आरती साहको परिवार र सरकारबीच ५ बुँदे सहमति
काठमाडौं। लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ।
जनकपुर उपमहानगरपालिका-९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउने सहमति भएको हो।
सहमतिपत्रमा सरकारको तर्फबाट गृह मन्त्रालयका अधिकारी र साहका तर्फबाट ३/३ जनाले हस्ताक्षर गरेका छन्।
मंगलबार गृहमन्त्रालयमा अवेर राति भएको सहमतिपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले धनुषाकी आरती साहको परिवारलाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जनाएका छन्।
उनले पीडित परिवारलाई न्याय दिलाउनको लागि आजैबाट मातहतका निकायलाई निर्देशन दिने बताए। यत्तिका दिनसम्म आरतीको न्यायको लागि अहोरात्र खटिएकाहरुलाई पनि उनले धन्यवाद ज्ञापन गरे।
उनले भने,”आरतीको लागि न्यायको लागि सबैबाट भएको प्रयासलाई म धन्यवाद भन्न चाहन्छु। आजको सहमतिपछि पीडित परिवारले आन्दोलन फिर्ता लिनुभयो। अब कसैलेपनि आफ्नो न्याय पाउनको लागि यति धेरै दिन आन्दोलन गर्नुपर्ने दिन नआओस्।”
सो सहमति पत्रमा हस्ताक्षर हुँदै गर्दा सुरुदेखि नै आरतीको परिवारको न्यायको लडाईंमा साथ दिँदै आएका आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहपनि सहभागी थिए। प्रभु साहले आरतीको न्यायको लागि पटक पटक संसद्मा आवाज उठाएका थिए।








डिसी नेपाल








Facebook Comment