कविता : गणतन्त्रको हड्डी
गणतन्त्रका हरिया फाँटमा आहा,
कल्पवृक्ष लवालव!
कामधेनु उग्राउलिन्, दूधका नदी कल्कल!
नाचौंला गणतन्त्रको नन्दनवनमा,
लिइ सोमरसका प्याला!
दुख, शोक र भोक अतित होलान्
सबका मुख उज्याला!
भनी चोक्टा खान गयौ पुलकिँदै,
झोलमा डुबी मर्याै!
तावाबाट त उम्कियौ नि बरा
भुङ्ग्रोमा डढी मर्याै!
गणतन्त्रको हड्डी अड्कियो घाँटीमा हो कि?
निल्नु न थुक्नु भयो।
कसको मन्त्र भाँडतन्त्र घाँटीमा
तातो पिंडालु भयो?
नाच्यौ छमछम बेहोसिमै, बजे जसै
दूरदेशका तबला
आफ्नाे भान्छा थुकेर गाड्यौ थुतुनो,
दिल्लीका लड्डु अहा!
नसा उत्रियो? आँखा खोली हेर त
चिन्छौ के आफूलाई?
थोरै जे थियो सम्झिँदै अहिले
पछुताउँछौ कि नाइँ?
रुन्छौ कि एकान्तमा तिमी कतै
असहाय अबला भइ?
गणतन्त्रको हड्डी अड्कियो घाँटीमा हो कि?
निल्नु न थुक्नु भयो।
कसको मन्त्र भाँडतन्त्र घाँटीमा
तातो पिंडालु भयो?
क्रान्तिकारी भनी भनी
भ्रान्तिकारी भयौ आखिर।
आफ्नै गौरवको गजुर ढाल्यौ
पराइका खातिर।
कुसुलेका पुतली भयौ, भयौ मदारीका बाँदर
भत्कायौ घरको जग,
लिइ भाँडतन्त्रको डोजर।
गणतन्त्रको हड्डी अड्कियो घाँटीमा हो कि?
निल्नु न थुक्नु भयो।
कसको मन्त्र भाँडतन्त्र घाँटीमा
तातो पिंडालु भयो?
हान्यौ झम्पल धारा, पाटी र चौतारीमा
खण्डहरमा रमायौ।
झोसी आगो धुरीमा, मादल ठोक्तै
पराइका गीत गायौ।
गुमाइ स्वभाव र स्वाभिमान कठै!
परभावमा बहकियौ।
अहिले फर्केर हेर्दा, धोबीको कुत्ता
यता न उता भयौ।
गणतन्त्रको हड्डी अड्कियो घाँटीमा हो कि?
निल्नु न थुक्नु भयो
कसको मन्त्र भाँडतन्त्र घाँटीमा
तातो पिंडालु भयो?
अलिकता दया र धर्म त थियो तिनमा हिजो
जसलाई सामन्ती भन्यौ।
तिम्रो भित्रि बस्त्र समेत थुते नि यिनले अाज
जसलाई क्रान्तिका नायक मान्यौ।
खुबै चोक्टा खान गयौ पुलकिँदै
झोलमा डुबी मर्याै।
तावाबाट त उम्कियौ नि बरा
भुङ्ग्रोमा डढी मर्याै।
गणतन्त्रको हड्डी अड्कियो घाँटीमा हो कि?
निल्नु न थुक्नु भयो।
कसको मन्त्र भाँडतन्त्र घाँटीमा तातो पिंडालु भयो?
No ads found for this position


Facebook Comment