‘जन्ते बाख्रो’चलचित्रको दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक
काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ। गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ। गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन्।
शुक्रबार सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा आशिफले गीत मार्फत् गरिमाको तारिफ गरेर फकाउँदै गरेको देख्न सकिन्छ। सिनेमामा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन्। नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ। सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ।
आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment