भारतमा फसेका चिनियाँ सैनिक ५४ वर्षपछि चीन फर्केर फेरि किन भारत आउन खोज्दैछन्?

डिसी नेपाल
६ भदौ २०७६ २२:११

नयाँ दिल्ली (बीबीसी) । भारतमा ५४ वर्ष फसेपछि सन् २०१७ मा चीन फर्कन सफल चिनियाँ सैनिक वाङ छीले भारतमा रहेका आफ्ना परिवारलाई भेट्न जान नपाएको दुखेसो गरेका छन्।

चार महिनाभन्दा लामो समय प्रतीक्षा गर्दा पनि बेइजिङस्थित भारतीय दूतावासले प्रवेशाज्ञा नदिएको उनको भनाइ छ। वाङ छी सन् १९६३ मा गल्तीले भारत प्रवेश गरेका थिए र उनलाई गिरफ्तार गरिएको थियो।

विना कागजात गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गरेको आरोपमा केही वर्ष जेलमा पनि बिताएका उनी २०१७ मा चीनस्थित आफ्नो घरमा फर्कन पाएका थिए।
अहिले भारतमा रहेका आफ्ना परिवारलाई भेट्न उनले इच्छा व्यक्त गरिरहेका छन्। उनले बीबीसीसँग टेलिफोनमा भने, ‘मैले भिसाको बारेमा बेइजिङस्थित भारतीय दूतावासमा सम्पर्क गरेँ, तर कैयौँ दिन कुर्दा केही पनि जवाफ पाउन सकिनँ।’ उनी अहिले चीनको शाङ्क्सी प्रान्तमा रहेको शियानयागमा आफ्नो चिनियाँ परिवारसँग बसिरहेका छन्।

उनका छोरा, दुई छोरी, नाति–नातिना भारतको मध्य प्रदेशस्थित तिरोडीमा बसिरहेका छन्। सन् २०१७ मा उनकी श्रीमती सुशीलाको मृत्यु भएको थियो।

वाङ छी आफ्नो प्रवेशाज्ञाबारे भारतीय दूतावासले जवाफ नदिएकोमा निकै रिसाएका छन्। चिनियाँ लवज मिसिएको ठेट हिन्दीमा टेलिफोन कुराकानीमा उनले भने, ‘उनीहरूले मसँग ५४ वर्षसम्म खेल खेले। अब पनि भिसाको लागि किन खेल खेलिरहेका छन् ? मलाई किन दुःख दिनुहुन्छ। ८० वर्षयता म सङ्घर्षत छु। कहिलेसम्म लडिरहनु?’

‘भारतीय सरकारले तिमी विदेशी हौ भनिराख्छ, चीनको मान्छे हौ भन्छ। कहिले दुश्मनको मान्छे हौ भन्छ। उनीहरूले मेरो कुराको जवाफ दिइरहेका छैनन्। भारत सरकारले कुनै जवाफ दिएको छैन।’

वाङ छि भारतको जेलमा छदेखि सात वर्ष बसे, त्यसपछि उनलाई मध्यप्रदेशको तिरोडीमा लगेर छाडिएको थियो। चिनियाँ परिवारबाट टाढा बस्नुपर्दा उनलाई गाह्रो भएको थियो।

तिरोडीमा उनले आटा बनाउने ठाउँमा काम गर्न थाले, जहाँ उनले सुशीलासँग विवाह गरे र उनका सन्तानहरू पनि जन्मिए। सन् ८० को दशकमा पहिलो पटक पत्रमार्फत् उनको सम्पर्क चीनमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग भयो।

भारत आएको ४० वर्षपछि सन् २००२ मा उनले आफ्ना परिवारसँग फोनमा कुराकानी गरेका थिए। सन् २००६ मा उनकी आमाको मृत्यु भयो।

बीबीसीमा उनको बारेमा समाचार छापिएपछि भारत र चीनका सञ्चारमाध्यमले यसबारे व्यापक प्रतिक्रियाहरू जनाए जसका कारण दुई देशका अधिकारीहरू वाङका बारेमा कुराकानी गरे।

केही अघि मात्रै उनले चीनको राहदानी पाएका हुन्। वाङको परिवारका अनुसार उनका छोरा विष्णु, विष्णुकी श्रीमती र छोरी चीन जान पाएका थिए र एक वर्षसम्म उनीहरूलाई जति पटक पनि भारत आउन मिल्ने खालको प्रवेशाज्ञा दिइएको थियो।

वाङका अनुसार सन् २०१८ मा उनलाई आफ्नो प्रवेशाज्ञा नवीकरण गराउन कुनै समस्या भएन, तर यसपालि महिनौँ बित्दा पनि त्यो सम्भव भइरहेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *