विकास पुगेका गाउँमा पनि छैनन् युवा, अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्रै
फाइल फोटो
म्याग्दी। चिटिक्क परेका ढुंगे घर । फराकिला आँगन । गाउँको बीचैमा सुविधासम्पन्न मोटरबाटो। गाउँकै मुनि पायक परेको धानखेत।
माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय । स्वास्थ्यचौकी र घरघरमा पुगेको छ इन्टरनेट । झट्ट हेर्दा लोभलाग्दो देखिने धौलागिरि गाउँपालिकाको मुना गाउँ यी पूर्वाधारले थप सम्पन्न छ।
डेढ दशकअघिसम्म सदरमुकाम बेनी बजार आवजावत गर्न गाउँदेखि दुई/तीन दिन पैदलयात्रा गर्नुपथ्र्यो। एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नुपथ्र्यो।
अहिले त्यस्तो छैन । विकासका पूर्वाधार गाउँमा पुगेका छन् । तर गाउँमा युवा छैनन् । अध्ययन, व्यापार, रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन्।
“डेढ दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पनानै गरेका थिएनौँ,” धौलागिरि गाउँपालिका–३ मुदीका ६९ वर्षीय टेकबहादुर भण्डारीले भने, “हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ । अहिले विकास त आयो तर यो मर्ने बेलामा हरियो काँक्रो जस्तो मात्र भयो ।”
गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ। गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ। अक्करे भीर फोडेर खनेका सडकमा मोटर गुडेका छन्। तर गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन। गएको दुई वर्षमा मुना गाउँका ३१ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका वडा सदस्य नरकुमारी बुढाले बताइन्। गाउँमा भौतिक विकाससँगै ग्रामीण जनताको जीवनशैली र चेतना परिवर्तन भएको तर, युवा नहुँदा गाउँ शून्य भएको उनको अनुभव छ।
“सुविधाका हिसाबले गाउँ र सहरमा खासै फरक छैन । डेढदशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ ।
सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन्”, वडासदस्य बुढाले भनिन्, “तर त्यो सुविधाबाट लाभान्वित हुनुपर्ने वर्ग गाउँमा छैन।”
यस्तो अवस्था मुना गाउँको मात्रै होइन। जिल्लाका ६ वटै स्थानीय तहमा उस्तै छ । एक लाख १४ हजार जनसङख्या रहेको म्याग्दीमा साविकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा बाहेक सबै ठाउँलाई मोटरबाटोले छोएको छ।
विकासका पूर्वाधारसँगै सर्वसाधारणको आयमा वृद्धि भएको र जीवन शैलीमा परिवर्तन देखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।
विशेष गरी पश्चिम म्याग्दीमा धेरै युवा पलायन भएका छन्। मालिका गाउँपालिका–१ निस्कोटबाट मात्रै एक सय ७२ जना युवाहरु अवैध बाटो भएर अमेरिका पुगेका छन्।
सहरमा झैँ गाउँमा विकास पुगेपनि गाउँमै रोजगारीको अभावले गर्दा युवाविहीन भएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment