आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन होः कार्यवाहक राष्ट्रपति यादव
काठमाडौं। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन रहेको बताएका छन् ।
आयुर्वेदा मेडिकल डेभलोपमेन्ट एण्ड रिसर्च फाउण्डेशनले काठमाडौँस्थित नाचघरमा आज आयोजित कार्यक्रममा उहाँले संस्कृति र दैनिकीसँग जोडिएको आयुर्वेद सबै चिकिस्ता विज्ञानको जननी रहेको बताए ।
“विश्वका करिब ८० प्रतिशत मानिसले परम्परागत वा वैकल्पिक चिकिस्ता प्रयोग गरिरहेका छन् । हाल आयुर्वेद अनुसन्धान, अध्ययन र अभ्याससँगै माग पनि बढिरहेको छ । यद्यपि स्वदेशमा आयुर्वेद क्षेत्रको विकास अपेक्षाकृत नभएको होकी भन्ने लाग्छ । तर युवाको सहभागिता देख्दा भविष्यप्रति आशावादी छु”, उनले भने, “आयुर्वेदमा भनिएको जस्तो हाम्रो दैनिकी भएमा यसले स्वास्थ्य बनाउनुका साथै दीर्घ जीवनसमेत दिन्छ । यसलाई हामीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउन सक्नुपर्छ ।”
उनले आधुनिक चिकिस्ता महँगो र सबैको पहँुचमा नरहेको हुँदा रोग रोकथामको लागि आयुर्वेदमा उल्लेखित स्वास्थ्य जीवनशैलीका कुरालाई समुदायस्तरमा लैजान आग्रह गरे।
कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले आयुर्वेदमा कार्यरत चिकित्सकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
“नेपालमा विदेशी पर्यटक नै योग, आयुर्वेद र ध्यानको लागि आउने गरेको उदाहरण पनि छन् । त्यसैले हामीले यस क्षेत्रलाई प्रवद्र्धनमा अझै जोड दिनुपर्छ । यसको अध्ययन नै अन्य विद्या झै प्राथमिकतामा पार्नुपर्छ”, महानगर प्रमुख शाहले भने।
फाउण्डेशनका अध्यक्ष डा विजेन्द्र शाहले आउँदो विविध कार्यक्रम गर्ने बताए । “हामीले आयुर्वेदामा जीवन समर्पण गर्नेलाई प्रोत्साहन मिलोस् भनेर यो कार्यक्रमको आयोजना गरेका हौँ । यो सम्मान काफी नहुन सक्छ तर सुरूआत हो । अन्य विविध क्षेत्रको अवार्ड भइरहदा सुरूवात गरेका हौँ”, अध्यक्ष डाक्टर शाहले भने ।
कार्यक्रममा विभिन्न चिकित्सकलाई सम्मान गर्नुका साथै नृत्य, शास्त्रीय सङ्गीत लगायत प्रस्तुती प्रस्तुत गरिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment