कविता : मेरी उनी
मैले निर्माण गरेको
मायाको ताजमहलमा
घाम र जुन दुबै बनेर झुल्कियौ
प्रेमको मदिरा पिलाउन
कहिल्यै नमेटिने तिर्खा भएर उदायौ
आपसमा साटासाट गर्न
बैँशको भारी कुर्लुम्म बोक्दै
प्रितिको तेलमा
रूपको दियो बालेर आयौ।
तिम्रो लालित्यपूर्ण मुस्कानमा
ओझेल पर्छ ईन्द्रेणी
कति मिठो बोलि तिम्रो
सुरताल मिलेको संगीतजस्तो
मुहार तिम्रो जुनले चाँदनी पोखेजस्तो
सुन्दरताको यो अधिक रोशनिमा
तिम्रो गीत गाइहनेछु म सदा ।
मेरो जीवनको बार्दलीमा
तिमी सधै झुमिरहन्छ्यौ
मुटुको माझमा मात्र हैन
आँखाको नानीमा
अनि हृदयको अग्रभागमा तिमी छौ
जीवनको तारेभिरमा यात्रारत हुँदा
हात थाम्न मात्र आइनौ
पैरोसमेत सम्याएकि छौ
मेरा उध्रिएका सपनाहरू सिलाएकी छौ
संघर्षका हजारौँ सगरमाथाहरू
सह-आरोहण गर्याैं हामीले
मायाको सुन्दर फूलवारीकी वास्ना तिमी
प्रिति पोख्दै मेरो दिलमा
शीतल मलम बनि बसेकि छौ।
के गुरूत्वबल छ हँ तिमीमा ?
मलाई सधै लुटपुटाईरहने
तिम्रो मायाको राजमार्गमा
सधै यात्ररत रहन सकुँ
दिलमा सदा छचल्किई रहनेछ्यौ
प्रेमको पछ्यौरीले ढाकी राख
मायाको पञ्चामृत पिलाइरहु
छु आकर्षित म तिम्रो चित्रमा
सम्मोहित छु झन् चरित्रमा
चुराको आत्मिक छन्-छनले
निरन्तर ब्युँझाईरहु मलाई।
चखेवाको जोडी हामी
मुना र मदनको भेषमा
एउटै बोटको दुई थुँगा फूल बनि
यात्रारत छौँ छाया सरी
अन्तर हृदयको क्यानभाषमा
तस्वीर बनी सजिएकी छौ
म शरीर, तिमी आत्मा
म प्रार्थना, तिमी वरदान
म अपूर्ण, तिमी संपूर्ण
अनेक यी रूपका जलले
अभिषेक गरिरहू मलाई
मरूभूमितुल्य मेरो जीवनमा
कलकल भै गण्डकी बगिरहु
तिमी छौ र त मेरो जीवन छ
जसरी छ रश्मी सूर्यमा
अनि लालित्य छ प्रकृतिमा।
गोरखा बजार
हाल: विस्कन्सन अमेरिका
No ads found for this position


Facebook Comment