अध्यात्म

केदारनाथको शिर पशुपति कसरी ? 

हरिप्रसाद सोडारी
२३ साउन २०८० ७:०९
1.3k
Shares

इतिहास भुल्दै, संस्कृति बिर्सदै, कलालाई मेटाउँदै, संस्कारलाई हटाउँदै, तीर्थस्थललाई बदल्दै आफ्नै पहिचानभन्दा टाढा पुगेका छौँ। घरको संस्कार, राष्ट्रको शिक्षा, समाजको मनोविज्ञान, प्रविधिको दुरुपयोग र विदेशी प्रभावले धर्मलाई धरापमा पारेको छ।

धर्म, माटो र अभिभावक धरापमा पर्नु अवश्य शुभ संकेत होइन। हाम्रो इतिहास, धर्म, संस्कृति, तीर्थस्थल आदिलाई अर्कैले भनिदिनुपर्ने, लेखिदिनुपर्ने, देखाइदिनुपर्ने, बुझाइदिनुपर्ने, सम्झाइदिनुपर्ने भयो।

पुर्खाहरुले नेपाललाई पृथ्वीको मुटु, यहाँका तीर्थस्थललाई ईश्वरको बासस्थान, जमिनलाई शारीरिक र मानसिक रोगको उपचारकेन्द्र बनाए। ब्रह्माजीले हाम्रा पुर्खालाई ज्ञानका जन्मदाता, हामीलाई ईश्वरपुत्र, नदीलाई पञ्चामृत, हिमाल र पहाडलाई मूर्तिका रुपमा सृष्टि गरे।

ईश्वर र प्रकृतिले दिएका उपहारलाई पहिचान, परिचालन र प्रयोग गर्न सकेनौँ। वैदिक सम्पत्ति, आर्य सभ्यता र सनातन सम्पदामाथि हामीले नै बन्चरो चलायौँ। यही क्रममा नेपालका तीर्थस्थल भुलेर कोही छिमेकतिर दौडिएका छौँ, कोही भ्याटिकनतर्फ।

केदारको शिर पशुपतिलाई नभनी डोलेश्वरलाई भन्न थालेका छौँ। केदारनाथको शिर पशुपति भएको पुष्टी गर्ने प्रशस्त शास्त्रीय र दार्शनिक प्रमाणहरू छन्।

-शिवपुराणले केदारको शिर पशुपति भएको प्रष्ट बताउँछ ।

-पशुपतिको चर्चा वेद र पुराणहरूमा छ तर डोलेश्वरको वर्णन हिमवत्खण्डभन्दा पुराना ग्रन्थहरूमा भेटिँदैन। डोलेश्वरको उत्पत्ति केदारनाथ र पशुपतिको भन्दा धेरैपछि भएकाले कसरी शिर हुन सक्छ?

-आर्यावर्तकै प्राचीन र सर्वोत्कृष्ट तीर्थस्थल पशुपति भएकाले केदारको शिर अन्य मूर्ति वा देवस्थल हुनै सक्दैन।

-केदारनाथ ज्योतिर्लिंग हो। ज्योर्तिलिंगको शिर महाज्योतिर्लिंग अर्थात् पशुपति हुनुपर्छ। किन कि डोलेश्वर महाज्योर्तिलिंग होइन।

-सबै देवीदेवता र तीर्थस्थलका पति एवं नाथ केवल पशुपतिमात्र हुन्। जस्तै केदारनाथ, सोमनाथ केवल नाथमात्र हुन्। पशुपति यसकारण केदारका शिर भए।

-डोलेश्वर ६४ शिवलिंगमध्ये एक हुन् तर पशुपति विश्वकै नाथ, पिता, आधार एवं शिर हुन्।

-सबै ज्योर्तिलिंगको दर्शनपछि महाज्योतिर्लिङ्ग पशुपतिको दर्शन गर्ने वैदिक प्रचलन भएकाले केदारनाथको शिर डोलेश्वर हुनै सक्दैन।

-पशुपति, मुक्तिनाथ, वराहक्षेत्र, देवघाट, लुम्बिनी आदिको जस्तो चर्चा डोलेश्वरको भेटिँदैन। यसकारण केदारेश्वरको शिर पशुपति भएको प्रमाणित हुन्छ।

-केदारनाथ क्रियाप्रधान, पशुपति ज्ञानप्रधान तीर्थस्थल हुन्। डोलेश्वर के प्रधान हो अनुसन्धानकै विषय छ।

-पाशुपात धाम होइन क्षेत्र (ठूलो धाम) हो। केदारनाथ भारतका चार धाममध्ये एक हो। धामको शिर क्षेत्र हुन सक्छन् तर क्षेत्रको शिरोभाग धाम हुँदैन। यसकारण केदारको शिर अवश्य पशुपति हुनुपर्छ।

– वेद र तन्त्रको सार पशुपति हो तर डोलेश्वर के हो शास्त्रमा चर्चा छैन।

– विभिन्न प्रयोजनले पशुपतिको दर्शन गर्न राम, कृष्ण, अर्जुन आदि आएको चर्चा छ तर डोलेश्वर गएको सूचना छैन। यसकारण पशुपति नै केदारनाथको शिर हो।

वैदिक शास्त्रले तीर्थाटन र देवदर्शन गर्दा भूगोल, सभ्यता, संस्कृति, जीवन बुझ्न एवं फराकिलो सोच निर्माण गर्न मद्दत पुग्ने बताउँछ। यसका आफ्नै समय, नियम र पद्धति हुन्छन्।

आर्यावर्तका शिवलिंगमध्ये नेपालभूमिका शिवलिंगको बनोट, पूजाविधि र ऊर्जा अद्भूत छ। १२ ज्योर्तिलिंगमध्ये श्रीकेदारनाथ एक हुनुहुन्छ। द्वापरयुगमा पाण्डवहरू तीर्थाटनका क्रममा केदारनाथको दर्शन गर्न पुगे।

पाण्डवहरूको परीक्षाका लागि महादेवले भैँसीको रूप धारण गरी भाग्न लाग्नुभयो। पाण्डवहरूले महादेवको स्वरूपलाई चिनेर पछ्याउन थाले र अन्ततः पुच्छर समाते। भैँसीरूपी महादेवले मुख भुईंमा गाड्नुभयो, मुख नेपालस्थित पशुपतिमा परिणत भयो।

त्यसैले केदारनाथलाई जीउको भाग र पशुपतिलाई शिरोभाग मानिन्छ। केदारनाथ (शरीरभाग)को दर्शन गर्दा आधा भागमात्र दर्शन हुनेहुनाले पूर्णस्वरूपको दर्शनका लागि पशुपति आउनै पर्छ।

शरीर अर्थात् क्रियाशक्ति केदारनाथ हो भने शिरोभाग अर्थात् ज्ञानशक्ति पशुपति हो। पशुपति ज्ञानप्रधान हुनाले यो तीर्थस्थलको शिरोभाग हुन पुग्यो।

चौसठ्ठी शिवलिड्डमध्ये डोलेश्वरको आफ्नै महतत्व र गरिमा छ। डोलेश्वरलाई विमलेश्वर पनि भनिन्छ। जसले शारीरिक र मानसिक मललाई नाश गर्छ त्यसलाई विमलेश्वर मानिन्छ। आफ्नै भूमिमा रहेका, कुनै पनि तीर्थस्थललाई उच्च र निच देखाएर इतिहास एवं गौरवको नाश गर्न मिल्दैन।

गलत व्याख्या र प्रचार गरेर तीर्थस्थल, देवीदेवता र शास्त्रको मानमर्दन गर्न हुँदैन। सबै शिवका स्वरूप हुन्, भोलेका निवासस्थल हुन्, नेपालकै गरिमा हुन्, आर्यहरूका उपास्य हुन्, नेपालीका  प्रातःस्मरणीय हुन्।

नयपालाख्यपुर्यान्तु प्रसिद्धायां महीतले।
लिंगं पशुपतीशाख्यं सर्वकामफलप्रदम्।।
शरोभागस्वरूपेण शिवलिंगं तदस्ति हि।
-शिवपुराण, (कोटीरुद्रसंहिता ११।१८–१९)

अर्थात् “पृथ्वीमा प्रसिद्ध स्थान नेपाल छ, जहाँ सबै किसिमका फल प्रदान गर्ने पशुपति लिंग हुनुहुन्छ। जो केदारको शिरोभागका रूपमा रहनुभएको छ।” पशुपतिमन्दिरभित्र रहेको पञ्चमुखाकृति लिंगलाई महाज्योर्तिलिंग भनिन्छ।

स्कन्दपुराणअन्तर्गत हिमवत्खण्डअनुसार ब्रम्ह र विष्णुका बीचमा पूर्ण ज्योर्तिलिंग प्रकट भएको थियो। त्यो ज्योतिंलिंग नै बागमतीको पश्चिम तटमा विराजमान भएको पूर्णज्योर्तिलिंग हो।

पशुपति नै १२ ज्योर्तिलिंग, ६४ शिवलिंग, तीर्थस्थल, देवस्थल, घाट, क्षेत्र, धामको शिर भएकाले साधकलाई सर्वोत्तम साधनास्थल बन्न पुग्यो। पशुपतिमा ‘यो पाऊँ, त्यो पाऊँ’ भनेर भाकल गर्नुभन्दा यो दुःखमय संसारमा फेरि जन्मनु नपरोस् भनी ब्रम्हचिन्तन गर्नुपर्छ।

पशुपतिमा देवीदेवता र सिद्धजनहरू गुप्तरूपमा आएर यहाँका गुफा र घाटहरूमा साधना गर्छन्। हामी तिनीहरूका बारेमा बेखबर छौँ, त्यो सौभाग्यबाट विमुख छौँ।  साधना र अनुसन्धानका लागि विदेशीहरू यहाँ किन आउँछन्? बुझ्न आवश्यक छ।

पशुपतिको महिमा घटाउन अनेक प्रयत्न भएका छन्। वि. सं. २०७७ फाल्गनु १२ गते शास्त्र विपरीत सुनेको जलहरी हालियो। संसदमा विषय उठान भएपनि वि. सं. २०८० असार १० गते जलहरी निकालेर जोख्दा झण्डै आधा के. जी. घटेको मिडियामा आयो।

यसलाई असार १३ गते बुधबार पुनः राखियो। पृथ्वीलोकको एकमात्र महाज्योर्तिलिंगेश्वर पशुपतिलाई नै ओझेलमा पार्ने र मानमर्दन गर्ने गरी डोलेश्वरलाई उचाल्दा इतिहासले के भन्ला?

यी सबै नेपाली र ॐकार परिवारका लागि अपशकुनका विषय हुन्। यसकारण शास्त्रीय, ऐतिहासिक एवं लौकिक दृष्टिले केदारनाथको शिर पशुपतिबाहेक अरू हुनै सक्दैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *