संस्मरणात्मक निबन्ध : छुसक, ग्याबो र ग्रान्डफादर

सुरेश राई
३१ भदौ २०८१ १२:२६
136
Shares

दक्षिण कोरिया यतिबेला छुसकमय छ। छुसक अर्थात ठूला चाडहरुमध्य एक, जो लूनर क्यालेन्डर अनुसारको आठौं महिनाको १५ औं दिनमा पर्छ। त्यो भनेको मध्य शरदको सेप्टेम्बरदेखि ‘अर्ली अक्टोबर’को बीचको समय हो।

यो बेलामा आफ्ना पुर्ख्यौली घर जाने, नुवागी भित्र्याएर उत्सव मनाउने, पुर्खाका समाधिहरुको सरसफाइ गर्ने; उनीहरुको मन पर्ने खानेकुराहरु तयार गरेर उनीहरुलाई चढाउने जस्ता संस्कारगत क्रियाकलापहरु गरिन्छ।

छुसकमा दक्षिण कोरियाभरि तीन दिनको सार्वजनिक बिदा हुने गर्दछ साथै यहाँ रहेका देशी विदेशी सम्पूर्ण कामकाजी मानिसहरुका निम्ति थोरै मनोरञ्जन, थोरै आराम, थोरै खान्तेपिन्ते, थोरै घुमफिर तथा भेटघाटको अवसर पनि जुर्ने गर्दछ। खासगरी पितृपूजक चाड भएकोले नै छुसक मलाई विशेष र महत्त्वपूर्ण लाग्छ।

छुसकको माहोलमा म भने यतिबेला दुई हजुरबुबाहरुको स्मरण गरिरहेको छु। पहिलो हजुरबुबा जो मेरो आफ्नो हजुरबुबा हुनुहुन्छ, दोस्रो हजुरबुबा चाहिँ विश्वविख्यात लेखक गेब्रियल गार्सिया मार्केस हुन् जसलाई प्रेमले ‘ग्याबो’ भनेर पनि बोलाउने गरिन्छ। मलाई पनि उनको पूरा नामभन्दा ग्याबो नै प्यारो लाग्छ-ग्रान्डफादर ग्याबो।

स्पेनिस भाषामा लेखिएको ग्याबोका बहुचर्चित उपन्यास ‘सियन आनोस दी सोलिदाद’ अर्थात वन हन्ड्रेड इयर्स अफ सोलिट्युडको बारेमा नसुन्ने पुस्तक प्रेमी सायदै यो दुनियाँमा भेटिएला।

एउटै परिवारको लगभग उस्तै उस्तै नाम भएका पात्रहरुको तीन पुस्ते कहानी जादूयी शैलीमा भनिएको यस उपन्यास ल्याटिन अमेरिकी देशहरुमा बाइबल पछि धेरै पढिएको पुस्तक हो भनिन्छ।

ग्याबोको कथा हाल्ने शैलीलाई ‘रियालिज्मो माजीको’ अर्थात म्याजिकल रियालिज्म भनिने गरिन्छ जस अन्तर्गत कथाभित्र कतिखेर यथार्थ सुरु हुन्छ र कतिखेर स्वैरकल्पना मिसिन्छ पत्तै हुँदैन।कथाको ‘डिटेलिङ’ यस्तरी गरिएको हुन्छ कि जोकोहीले कथाभित्रका परिवेश, एक एक दृश्यहरु,रंगहरु,सुगन्धहरु सबै सबै छर्लङ्ग देख्न या महशुस गर्न सक्छन्।

हो, तर उनको यो जादूलाई बुझ्न कोलम्बिया र ल्याटिन अमेरिकी परिवेश र इतिहासलाई थोरै भए पनि बुझ्न चाहिँ पक्कै जरुरी छ नत्र ‘रिलेट’ गर्न मुश्किल पर्न पनि सक्छ।

ग्याबोलाई जब म याद गर्छु तब आफ्नो कोक्पा(राई भाषामा हजुरबुबा) को पनि खुबै सम्झना आउँछ। हाम्रो कोक्पा एक महान कथाकार हुनुहुन्थ्यो रहेछ भनेर बुझ्न मलाई उहाँको देहावसानपछिका थुप्रै वर्षहरु बित्न पर्‍याे।

जब म कोक्पाको बारेमा सोच्छु तब म ‘एक हंसमुख ह्यान्सम वृद्ध व्यक्ति जो सधै कथाहरु भन्न उत्सुक र लालयित रहन्छन्’ भनेर सम्झन्छु। पिनासको कथा भनेर उहाँ पिनास भगाउनु हुन्थ्यो। उहाँभित्र आदर्शको सिंगाे कर्णाली बग्थ्यो र उहाँ कर्ममा सदैव अडिग रहनु हुन्थ्यो।

किरात मिथकहरू, लाल-हिराको प्रेम कथा, हरिश्चन्द्रको सत्यवादीत्वको कथा,ध्रुव ताराको दु:खद कथा, रामायण, महाभारत, विष्णु पुराण, कृष्ण चरित्र के के चाहिँ कण्ठस्थ थिएन उहाँलाई? सबै सबै मुखाग्र थियो।

जब गाउँमा श्यामश्वेत टेलिभिजनले प्रवेश पायो र शनिबार विहान घरघरमा रामानन्द सागरको रामायण बज्न थाल्यो, अब आउने हप्तामा के हुनेवाला छ भनेर म पहिले नै भन्दिन सक्थेँ। तब त म साथीहरू माझ विशेष भैगएको थिएँ। कोक्पाले सुनाउनु भएका कथाहरु सुनेर मलाई विद्यालयमा पढाइने पाठ्यक्रमका कथाहरु खल्लो र बेकार लाग्ने गर्दथे।

मिथकहरु बाहेक कोक्पाका आफ्ना कथाहरु झनै आकर्षक हुन्थे। ग्याबोका कथा जस्तै ती जादू र रहस्यले भरिपूर्ण हुन्थे। आज सम्झेर ल्याउँदा म कुरा बुझ्न सक्छु कि उहाँले नातिनातिनीहरु निभाराको रुख नचढून् भनेर कसरी कसरी गोरु जत्रै अजिंगर भेटेको कथा गर्नु हुन्थ्यो। निभाराका हाँगाहरु निकै कफला हुन्छन्।

पिरिक्कै भाँचिजान्छन् । निभारा टिप्न रुख चढ्दा केटाकेटीहरु लड्लान् कि भनेर रोक्नका निमित्त कोक्पाले हामीलाई आफूले सानोमा निभाराको फेदमा गोरु जत्रै अजिंगर सुतिरहेको भेटेको कथा सुनाउनु हुन्थ्यो।

कथामा अजिंगरको वर्णन यस्तरी गरिएको हुन्थ्यो कि अजिंगरले सास फेर्दा उसको पेट कसरी फुल्लिन्थ्यो, उसको सासले वनमाराहरु कसरी हल्लिरहेका थिए, उसका पहेँला आँखाहरु कसरी चम्केका थिए ती जम्मै जम्मै हाम्रो मानसपटलमा झलझली छापिन्थे।

साँच्चै भन्ने हो भने म आफैले देखेको हुँ त्यो अजिंगर भन्ने भान लामो समयसम्म पर्न जान्थ्यो। कथाको अन्तमा त्यो भीमकाय डरलाग्दो अजिंगर कुनै सुन्दर र असल राजकुमारको श्रापित जुनि भएको रहस्य खुल्थ्यो र हाम्रो मन पनि भय मुक्त भई द्रवीभूत हुन पुग्थ्यो।

कोक्पाको कथामा बेलाबखत आउने यतिको ‘किरदार’ झनै गजबको हुन्थ्यो। पुष माघको ठन्डी महिना गोठमा दनदनी आगो बलिरहेको हुन्थ्यो। कोही गोठालाहरु घेरा हालेर आगो तापिरहेका हुन्थे। कोही दूध दुहिरहेका हुन्थे, कोही मोही पारिरहेका हुन्थे। भोटे कुकुरहरु पनि आगो ताप्दै उँगिरहेका हुन्थे।

त्यसपछि मध्यराततिर यति आउँथ्यो। यति अग्लो, सेतो, चम्किलो आँखा भएको अत्यन्तै शान्त स्वभावको हुन्थ्यो। आगोको छेउमा बसेर यतिले दुई हात थाप्थ्यो। मूल गोठालोले ठूलो एक डल्ला नौनी घ्यू उसको हातमा दिन्थ्यो। यतिले आँ गरेर घ्यूको डल्ला क्वाप्लाक्कै निल्थ्यो र जसरी आयो त्यसरी चुपचाप आएकै बाटो फर्कन्थ्यो।

यो क्रिया महिनामा एक पटक जरुर दोहोरिन्थ्यो। जब रातमा त्यसरी यति आउँथ्यो कुकुरहरु समेत भुक्दैन थिए। ती सबै कुराहरू एक सामान्य प्रक्रिया भइसकेका थिए। कोक्पाले यतिको कथा हालिरहनु हुँदा गोठको उज्यालो, नौनी घ्यूको बासना, भोटे कुकुरका चिल्ला रौँहरु, यतिको चिसो हात, उसको खुट्टाको पञ्जा सबै सबै महशुस गर्न सकिन्थ्यो। सबै सबै भर्खरै यहीँ भइरहेको छ जस्तो लाग्थ्यो।

पूर्वको लाहुरे संस्कृतिमा भिजेको समाजमा पढाइको उतिसारो महत्व मानिँदैन थियो उतिबेला। कोक्पा पनि सामान्य लेखपढ गर्न सक्ने मात्रै हुनुहुन्थ्यो त्यसैले आफूले नातिनातिनाहरुलाई कथेर सुनाएको कथा एउटा साहित्यिक रचना हो भन्ने कुराको बोध उहाँलाई हुने कुरै भएन। कल्पना गरिएका कथाहरुले अक्षरी रुप कहिल्यै पाएनन्। ती कथ्य मै सीमित रहे र हराएर गए।

कोक्पाले हामीलाई छाडेर जानु भएको दुई दशक नाघिसकेको छ। उहाँको जन्म सन् १९२८ मा भएको थियो भने ग्याबो सन् १९२७ मा जन्मिसकेका थिए। कति गजब हुन्थ्यो होला काश म यो भन्न सक्थेँ कि-‘कोक्पा, कोलम्बिया भन्ने देशमा तपाईंभन्दा एक सालले जेठा ग्याबो नामका एक महान कथाकार छन्। तपाईं जस्तै जादूयी कथाकार!’

भाषा साहित्यको शिक्षा यति शक्तिशाली हुन्छ कि त्यो भएन भने एउटा होमजित राई होमजित राई मात्रै हुन सक्छ। त्यो भयो भने एउटा सामान्य जागिरे मान्छे द ग्रेट गेब्रियल मार्केस पनि हुन सक्छ। जबकि उहाँहरुको कथाप्रेम भने हृदयत: समान थियो। अत:एव यी दुई कथाप्रेमी ग्रान्डफादरहरुलाई सन् २०२४ को छुसकमा हार्दिक श्रद्धा सुमन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *