वर्षान्तमा गरिने नयाँ वर्षको संकल्प

कपिल लोहनी
२५ चैत २०७९ ८:०४
352
Shares

प्रत्येक वर्षको अन्तमा आउँदो नयाँ वर्षमा यसो यसो गर्छु र यस्तो यस्तो गर्दिन भनेर गरिने एकप्रकारको वाचा वा संकल्पलाई शिष्ट भाषामा न्यूयर रिजोल्युसन भन्ने चलन छ। तर यस्तो संकल्पको अक्षरशः पालना चाहिँ त्यसपछिको एक महिनासम्म मात्र पनि भएको देखिँदैन।

यो एक प्रकारको फेसन मात्र बनेको छ विश्वभर नै। नयाँ साल शुरु हुनुभन्दा केही समय अघिदेखि मनमा एक प्रकारको उत्साह पलाएर आउनुका साथै नयाँ सालको अघिल्लो दिन र शुरु हुने दिन आयोजना गरिने भोज, वनभोज तथा एकापसमा शुभकामनाको आदानप्रदान हुँदा प्रफुल्लित मुद्रामा रहेको मानव मनले सकारात्मक सोच राखेर विभिन्न प्रकारका संकल्प गर्ने गर्दछ।

जाँड-रक्सी र चुरोट-तमाखु–खैनी नखाने, स्वस्थ रहने, धेरै पढ्ने, असल बन्ने, फजुल खर्च नगर्ने, पैसा सापटी नलिने, झैझगडा नगर्ने, एकापसमा सद्भाव र माया बाँड्ने, देश-विदेश घुम्ने आदि नयाँ वर्षका साझा संकल्पहरू हुन्।

तर यी मध्ये कुनै एउटा मात्र संकल्प पनि दिगो भएर बस्न सक्दैनन्, किनकी हामीलाई प्रकृतिले एउटा ठूलो गुण प्रदान गरेको छ। त्यो हो-कुनैपनि कुरा छिटै भुल्ने।

मेरो एकजना चुरोटे मित्रले मेरै अगाडि मात्र करिव एक दर्जन पटक नयाँ वर्षको दिन अब आइन्दा धुमपान नगर्ने भनेर पशुपतिनाथको मन्दिरमा अवस्थित आर्यघाटमा मलाईसमेत साक्षी राखेर चुरोटका बट्टा बागमतीमा सेलाएको छ। तर उसको संकल्प एक हप्ता पनि कहिल्यै टिकेको छैन।

आज ६० वर्ष पुग्न लाग्दा पनि उ धुवाँको मज्जा लिइ नै रहेको छ। अर्को साथीले फजुल खर्च नगर्ने र सापटी पनि नलिने र नदिने संकल्प गरेको पनि धेरै पटक भयो। तर न त उसको फजुल खर्ची आदत नै बदलिएको छ, न नै उसले सापट लिन छोडेको छ। हो, सापट भने उ कसैलाई दिँदैन, किनकी उ आफैं नै सँधै टाट अवस्थामा रहन्छ।

यसको मतलब यो चाहिँ होइन कि यसरी नयाँ वर्षको संकल्प गर्नु आफैंमा एक प्रकारको पागलपन वा हँस्सीको अवस्था होस्। मानिसले दृढ संकल्प गर्‍यो भने जे पनि दिगो रहन सक्दछ। तर त्यस्तो संकल्पमा व्यावहारिकता झल्कन पनि सक्नु पर्‍यो।

नयाँ वर्षको संकल्प तयार गर्नुभन्दा पहिले विगत र वर्तमानको लेखाजोखा गर्नु जरुरी हुन्छ। आफूले केही समय अघिदेखि हालसम्म गरेका राम्रा नराम्रा कार्यहरूवारे सर्सर्ती विवेचना गर्ने गर्नु पर्दछ। त्यस्तै हाल आफ्नो के के दैनिक आदतहरू छन्, तिनको पनि फेहरिस्त नै बनाउनु पर्दछ।

कति आदत राम्रा हुन्छन् भने कति नराम्रा पनि हुन्छन्। कति आदत आफूलाई राम्रा लागेता पनि तिनको कारण घरपरिवारलाई असहज महसुस भइरहेको हुनसक्छ। जस्तै परिवारसँग बसेर खाना खाने समयमा पनि एक्लै पढेर बस्ने, एक्लै घुम्न तथा किनमेलमा जाने, आफूमात्र विभिन्न मनोरञ्जनको आनन्द लिने आदि।

मानिसले आफ्ना दुख र सुखका क्षणहरूको पनि लेखाजोखा गर्नु जरुरी हुन्छ। हामीले के कुराको विचार गर्नु पर्छ भने, मानव जीवनमा यस्ता दुख र सुखका क्षणहरू आइरहन्छन् र जति नै दुख वा सुख आइपरे पनि तिनलाई निकै सहजतापूर्वक लिन सक्ने शक्तिको विकास गर्दै जानु पर्छ।

खासगरी दुखबाट पनि धेरै पाठ सिक्न सक्छ मानिसले। त्यसैले जस्तै दुखको बेलामा पनि सकारात्मक सोच जगाएर त्यसलाई सुख पाउने आधारको रूपमा लिन सक्यो भने अवश्य पनि मानिस सुखी हुँदै जान्छ। यही कुरा आफन्तहरूलाई पनि सिकाउन सक्नु पर्दछ।

त्यसैले नयाँ वर्षको संकल्पको रूपमा आउँदो वर्षमा जति नै दुख परे पनि सहेर अघि बढ्छु र सुखमा पनि मात्तिएर अरूलाई कल्पाउने वा आफू नै मच्चिने काम कदापि गर्दिन भनेर सोच्न सक्नु र संकल्पित हुनु राम्रो हुन्छ।

म आउँदो वर्षमा कुनै पनि कलह वा झैभगडामा सामेल हुन्न र त्यस्तो परिस्थिति आएमा त्यसलाई आफ्नोतर्फबाट मत्थर पार्ने सक्दो कोशिश गर्नेछु भनेर संकल्प गर्दा राम्रो होला।

धनी वा गरिव सबैले मृत्युवरण गर्नै पर्छ। मर्नेले सबैलाई र सबैथोक छोडेर जानै पर्छ र दुई गज जमीन मुनी गाडिइनु वा आगोमा जलेर भष्म हुनुको अरु विकल्प नै छैन। तर पनि बाँच्दाका आफ्ना राम्रा कामबाट पछिसम्म मिठो सम्झना र उदाहरणका लायक बन्न सके जीवन सार्थक हुने कुरालाई किन बिर्सन्छन् मानिसहरू।

हामीले द्रव्य वा धनसम्पत्ति नै सुखको साधन हो भन्ने कुरा मनमा रटेर बस्यौँ भने कहिल्यै पनि सुख पाउन सक्दैनौँ। किनकी आजसम्म संसारमा एकजना पनि यस्तो मानिस भेटिएको छैन जो धनी भएर खुशी र सुखी भएको होस्।

हो धनीले आफ्नो महलको नरम बिछौनामा सुत्ला, महँगा लुगा लगाउला, सुन, हिरा, जवाहरातले शरीर भर्ला, महँगा मोटरगाडी चढ्ला, सधैं भतेर गर्ला, मिठो खाला तर उसलाई त्यही पैसाले भित्र भित्र पोलिरहेको हुन्छ। आफूसँग भएको धन कसरी बचाएर राख्ने र अझ बढी धन कसरी कमाउने भन्ने ध्यानमा नै उसको सम्पूर्ण जीवन व्यतित भइरहेको हुन्छ।

संसारमा निकै कम धनी व्यक्ति यस्ता पनि हुन्छन् जसले आफ्नो धनको केही भाग विपन्न वर्गको उत्थानको निम्ति खर्चने गर्दछन्, सामाजिक कार्यमा खर्चने गर्दछन् र शिक्षा र स्वास्थ्य जस्तो अति महत्वपूर्ण क्षेत्रको विकासलाई आफ्नो तर्फबाट टेवा दिने प्रयत्न गर्दछन्।

अधिकांश धनी भनाउँदाहरू आफू र आफ्नो परिवारको सुखको निम्तिमात्र धन खर्च गर्छन्। मन्दिरमा आफू र आफ्ना परिवारका निम्ति पूजाआजा गरेर बर मागेपछि पुजा गरिदिने पुजारीको निम्ति एक छाक भोजनको निम्ति पुग्ने भेटी चढाउनसमेत कैयन् धनवानहरू कन्जुस्याईँ गर्दछन्।

त्यसैले ‘धन हुनेको मन हुँदैन र मन हुनेसँग धन हुँदैन’ भनिएको होला। तर यो उखान ‘मन हुने तर धन नहुने’ ले बनाएको हुन सक्ने भएकोले यदि उ पनि धनी भयो भने उसको मन कति ठूलो र फराकिलो होला, वा उसले पनि ‘धन हुनेको मन हुन्न’ भन्ने कुरालाई चरितार्थ गर्ने खालको नै भइजान्छ कि सो भन्नै सकिँदैन।

हामी दानी व्यक्तिको खुबै कदर गर्दछौँ तर दानमा पनि शिक्षा दान सबैभन्दा महत्वपूर्ण हुन्छ। कसैलाई शिक्षादान दिनु वा कसैको शिक्षाको खर्च व्यहोरिदिएर उसलाई शिक्षित हुन मद्दत गर्नु ज्यादै ठूलो पुण्यको काम हो।

शिक्षादान जो कोहीले पनि दिन सक्दछ। आफूसँग भएको अनुभव र वुद्धि बाँड्न धनी व्यक्ति नै हुनु पर्दैन। त्यस्तै आफ्नो आम्दानीको केही अङ्श विपन्न वर्गको शिक्षाको निम्ति खर्चने इच्छा राख्न पनि त्यति गाह्रो पर्दैन मानिसलाई। घाँटी हेरेर हाड निल्न सकिन्छ। यसरी शिक्षादानलाई पनि नयाँ वर्षको संकल्पमा सामेल गर्न सकिन्छ।

एक शुशिक्षित, इमान्दार तथा विवेकी व्यक्तिले आफ्नो सीमित आम्दानीबाट पनि सुखी जीवनयापन गर्न सक्दछ। आउँदो वर्ष म आफ्नो कमाइको ५ प्रतिशत रकम पुस्तक खरिदमा खर्च गर्छु, दिनहुँ केही समय अध्ययनमा बिताउँछु र बालबच्चालाई पढाउन दैनिक रूपमा समय छुट्टाउँछु, वर्षको एकाध पटक सपरिवार मुलुकभित्रकै कुनै रमणीय गन्तव्यमा गएर केही दिन बिताउँछु।

घरमा टेलिभिजन तथा वाइफाइ जोडेको छँदैछ, आफ्नो मुलुकका टिभी च्यानलहरूमा अधिकांश समय वाहियात राजनीतिक वहसमात्र आउने भएता पनि विभिन्न विदेशी च्यानलबाट ज्ञान आर्जन गर्दछु, इन्टरनेटको मद्दतले आफूले अध्ययन गर्न खोजेको विषयमा पारङ्गत हुने कोशिश गर्दछु, बालबच्चालाई पनि मोवाइल र कम्प्युटरको माध्यमबाट आकाशमा उडिरहेको विविध विषयको ज्ञानगुनका कुरा पढेर बुद्धि आर्जन गर्न र नचाहिँदा भिडियो गेमहरू र मनोरञ्जनमा समय खेर नफाल्ने सल्लाह दिन्छु। यस्ता व्यावहारिक कुरा आफ्नो नयाँ वर्षको संकल्पमा समावेस गरेर परिवारजनलाई पनि व्यावहारिक रूपमा संकल्प गर्न हौस्याउनु उचित हुन्छ।

जीवनमा आफूमात्र धनविनाको व्यक्ति, दुखी, कमजोर र अभागी भएको भ्रान्ति धेरैलाई हुने गर्दछ। तर त्यस्तो कुरा मनमा आउँदा आफूभन्दा पनि असक्षम, विपन्न, दुखी र कमजोर मानिस कति छन् भन्ने कुराको लेखाजोखा गर्नुपर्दछ।

यस्तो कुराको मापन साधारण तवरले नै गर्न सकिन्छ। साधारण तथ्याङ्क, टेलिभिजन तथा आफूले नै बाटोमा प्रत्यक्ष देखेका दृश्यहरूबाट नै आफूभन्दा पनि तल्लो तहमा भएका व्यक्तिहरू पनि कति धेरै संख्यामा छन् तर उनीहरूले पनि जीवनको मज्जा आफ्नै प्रकारले लिइरहेका छन् भन्ने कुरा बुझ्ने कोशिश गर्नु पर्दछ। योभन्दा पनि महत्वपूर्ण कुरा त धन भनेको के हो, द्रव्य मात्र धन हो कि ज्ञान र अनुभव तथा माया र मुस्कान पनि धन हो, त्यो बुझ्न सक्नु पर्दछ।

विश्व जनसंख्यामा धनी व्यक्ति कति नै हुन्छन् तथा अधिकांश धनी व्यक्तिले अकुत सम्पत्ति कसरी कमाएका हुन्छन् भन्ने कुरा पनि हामीले बुझ्नु जरुरी छ। नेपालकै उदाहरण लिए पनि पुग्छ।

नेपालको एकीकरणपश्चात वीरताका जग्गा र बेला बेलामा ठूलो बक्सिस पाएका भारदार, राणाशासनको समयमा राज्य र विरोधीहरूबाट लुटेर आर्जेको सम्पत्ति, प्रजातन्त्रपश्चात नयाँ गिरोहले राज्यको दोहन गरेर कमाएको धनसम्पत्ति, पञ्चायती व्यवस्थामा बनजङ्गल फाँडेर र चरम भ्रष्टाचार गरेर कमाएको सम्पत्ति, कर, भन्सार तथा मालपोतजस्ता राज्यले रकम उठाउने निकायमा बसेर आर्जेको अथाह सम्पत्ति, तस्करी र लुटपाटबाट कमाएको अकुत सम्पत्तिका मालिक नै आजका धनी व्यक्ति हुन्।

जेल, नेल र यातना भोगेका नेताहरूले नै राजकाजलाई कमाई खाने भाँडो बनाएर मुलुकलाई लुटेर रित्तो बनाई कमाएको सम्पत्तिले गर्दा एउटा नयाँ वर्ग ज्यादै नै धनी भएका छन् आज।

हिजोसम्म काँधमा एउटा झोला भिरेर चप्पल पड्काउँदै हिँड्ने ख्याउटे नेता र पत्रकार वर्ग आज मुलुकका नवधनाढ्य र संभ्रान्तको तप्कामा पुगेका छन्। सबैका अस्पताल, कलेज र अन्य व्यवसाय, दर्जनौँ मल, घडेरी तथा जिल्लै पिच्छे घर-घडेरी, विदेशी र स्वदेशी बैङ्कमा मनग्य रकम, गाडी, महँगा कपडा, जुत्ता तथा गरगहना छन्।

तर शिक्षा र सुसंस्कारको अभावले गर्दा तिनका मुखबाट निस्कने बोलीमा उही पाखण्ड र मुण्ड बुद्धिका कुरा झल्कन्छन्। यिनमा अलिकति पनि बुद्धि, विवेक, ज्ञान, त्याग, दृढता र मातृभूमिको माया भएको भए यिनकै प्रयासले आज मुलुक कति माथि उठिसक्ने थियो र यिनको नाम पनि इतिहासमा स्वर्ण अक्षरले लेखिने थियो, गौतम वुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको जस्तै गरी।

न्याय जस्तो पवित्र क्षेत्रमा काम गर्ने वकिल र न्यायाधीश समेत अन्याय र भ्रष्टाचारलाई आत्मसात गरेर अथाह सम्पत्ति बनाउन व्यस्त भएको देखिन्छ। यस्ता भ्रष्ट न्यायाधीश र वकिलहरूबाट निरिह जनताले न्याय पाउलान् भनेर सोच्नु नै हाँस्यास्पद कुरा भइसक्यो। पैसा विना त कुनै पनि कार्यालयमा त्यो निर्जिव फाइलसमेत टसमा मस गर्दैन।

अर्कोतर्फ अति इमान्दार, मेहनती र शिक्षित भएर पनि रोजगारीसमेत नपाएका, अभावमा चुर्लुम्म डुबेका किम्कर्तव्यविमुढ निरिह जनता टोलाएर मुकदर्शक बन्न वाध्य छन्।

तर पनि अभाव र गरिवीको चपेटामा पर्दा पनि अधिकांश निरिह नेपालीको मुहारमा खुशियाली नै छाएको हुन्छ र मुहार हँसिलो नै रहन्छ। किनकी हामी सोझा र सन्तोषी जाती हौँ, सहनशील छौँ, क्षमा दिन्छौँ, सकारात्मक सोच राख्छौँ र जस्तै पिरमर्कामा पनि हाँस्न सक्छौँ। त्यसैले नयाँ सालको संकल्प गर्ने बेलामा जस्तै परिस्थितिमा पनि हाँस्न पाउँ, मुलुक र जनतालाई ठगेर, छल र कपटपूर्ण तवरले कहिल्यै धनी हुन नपरोस्, सकेसम्म मातृभूमिको सेवामा लागिरहन पाउँ, आफूसँग जे छ, त्यसैमा सन्तोष गरेर सुखको अनुभूति लिन सकौँ र आफ्ना सन्तानले पनि यस्तै संस्कार सिकेर अघि बढुन् भनेर सोच्नु जरुरी छ।

बेइमानी र भ्रष्टआचरणबाट आर्जन गरेको सम्पत्तिबाट कहिले पनि शान्ति मिल्दैन। त्यस्तो धनले मानिसलाई कुनै न कुनै तवरले पिरिरहेको हुन्छ। तर आफूसँग जे छ, त्यसैमा सन्तोष गरेर रमाउँदा नै मानिसलाई बढी सुख शान्ति मिल्न सक्दछ।

नयाँ नयाँ विषयको अध्ययन गर्ने बानीले नै मानिसलाई माझ्दै लग्छ र जीवनमा शान्ति प्राप्त गर्न समेत मद्दत गर्दछ। धन हुँदैमा बौद्धिक व्यक्तित्व हुन सकिँदैन। बौद्धिक व्यक्तित्वको बुद्धिरूपी धन न त मासिएर जान्छ, न नै कसैले चोर्न सक्छ।

धन भन्नाले नोट, सुनचाँदी, गरगहना र जग्गाजमीन मात्र हो भन्ने भ्रान्तिलाई पनि हामीले तोड्दै जानु पर्दछ। किनकी माथि उल्लेख भएजस्तै वास्तविक धन त हामीले पढेर र परेर आर्जन गरेको ज्ञान पो त हो।

भौतिक धन मासिन कुनै बेर लाग्दैन तर मानिसले मनभित्र आर्जन गरेको ज्ञानरूपी धन ज्यान रहेसम्म कहिल्यै मासिँदैन र यदि त्यस्तो धनलाई कागजमा उतारिएको छ भने त्यसले पुस्तकको रूपमा धेरै समयसम्म रहने मौका पाउँछ र त्यस्तो ज्ञानको अध्ययनबाट धेरै मानव मष्तिस्कले धनी हुने मौका पाउँछन्।

धनी वा गरिव सबैले मृत्युवरण गर्नै पर्छ। मर्नेले सबैलाई र सबैथोक छोडेर जानै पर्छ र दुई गज जमीन मुनी गाडिइनु वा आगोमा जलेर भष्म हुनुको अरु विकल्प नै छैन।

तर पनि बाँच्दाका आफ्ना राम्रा कामबाट पछिसम्म मिठो सम्झना र उदाहरणका लायक बन्न सके जीवन सार्थक हुने कुरालाई किन बिर्सन्छन् मानिसहरू। सायद धनको नसा रक्सी वा अन्य लागुको भन्दा बढी नै कडा हुने भएकोले होला।

विश्वका अधिकांश मानवको जिउनुको एउटै मात्र उद्देश्य हो सुखी र खुशी रहनु र शान्ति पाउनु। सुखी र खुशी रहन सबैले आआफ्ना सौख र तवर मुताविक कोशिश गरिरहेका हुन्छन्। सुख र खुशीको निम्ति धन कमाउनु पनि आवश्यक छ, तर त्यसैमा आसक्त भएर बस्नु भनेको चाहिँ अझ बढी दुखलाई निम्त्याउनु हो।

हाम्रो जीवनकालमा हामी बालकबाट शुरु भएर वयस्क, गृहस्थ, अर्धवैंशे, वृद्ध र वयोवृद्धसमेत हुन्छौँ। यी सबै चरणमा हामीले सोच्ने स्तर फरक फरक हुन्छ। यानी यस्ता हरेक चरणलाई हामीले विभिन्न जुनीको रूपमा पनि लिन सक्दछौँ।

सानैदेखि अध्ययन गर्ने बानी बसाल्दा मनुष्यले विभिन्न चरण पार गर्दै जाँदा आर्जन गर्ने अनुभवसमेत ज्ञानमा मिसिँदा मानिस झन्झन् माझिँदै जान्छ। वास्तवमा ज्ञान प्राप्तिको कुनै अन्त नै हुँदैन। वयोवृद्धावस्थामा पनि मानिसले ज्ञान आर्जन गरिनै रहेको हुन्छ।

यो नै मानव जीवनको सबैभन्दा आनन्द र सुखको अवस्था हो। आफूले आर्जेका सबै ज्ञान अरुलाई बाँड्न सकिँदो रहेछ तर अन्त्यमा प्राण त्याग गर्दाको अनुभव भने आफैंसँग विलिन हुँदो रहेछ। यो एउटा अनुभव सबै मानवजातिले जीवनको अन्तमा आफैं गर्नुपर्ने र आफूसँगै लिएर जानुपर्ने रहेछ।

मुलुक झन् झन् जर्जर हुँदै गएको स्थिति छ आज। हामी आफू मात्र सुखी र समृद्ध भएर पनि केही काम नलाग्ने भइसक्यो। त्यसैले आफूजस्तै मन मिल्ने साथीहरू मिलेर मुलुकको खुसहाली र पर्यावरण संरक्षणको लागि केही गर्न सकिन्छ वा बेला बेलामा सचेतना कार्यक्रम मात्र भएपनि आयोजना गर्न सकिन्छ भने त्यो पनि एक प्रकारले ठूलै योगदान हुन जान्छ मुलुकको लागि। त्यसैले यो र यस्तै सम्भावित कुराको फेहरिस्त बनाएर पनि सामूहिक संकल्प गर्न सकिन्छ नयाँ वर्षमा।

नयाँ वर्षको संकल्प गर्ने बेलामा आफूले पूरा गर्न सक्ने जस्ता कुरामा मात्र बढी जोड दिनु पर्दछ। किनकी पूरा नहुने अथाह चाहनाहरूलाई सार्थकतामा पुर्‍याउन सकिएन भने तिनै संकल्पले जीवन अधुरो र दुखी बनाउँछन् अनि मन कहिल्यै शान्त रहँदैन।

त्यसैले पनि शान्तिको खोजी गर्ने व्यक्तिले धेरै चाहना राख्नु भन्दा पनि सबै खाले वाधा र व्यवधानहरूबाट स्वतन्त्र हुने कोशिशमा लाग्नु पर्दछ। वश परिवारमा खुशी छाओस्, सबैको स्वास्थ्य राम्रो रहोस् र आआफ्ना काम राम्ररी गर्ने वातावरण मिलोस्।

अन्त्यमा आफ्नै पिता स्व. गोविन्दप्रसाद लोहनीको विशेष विचार र वाणीबाट यो लेखलाई बिट मार्ने र पाठकवर्गलाई नयाँ वर्षको शुभकामनाका साथै आउँदो वर्ष पनि नियमित रूपमा विभिन्न विषयका लेख पस्कने संकल्प गर्दछु।

उहाँ भन्नुहुन्थ्यो- ‘कुनै क्षेत्रमा पनि कुनै पनि प्रकारको भ्रष्ट आचरण गर्न हुँदैन। धन आर्जन गर्न मात्र आसक्त हुनु हुँदैन। धनका प्रति भएको अति आसक्तिले मानिसलाई भ्रष्ट बनाउँछ। प्रलोभन र दबावमा कहिल्यै पर्नु हुँदैन। जीवन निर्वाहका लागि आधुनिक र अति आवश्यक सुविधाहरू प्राप्त भइरहने अवस्थाका लागि ज्यादा धन चाहिन्न। अनैतिक काम गरेर वा त्यसमा मतियार भएर वास्तवमा शान्ति हुँदैन। भडकदार जीवनले सन्तोष र सुख पाइने होइन। आत्मसम्यमबाट तल झर्नु हुँदैन। धनी नभए पनि बौद्धिक प्रतिभा भएको व्यक्तिको राम्रै जीवन निर्वाह हुन्छ। ज्यादा उच्च जीवनस्तरमा बस्ने लोभलालचले अनैतिक कार्यबाट पैसा कमाउन प्रवृत्त गर्छ।यस्ता काममा सरिक भएमा वा मतियार भएमा मनमा शान्ति हुँदैन, लज्जाबोध भएर अन्तस्करणमा आत्माभिमान रहन्न, ग्लानि भइरहन्छ। सबै क्षेत्र र उमेरका मानिसहरूको र विद्वानहरूको सङ्गत गर्नुपर्छ। आज नेपालका राजनेता, सांसद, बुद्धिजीवी, प्रशासक, योजनाकार, पत्रकार आदि यही धन र पदको आसक्तिमा लागिरहेकाले यो देश बरबाद भइरहेको छ र शायद अझै बीस-पच्चीस वर्षसम्म पनि यस्तै नै बाटोमा लाग्ने लक्षण प्रबल छ। उच्च–उच्च पदहरूमा २०१३ सालदेखि बसेर पनि आफूलाई कसैले ‘दाग लागेको मान्छे’ भन्न-लेख्न नसकेकोमा गौरव महसुस हुन्छ। निर्वाह भएकै छ। हुँदो रहेछ।’

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *