भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कूल बस

डिसी नेपाल
२ वैशाख २०८१ २१:४१
620
Shares

काठमाडौं। भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस प्रदान गरेको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस सहयोगस्वरुप प्रदान गरेको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन्।

सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो।

आज (आइतबार) हस्तान्तरण गरिएका १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए।

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *