आणविक वार्ताअघि अमेरिकाले इरानमाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा
तेहरान। इरानले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी निर्णयलाई बिहीबार ‘आर्थिक आतंकवाद’ को संज्ञा दिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका चार र टर्कीमा रहेको एक गरी इरानी तेल बिक्री गर्ने सात कम्पनीमाथि संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘जबसम्म इरानले आफ्नो अस्थिर गतिविधिका लागि तेल र पेट्रोकेमिकल राजस्व जुटाउने प्रयास गर्छ र आफ्ना आतंकवादी गतिविधि र छद्य्म रूपलाई अगाडि बढाउँछ, तबसम्म संयुक्त राज्य अमेरिकाले इरान र प्रतिबन्ध छलीमा संलग्न उसका सबै साझेदारहरूलाई जवाफदेही बनाउन कदम चाल्नेछ।’
इरान र अमेरिकाबीच शनिबार रोममा हुने चौथो चरणको वार्ताअघि तेहरानले आफ्नो आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा अन्य राजनीतिक तथा आर्थिक प्रतिबन्धबाट राहत मागिरहेको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक वक्तव्य जारी गर्दै विकासशील देशहरूबीचको मैत्रीपूर्ण र कानुनी सम्बन्धमा आर्थिक आतंकवादको माध्यमबाट खलल पुर्याउने अमेरिकी प्रयासको एक हिस्साका रूपमा प्रतिबन्ध लगाइएको बताएका छन्।
अमेरिकी निर्णयकर्ताहरूको विरोधाभासी दृष्टिकोण र कूटनीतिको मार्गलाई अगाडि बढाउन सद्भाव र गम्भीरताको कमीको स्पष्ट प्रमाण भएको उनले बताए। गत जनवरीमा राष्ट्रपतिमा फर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ दिने अभियान लाई पुनः सुरु गरेका छन्।
गत मार्चमा उनले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र पठाएर वार्ताका लागि आग्रह गर्दै इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment