुवा पं. दीपकेश्वर शर्मा लोहनीको न्ह्यौखास्थित घरमा दुई कोठा भरी पुस्तक र पत्रपत्रिका भरिभराउ थिए रे। उहाँ भारत र विदेशका कैयन् पत्रपत्रिकाको वार्षिक ग्राहक नै बन्नु भएकोले त्यस्ता पठन सामग्री उहाँको घरैमा आइपुग्दा रहेछन्।

सो पुस्तकालयको उपयोग मोतिराम भट्ट, जोग (योग) वीरसिंह कंसाकार, चक्रपाणि चालिसे, बाबुराम आचार्य, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, चित्तधर हृदय, रुद्रराज पाण्डे, गोपाल पाँडे असिम, बुद्धिप्रकाश पाण्डेय आदिले पनि नियमित रूपमा गर्दथे अरे।

पिता दीपकेश्वर र नाताले मामा पर्ने बुद्धिप्रकास पाण्डेय कै पे्ररणाले मेरा पिताजीले पनि घरमा एक पुस्तकालय कोठा नै बनाउनु भएको थियो, र सोको बचेखुचेको केही हिस्सा आज मेरो बिरासतमा टिकेर बसिरहेको छ।

पुस्तक एउटा यस्तो साथी हो कि, मानिस जति नै एक्लो भए पनि यदि उसले पुस्तक पढेर आनन्द लिने आदत बसाउन सक्यो भने उसलाई पुस्तकले कहिल्यै पनि एक्लो हुन दिँदैन। म आफैं नै यसको उदाहरण छु।

केही वर्षदेखि जागिरबाट अवकास, बढ्दो उमेर र अन्य कारणले गर्दा म पनि एक्लो हुँदै गएको छु। छोराछोरीहरू सँग नै बसे पनि उनिहरूको आफ्नो व्यवसाय हुन्छ, आफ्नो खालको विचारधारा हुन्छ, पुस्तैनी फासला हुन्छ, जसमा म दखल दिन चाहन्न।

रातिको खाना खाने बेलामा भने एकाध घण्टा हामी एक ठाउँमा भेला हुन्छौँ, दुखसुखका कुरा गर्छौँ, हँस्सी-ठट्टा गर्छौँ र सँगै बसेर खानाको आनन्द लिन्छौँ। उमेर ढल्किँदै गएपछि पहिले जस्तो साथीहरूसँगको बाक्लो भेटघाट पनि पातलिँदै जाँदो रहेछ। अनि एक्लो हुँदै गइने रहेछ। तर पनि म भने एक्लो छैन।

मैले पढ्ने प्रत्येक पुस्तकका लेखक, पात्र र परिस्थितिसँग मैले मितेरी लगाएको हुन्छु। मैले लेख्ने प्रत्येक शव्दसँग म कुरा गरिरहेको हुन्छु। हार्मोनियम, गिटार र मेरो आफ्नै श्वर तथा विभिन्न प्रकारका गायकका गायकीसँग मनमनै कुरा गरिरहन्छु। कहिले काहीँ अति नै पट्यार लाग्दा म पनि कफी पिउन कुदी हाल्छु।

स्वास्थ्यको भने केही बढी नै ख्याल राख्ने भएको छु। घटीमा दिनको २ घण्टा शारीरिक सुगठनमा बिताउनुका साथै खानपानमा पनि विशेष चनाखो हुन थालेको छु। अब प्राकृतिक रूपले पुरा आयु बाँचे पनि २०-२५ वर्ष भन्दा बढी यो शरीर अस्तित्वमा रहँदैन होला।

यो छोटो अवधिमा मैले मेरा विद्वान पिताजीका कृतिहरू प्रकाशन गरेर पाठकहरू माझ पुर्‍याउने ठूलो अभिभारा लिएको छु भने ढिलै भएपनि ज्ञानको विशाल कुण्डमा हाम फालेको मैले धेरै नै अध्ययन गर्न बाँकी छ र आफ्ना अनुभूतिहरू पनि पाठकहरू माझ पस्कनु छ।

हिजो आज हरेक महिनामा केही थान पुस्तक र पत्रपत्रिका खरिद गर्न र बेला बखत कफी पिउन बाहेक मलाई खल्तीमा धेरै रकम राखी राख्न पनि मन लाग्दैन।

अध्ययन, लेखनकार्य, संगीत र सकारात्मक सोचबाहेक मैले गर्ने अब केही छ जस्तो लाग्दैन। विभिन्न अवसरमा हुने पुस्तक प्रदर्शनी, देश–विदेश भ्रमण गर्दा त्यहाँ भएका पुस्तक पसलहरूमा पस्नु र एकाध चाख लाग्दा पुस्तक खरिद गर्नु मेरो शौख हो।

राजधानी र ठूला शहरहरूमा प्रत्येक हप्ताजसो कुनै न कुनै नयाँ पुस्तकको विमोचन भइरहेका समाचारहरू पढ्न पाइन्छ। विभिन्न आकर्षक नाममा खुलेका पुस्तक प्रकाशन सम्बन्धी संस्थाहरूको संख्या पनि वर्षेनी बढ्दो नै छ भने लेखनशैली राम्रो नभएका तर आफ्नो क्षेत्रमा दरो अनुभव बोकेका नयाँ लेखकहरूका लागि पुस्तक लेखनमा मद्दत पुर्‍याउने ज्यादै प्रतिभाशाली गोस्ट राइटर र डिजाइनर तथा आधुनिक प्रेसहरूको संख्या पनि दिनानुदिन बढ्दै नै गएको छ।

यसरी पुस्तकको उत्पादनमा आवश्यक सबै मरमसला अब स्वदेशमा नै उपलब्ध छन्। तर पनि पुस्तक खरिद गर्ने र पढ्ने पाठकहरूको संख्या अपेक्षित मात्रामा बढ्न सकेको छैन।

आधुनिकतासँगै नेपालमा पनि कफी संस्कृति भित्रिएको छ र यो ज्यादै लोकप्रिय पनि हुँदै गएको छ। कैयन् त्यस्ता कफी पसलहरूले एउटा कुनामा विभिन्न विषयका पुस्तक र पत्रपत्रिकाहरू सजाएर पाठकहरूलाई कफीको चुस्की र खाजाको मज्जासँगै शान्त वातावरणमा पढ्ने माहौल बनाइदिएका छन्।

त्यस्ता कफीशपमा बसेर त्यहाँका वा आफ्नै साथमा लगेका पुस्तक पढेर आनन्द लिने मानिसहरूको संख्या पनि दिनानुदिन बढ्दै छ। विशेषगरी काठमाडौँका ठमेल, जावलाखेल-झम्सीखेल, नक्साल, कालिकास्थान, बौद्ध आदि क्षेत्रमा यस्ता पुस्तकसहितका कफीशपको संख्या बढ्दो छ।

नेपालका सयौँ साहित्यकार तथा अन्य विधाका विज्ञहरू र केही राजनीतिज्ञ तथा विद्यार्थीहरूमा पनि कफीशपमा गएर पढ्ने आदत बस्दै गएको कुरा उनीहरूको त्यस्ता ठाउँहरूमा नियमित आवत-जावतबाट स्पष्ट हुन्छ।

काठमाडौँमा मात्र होइन, मुलुकका अन्य ठूला-साना शहरमा पनि कफी कल्चर र पुस्तक पढ्ने आदतले जरो गाड्दै गएको छ।

पोखराको नयाँ सडकमा बैङ्क नै बैङ्क भएको क्षेत्रमा खोलिएको हिमालयन रिडर्स कर्नरमा कफीको चुस्कीसँगै त्यहाँ भएका हजारौँ पुस्तकमध्येबाट छानेर पढ्ने र सानातिना भेटघाट र सभा गर्न त्यहाँ जाने मानिसहरूको संख्या पनि मैले ठूलै पाएँ। म पनि पोखरा जाँदा त्यहाँ पस्न र केही समय व्यतित गर्न नछुटाउने भएको छु।

नेपालमा घुम्न आउने पर्यटक तथा केही समय नेपालमा बसेका विदेशीहरूले छोडेर गएका पुराना पुस्तकहरू बिक्रीको लागि राखिने पसलहरू पनि यत्रतत्र खुलेका छन्। तर कोभिडको कारण कैयन् यस्ता पसलहरू बन्द पनि भएका छन्।

हामी नेपालीहरूको आयस्तर ज्यादै न्युन भएर पनि हुन सक्छ, पुस्तक खरिदले प्राथमिकता नपाएको एउटा कारण। सबै पुस्तक सस्ता पनि त कहाँ छन् र? तर गहिरिएर नै खोज गर्ने हो भने हाम्रो कमजोर क्रयशक्ति भन्दा पनि दोषी अधिकांश शिक्षित व्यक्तिहरू नै हुन् जसमा पढ्ने संस्कार कै कमी छ र उनका खाली समयका मनोरञ्जनका साधन अरु नै कुरा हुन्छन् जुन सस्ता पनि छैनन्।

एकाध दैनिक अखबार किनेर पढ्ने समेत हामीमध्ये धेरैको आदत छैन। घरमा अखबार नआए पनि कार्यालयमा आउने नियमित पत्रपत्रिका पढ्ने वा कार्यालयको पुस्तकालयमा खाली समय बिताउने व्यक्तिहरूको संख्या समेत न्युन नै छ।

यो संस्कारले पछिल्ला पुस्तामा पनि पढ्ने बानी न्युन हुँदै जान सक्छ। त्यसैले पनि केटाकेटीहरूलाई उनीहरूको स्तर अनुसारका सचित्र पुस्तकहरू किनेर पढ्ने बानी बसाउन सक्नु पर्दछ।

विद्युतीय सञ्चार माध्यमले ठूलो फड्को मारेकोले सबैको पहुँच सामाजिक सञ्जाल र विद्युतीय पत्रपत्रिकामा भएको भएता पनि ज्ञानगुनका कुरा भन्दा पनि राजनैतिक समाचार पढ्ने, साथीहरूसँग कुराकानी गर्ने, भिडियो गेम खेल्ने र फोटा तथा हाँस्य भिडियो र सिनेमा तथा गीत हेर्नेहरूको नै वाहुल्य हुने गरेको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्।

विद्युतीय सञ्चार माध्यमकै कारण हिजोआज निर्वाचनको वखत शहर फोहर हुने गरी पर्चा टाँस्ने र बाँड्ने काममा भने केही हदसम्म कमी आएकै हो।

पहिले जस्तो ज्ञानको निम्ति पुस्तकालय र विभिन्न सभा-सेमिनारमा धाउने दिन पनि सकिइसके। तर आकाशभरी छरिएर रहेका ज्ञानका सागरलाई हत्केलामा नै ल्याएर बुद्धि बढाउने काम पनि कतिले नै गरेका छन् र?

आज नेपालले शिक्षाको क्षेत्रमा ठूलै फड्को मारेको छ। मुलुकका कुना काप्चाबाट अध्ययनशील र विद्वत व्यक्तित्वहरूको उदय भएको छ। वर्षभर प्रकाशित हुने पुस्तकहरूमध्ये धेरै उत्कृष्ट पुस्तक मुलुकका विभिन्न स्थानमा बसोवास गर्ने लेखकहरूबाट लेखिएका नै पाइन्छन्।

तर पनि पुस्तक तथा ज्ञानवद्र्धक पत्रपत्रिकाको विक्री बढ्न नसक्नाले लेखक तथा यो क्षेत्रलाई आफ्नो मूल व्यवसाय बनाएर बसेका सबै सरोकारवालाहरूमा चरम निराशा बढेको छ।

पुस्तक तथा पत्रपत्रिकालाई प्रोत्साहन दिने कुरामा भक्तपुर नगरपालिकाको एउटा उदाहरण दिन उचित ठान्दछु । भक्तपुर नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र करिव ३ दर्जन पुस्तकालयहरूलाई नियमित रूपमा सहयोग पुर्‍याएर तिनको विकासमा विशेष योगदान गरिरहेको कुरा त्यहाँका मेयरसँग केही समय पहिले कुराकानी हुँदा थाहा पाइयो।

पत्रपत्रिकामा विज्ञापन छपाउन आग्रह गर्ने प्रकाशकहरूलाई सो नगरपालिकाले विज्ञापन नदिने तर सोको हाराहारीको रकम बराबरको पुस्तक र पत्रपत्रिकाहरू नियमित रूपमा खरिद गरि दिएर ती सबै पुस्तकालयहरूमा वितरण गर्ने नीति अवलम्बन गरेको पाइयो।

बचपनको समय पनि कत्ति रमाइलो र यादगार समय थियो। हाम्रो बचपनको समयमा पौषको दोश्रो हप्तादेखि माघ महिनासम्म मिनपचास भनेर जाडोयामको बिदा दिइन्थ्यो।

पौषमा कक्षा चढ्ने ठूलो परीक्षा सकिएपछि हामीलाई एकचोटी माघ महिनामा अभिभावकको साथमा परीक्षाफल र यसको विवरण (रिपोर्ट कार्ड)को लागि विद्यालयमा बोलाइन्थ्यो। सोही वखत नयाँ (माथिल्लो) कक्षाका पुस्तकहरूको लिस्ट पनि प्राप्त हुन्थ्यो।

सो लिस्ट अनुसारका पुस्तकहरू र कापी खरिद गर्न अभिभावकको साथमा जाँदा र नयाँ पुस्तकहरूमा जिल्ला हाल्दाको रमाइलो र फुर्ती नै अर्कै हुन्थ्यो। त्यस पछिका केही दिन नयाँ पाठ्य पुस्तकमा भएका कुराहरू सर्सर्ती हेरेर समय गुजाथ्यौँ हामी।

स्कूलमा साथिहरू बीच कमिक्स तथा बाल साहित्य र कथाका अन्य साना साना तथा सचित्र पुस्तकहरू साँटासाँट गर्दा पनि रमाइलो हुने गर्दथ्यो।

हामीले हेर्ने कमिक्सहरूमा वेताल, म्यान्ड्रेक, टार्जन, चम्पक, टिंकल, मोटु-पत्लु आदिका भारतीय इन्द्रजाल कमिक्स र अमर चित्र कथाका भारतवर्षका पौराणिक र ऐतिहासिक सचित्र वर्णन भएका कमिक्स मुख्य रूपमा पढिन्थ्यो।

इतिहासको वर्णन सचित्र रूपमा भएकाले तिनको अध्ययन पश्चात तिनमा भएका पात्र र घटनाको विवरण निक्कै पछिसम्म पनि हाम्रो मानसपटलमा ताजा रहन्थे भने भारतवर्षको इतिहास र संस्कृतिबारे पनि हामीलाई धेरै राम्रो ज्ञान भएको थियो।

त्यस्तै बेलातिर नेपालमा प्रकाशन हुने बाल साहित्यका पत्रिकाहरू जस्तै ‘बालक’ तथा दन्त्य कथा, नीति कथा, कविता, सरल हाँस्य व्यङ्ग्य र गोरखापत्रमा प्रकाशन हुने बाल साहित्य पनि हामी निक्कै ध्यानपुर्वक पढ्दथ्यौँ।

विभिन्न बिधामा विश्व रेकर्ड कायम भएको रोचक विवरण सहित विदेशी गिनिस बुक अफ वल्र्ड रेकर्डस् र भारतीय लिम्का बुक अफ वल्र्ड रेकर्डस् आदि पनि हामी हरेक वर्ष खरिद गरेर पढ्ने गर्दथ्यौँ।

अलिक माथिल्ला कक्षामा पुगेपछि विदेशी कमिक्सका पात्रहरू आर्ची, भेरोनिका, टिन टिन, आक्जा आदिका मोटा डाइजेस्ट कमिक्सहरू र अङ्ग्रेजी कथा र साहित्य पनि पढ्न थाल्यौँ हामीले।

विद्यालयका केही शिक्षकहरूले ज्यादै रोचक तवरले नेपाली, भारतीय, चिनीया, अरेवीयन तथा युरोप र अमेरिकाका कथाहरू सुनाउने गर्दथे। भुतका कथा त हाम्रो प्रमुख रुची भित्र नै पर्दथे।

युवावस्थामा वेभ, सन जस्ता युवा पत्रिका र पिताजीले नियमित खरिद गर्ने गरेका नेशनल जियोग्राफिक, रिडर्स डाइजेस्ट, टाइम, न्युजवीक, फार इस्टर्न इकोनमिक रिभ्यु, स्वतन्त्र विश्व, सोभियत भूमि, चाइना रिकन्सट्रक्ट्स, बेइजिङ रिभ्यु, धर्मयुग, दि इलस्ट्रेटेड विक्ली अफ इन्डिया, दिनमान, नेपाली तथा भारतीय दैनिक तथा साप्ताहिक पत्रिका आदि र मेरी दिदीले पढ्ने गरेका सरिता र मुक्ता पनि पढ्ने मौका मिल्दथ्यो।

साझा प्रकाशन, कौवा प्रकाशन, जगदम्बा प्रकाशन, प्रज्ञा प्रतिष्ठान प्रकाशन तथा नियमित ज्ञानगुनका कुरा, रूपरेखा, मधुपर्क, साप्ताहिक पत्रिकाहरू आदि पढेर पनि ज्ञान आर्जन गर्न धेरै सहयोग मिलेको थियो।

विश्वविद्यालय तहदेखि नै हामीले वल्र्ड डिभेलपमेन्ट रिपोर्ट, एमनेष्टी इन्टरनेशनलको रिपोर्ट, दि इकोनमिस्ट, इकोनोमिक टाइम्स आदि हेर्ने मौका पायौँ।

सन् १९९० को दशकदेखि त हामी साथीभाई मिलेर पत्रिका नै प्रकाशन गर्न शुरु गर्‍यौँ र पत्रकारितामा निक्कै वर्ष होमियौँ पनि। केही समय अघिदेखि पुस्तकहरू प्रकाशन गर्ने क्रममा विभिन्न क्षेत्रका विद्वत वर्गका घरमा गएर भलाकुसारी गर्ने अवसर मिलेको थियो।

नेपालमा एउटा कस्तो संस्कृतिको पनि विकास भएको छ भने अधिकांश विदेशमा पढ्न पठाएका छोरा–छोरी उतै स्थायी बसोवास गर्ने भएकाले यता घरमा बाबुआमा एक्ला हुन वाध्य हुँदा रहेछन्।

त्यस्तै आफ्नो जीवनकालमा अथाह ज्ञानका कुराहरू लेखेका त्यस्ता बाआमाका नेपालमा नै बस्ने अधिकांश सन्तानलाई समेत लेखपढमा त्यति चाख नहुने भएकोले उनका अप्रकाशित कृतिहरू उनको शेषपछि कवाडीको हात लाग्ने सम्भावना प्रवल भएको मैले पाएँ।

दुखको कुरा के छ भने नेपालमा जति नै साहित्यिक, साँस्कृतिक वा अन्य संस्था खुलेका भएपनि यस्ता बौद्धिक सम्पत्तिको सुरक्षा, सम्वद्र्धन र प्रकाशन गर्ने कुनै निकाय अझसम्म बनेको रहेनछ।

नेपालले शिक्षाको क्षेत्रमा जति नै फड्को मारेको भएता पनि पाठ्यपुस्तकमा भएको ज्ञानले मात्र मानिसमा बहुआयामिक व्यक्तित्वको विकास हुन नसक्ने भएकोले तथा विविध विषयको अध्ययनबाट मात्र आफ्ना अनुभूतिहरूलाई स्पष्टसँग व्यवहारमा ल्याउन मद्दत पुग्ने भएकोले विभिन्न विधाका पुस्तकहरूको अध्ययन गर्ने आदत बसाल्नु अति नै आवश्यक छ।

आफ्नो कूल वार्षिक आयको ८-१० प्रतिशत मात्र पुस्तक खरिदको लागि छुट्टाउन सके निक्कै ज्ञान आर्जन गर्न र घरका केटाकेटीमा पनि पुस्तक पढ्ने आदत बसाउन मद्दत पुग्ने थियो।

सरकारले पनि पुस्तक तथा पत्रपत्रिकामा अनावश्यक कर लगाएर पाठकहरूलाई हतोत्साही तुल्याउने कार्य कदापी गर्नु हुँदैन। आशा गरौँ आउँदा दिनमा मुलुकका कुना कुनामा सुविधाजनक पुस्तकालय खुल्नुका साथै पुस्तकहरूको उपलब्धता पनि बढ्ने छ र पुस्तक पढ्ने पाठकहरूको संख्या पनि बढ्ने छ भनेर।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *