कविता

म हुनुको साँचाे अर्थ तिमी

शुष्मा दाहाल
६ साउन २०८० ७:०९
728
Shares

तिमीसँग छुट्टिनु भनेको
म आफैसँग अलग हुनुरहेछ…
हराउनु रहेछ…
गन्तव्यहीन झैं निस्सार,
निस्सार उड्नु रहेछ
निर्जन आकासमा
कुनै उन्मुक्तिकाे उल्लास बिना नै
बेग मार्दै उडेको काकाकुल जस्तै ….
च्यातिनु रहेछ धक्क धक्क धड्किरहेकाे मुटु
बिचबाटै धाँजा फाट्नु रहेछ ।

यदि हाेइन भने ,
तिमीसँग छुट्टिएपछि
किन बिहान सदा झै ब्यूटिफूल मर्निङ
बनेर आएन!?
दिन किन शुभ दिन बनेर आएन!?
साँझ किन सुन्दर गाेंधुलीकाे
यादगार समय बनेर आएन!?
रात किन सदा झैं आनन्द ,
निन्द्रा र सपना लिएर आएन!?
मेरो भान्छाघरबाट देखिने त्याे पारिकाे क्षितिज
किन सधै झै लालम्य बनेर खुलेन!?
मेरो शिरमाथिकाे आकाशले किन
वायुपङ्खी बुट्टा भरेन!?
किन रिमझिम असारे झरीकाे लयमा
गाएनन् किरकिटी र झ्याउँकिरीहरु!?
किन फर्रर रङ्गीन पङ्ख फिजाएर
नाचेन मयुर,रानीवनमा!?
किन बाेलेन काेइलीले कुहुकुहु आवाज!?
किन तप्किएन कर्कलाकाे पातमा
माेति झैं टलपल टलपल शीतकाे थाेपा!?
किन अडिएन मेराे मन
तिमीसँग थकाइ मारेको चौतारीमा!?।

तिमी साथ हुँदाकाे समय भन्दा किन बेग्लाे
अनि फरक अनुभुतिकाे महसुस भयाे मलाई ??।

भन प्रिये के तिमी म थियौ!?
म हुनुकाे आभाष थियौ!?
मैले टेकेकाे जमिन र देखेको
आकास थियौ!?
यदि याे प्रश्न निरुत्तरित रह्याे भने….
हराएको म भेट्टाउन फेरि तिमीलाई
खाेज्नुपर्नेछ,हराउनुपर्नेछ म फेरि
आफैंबाट धेरै टाढा जहाँबाट फर्किने कुनै
निश्चितता रहन्न,
यदि यसाे हाेइन भने
फेरि समयले उत्सर्गित बनेर
तिमीलाई मसँग मिलाउनु पर्नेछ!
नत्र म अस्तित्व र इतिहास दुबैबाट मेटिनेछु।

त्यसैले त प्रिये मेरा हर प्रश्नहरुकाे सहज र
सटीक जवाफ बनेर मेरो सामु
टुप्लुक्क झुल्किदेऊ है
जसरी औंशीकाे अँध्याराे चिर्न
जून झुल्किन्छ….
सुन्दर दिनको आभाष दिन घाम झुल्किन्छ।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *