लघुकथा : कमिलाहरुको महानगर

सुरेश राई
२६ भदौ २०८१ १२:५१
144
Shares

(प्रलय)

सिपाही मोटू भर्खर खाना खान मात्र के लागेको थियो, आकाशबाट अचानकै वर्षा सुरु भयो। त्यो भतभत पोल्ने तातो दुर्गन्धित वर्षाको धारा मोटूभन्दा बीस गुणा मोटो थियो। मोटूले हत्तपत्त अरु सिपाहीहरुलाई पनि खबर गर्‍याे। ज्यामीहरु पनि ज्यान जोगाउन बाहिरतिर भागे।

प्रधान सेनापति जोरजोरले चिच्याइरहेका थिए ‘महलभित्र रानी फस्नु भएको छ। रानीलाई मद्दत गर। रानीलाई बचाऊ’ तुरुन्तै एउटा उद्दार टोली रानीको खोजीमा जुट्यो। आइमाइहरु चिहिलबिहिल भएका थिए। नर्सहरु ‘अन्डाको सुरक्षा गर!अन्डाहरु जोगाऊ!’ भन्दै कराइरहेका देखिन्थे।

यसरी हेर्दाहेर्दै एउटा सुन्दर भव्य दरबार ढलेर लथालिङ्ग भयो र एकै छिनको प्रलयले उनीहरुको ‘खुशहाल जिन्दगी’ बर्बाद भयो। अन्तमा कमिलाहरुको लामो ताँती उक्त कोलोनीलाई छाडी राखेर टाढाको अनिश्चित यात्रामा निस्कियो।

(प्रलयको दिन)

काँ बहादुर सधैं झैँ लुखुर लुखुर हिँडिरहेको थियो। बाटो छेउको कमिलाको एउटा गोलानिर पुग्यो। उसलाई नलागेको पिसाब पनि लागे लागे जस्तो भो। वरपर कोही थिएन। उसले उक्त गोलामाथि घुमाइ घुमाइ पिसाब गर्न थाल्यो। उसको पिसाबको धार लगातार सिपाही मोटूमाथि पर्दै गयो।

अघिअघि भयभीत मोटू ज्यान जोगाउन भाग्दै थियो र पछिपछि उसको पिसाबको धारा मोटूलाई ताक्दै थियो। त्यसरी काँ बहादुरको करिब बीस सेकेन्डको मुत्र आक्रमणले महिनौंको परिश्रमले निर्मित कमिलाहरुको महानगर तहस नहस भयो।

कमिलोको गोलामाथि काँ बहादुरको पिसाब प्रहार यो दशौं चोटी थियो। उसलाई त्यस्तो गर्ने बानी नै लागिसकेको थियो। कमिलाहरु न कुनै प्रतिकार गर्ने, न बदला लिन नै सक्ने। त्यसैले काँ बहादुरलाई सन्तुष्टि नै सन्तुष्टि मिल्थ्यो।

काँ बहादुर पक्कै पनि अन्धो हुनुपर्छ, नत्र किन कमिलाको कोलोनीमाथि पिसाब गर्न तम्सिहाल्छ त? तर त्यसो पनि होइन,काँ बहादुर त राम्ररी आँखा देख्न सक्ने जवान मानिस हो ।

ए ए , कुरो बुझियो। काँ बहादुर आँखा देख्ने अन्धो हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *