चीनको सेनाले दक्षिण चीन सागरमा रहेको टापु कब्जा गर्‍यो

डिसी नेपाल
१५ वैशाख २०८२ ११:३१
7.7k
Shares

काठमाडौं । चीन र फिलिपिन्सबीच विवादित समुद्री क्षेत्र ‘साउथ चाइना सी’स्थित एउटा बलौटे ढिस्को चिनियाँ तटरक्षकहरूले आफ्नो नियन्त्रणमा लिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीले कालो पोसाक लगाएका चार सैनिकहरू चिनियाँ झण्डा बोकेर उक्त स्थानमा उभिएको तस्बिर सार्वजनिक गरेको छ। स्यान्डी के नामक उक्त विवादित स्थान ‘स्प्र्याट्ली आइलन्ड्स’मा पर्छ।

सीसीटीभीका अनुसार चीनले सो क्षेत्रमा एप्रिल महिनादेखि “सामुद्रिक नियन्त्रण र सार्वभौम क्षेत्राधिकार लागु गरेको” छ।

साउथ चाइना सीका कैयौँ टापुमा चीन र फिलिपिन्स दुवैले आफ्नो दाबी गर्दै आएका छन्।

पछि फिलिपिन्सका तटरक्षकहरूले पनि उक्त टापुमा पुगेर चिनियाँ पक्षको शैलीमा फिलिपिन्सको राष्ट्रिय झण्डासहित आफ्नो तस्बिर खिचाएका छन्। फिलिपिनी सुरक्षा फौजको तस्बिर स्यान्डी केमै खिचिएको हो कि होइन भन्ने चाहिँ स्पष्ट भइसकेको छैन।

वेस्ट फिलिपिन्स सीको न्याश्नल टास्क फोर्सले एउटा विज्ञप्ति जारी गर्दै उक्त बलौटे ढिस्कोभन्दा ९१४ मिटर पर चिनियाँ तटरक्षक पानीजहाज र सातवटा सैनिक जहाजको “अवैध उपस्थिति” देखिएको जनाएको छ।

“यो कारबाहीले फिलिपिन्स सरकारको देशको सार्वभौमसत्ता र वेस्ट फिलिपिन्स सीको सार्वभौम अधिकार रक्षाका लागि देखाएको अटल समर्पण र प्रतिबद्धता दर्साउँछ,” विज्ञप्तिमा भनिएको छ।

यो क्षेत्रमा दुई देशबीच बारम्बार भइरहने विवाद कहिलेकाहीँ झडप र जहाजहरू जुधाउने हदसम्म पुग्ने गरेको छ।

फिलिपिन्सको सैन्य चौकी थिटु टापुको ‘पाग्-अस’मा छ। फिलिपिनी सेनाले उक्त टापुबाट यो क्षेत्रमा हुने चिनियाँ गतिविधि निगरानी गर्छ। स्यान्डी के उक्त स्थाननजिकै पर्छ।

करिब २०० वर्गमिटरको उक्त बालुवाको ढिस्को चीनले स्थायी रूपमै कब्जा गर्ने सङ्केत देखाएको छैन। त्यहाँबाट चिनियाँ सैनिकहरू बाहिरिएको विवरण आएका छन्।

ह्वाइट हाउसले उक्त चट्टानी क्षेत्र चीनले कब्जा गरेको समाचार “सत्य हो भने त्यो गम्भीर चिन्ताको विषय हो” भनेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जेम्स हिविटले “यस्ता कदमले क्षेत्रीय स्थायित्वमा चुनौती दिने र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने” टिप्पणी गरेको फाइनान्शल टाइम्सले जनाएको छ।

उक्त समाचारका अनुसार यस विषयमा ह्वाइट हाउस आफ्ना साझेदारहरूसँग सल्लाह गर्दै छ।

ह्वाइट हाउसले उक्त चट्टानी क्षेत्र चीनले कब्जा गरेको समाचार “सत्य हो भने त्यो गम्भीर चिन्ताको विषय हो” भनेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जेम्स हिविटले “यस्ता कदमले क्षेत्रीय स्थायित्वमा चुनौती दिने र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने” टिप्पणी गरेको फाइनान्शल टाइम्सले जनाएको छ।

उक्त समाचारका अनुसार यस विषयमा ह्वाइट हाउस आफ्ना साझेदारहरूसँग सल्लाह गर्दै छ।

फिलिपिन्सको सेनाले जारी सैन्य अभ्यास राष्ट्रिय रक्षाको पूर्वाभ्यास रहेको र कुनै पनि देश लक्षित नरहेको दाबी गरेको छ।

“यस्तो प्रकारको तालिम हाम्रो लागि अमूल्य छ,” फिलिपिनो जलसेनाका एक अधिकारीले भने।

अमेरिकाले यो क्षेत्रमा वर्षौँयता दिँदै आएको सैन्य सहयोग राष्ट्रपति डोनल्ड ट्रम्पले बन्द गर्न सक्ने कतिपय अमेरिकी सहयोगी देशहरूको चिन्ता यो अभ्यासले केही हदसम्म कम गरिदिएको छ।

गत महिना मनिलाको भ्रमणका क्रममा अमेरिकी रक्षामन्त्री पेट हेग्सेथले वाशिङ्टन “चीनसँग प्रतिवाद पुनर्स्थापित” गर्न प्रतिबद्ध रहेको र आफ्ना सहयोगीहरूलाई बलियो साथ दिने बताएका थिए।

साउथ चाइना सीमा सयौँ वर्षदेखि विवाद छ। केही वर्षयता तनाव अझ बढेको छ।

चीनले भन्ने गरेको “नाइन-ड्याश लाइन” का आधारमा सीमाङ्कन गरिएको यो क्षेत्रको सबैभन्दा ठूलो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ।

यो सीमाङ्कनले चीनको सबैभन्दा दक्षिणी हाइनान प्रान्तबाट सयौँ किलोमिटर दक्षिणसम्म चिनियाँ भूभाग मान्ने गरेको छ। यो दाबीलाई बल पुर्‍याउन चीनले यो क्षेत्रमा कृत्रिम टापुहरू बनाउनेदेखि समुद्रमा गस्ती समेत गर्दै आएको छ।

तर ती भूभागका कैयौँ इलाकामा भियतनाम, फिलिपिन्स, ताइबान, मलेशिया र ब्रुनईको पनि दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *